१८ औ एसियाडको भव्य उद्घाटन, नेपालको झण्डा कमलको हातमा, दुई कोरियाको संयुक्त मार्चपास

 भदौ २, २०७५ शनिबार २०:३०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

१८ औं एसियाली खेलकुद एसियाडको उद्घाटन इण्डोनेसियाको जाकार्तामा भव्य रुपमा गरिएको छ ।

झण्डै तीन घण्टा चलेको उद्घाटन समारोहको सुरुवातमा इण्डोनेसियाका चर्चित कलाकारहरुको  समूहले उपस्थित ७५ हजार दर्शकलाई मनोरञ्जन गरेका थिए । यस्तै, ४ हजार कलाकारले इण्डोनेसियाको संस्कृति झल्किने नृत्यलगायत आकर्षक प्रस्तुति दिएका थिए । 

एसियाडको पहिलो सस्करणको आयोजना गर्दादेखि अहिलेसम्मको यात्राको झलक दिनेगरी आयोजना भएको उद्घाटन समारोहको रमाईलो क्षणपछि सहभागी ४५ देशका खेलाडीले मार्चपास गरेका थिए ।

मार्चपासमा नेपालका तर्फबाट दक्षिण एसियाली खेलकुदका स्वर्णपदक विजेता भाराेत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झण्डा बोकेका थिए ।  मार्चपासमा नेपालका झण्डै सय जना उपस्थित थिए ।

एसियाली खेलकुदमा यसपटक नेपालबाट एक सय ८५ खेलाडी सहभागी छन् भने एक सयको हाराहारीमा पदाधिकारी पनि जकार्ता पुगेका छ ।

उद्घाटन समारोहमा उत्तर कोरिया र दक्षिण कोरियाले संयुक्त रुपमा एकै झण्डा मुनि मार्चपास गरेका थिए । जसमा नाम कोरिया मात्र राखिएको थियो । खेलाडीले मार्च पास गर्दा दुवै देशका पदाधिकारीले एक अर्कासँग हात मिलाएर एकताको संकेत गरेका थिए ।

मार्चपासपछि एसियाडको आधिकारीक गीत गाएकी गायिका मेराह बिनटाङले प्रस्तुति दिएकी थिइन् । प्रतियोगितामा फुटबलका खेलहरु भने यसअघि नै शुरु भइसकेका छन् । आइतबारदेखि विभिन्न खेलको प्रतिस्पर्धा शुरु हुनेछ । भोलि ६ खेलमा प्रतिस्पर्धा हुनेछ । 

तस्बिर - एजेन्सी

याे पनि पढ्नुहाेस्

 


आइतबार नेपालले कुन कुन खेलमा गर्नेछ प्रतिस्पर्धा? 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया