नेकपा र फोरम गठबन्धन कसरी सम्भव भयो ?

 जेठ १७, २०७५ बिहिबार २०:७:३४ | नवराज फुयाँल

काठमाडौं, जेठ १६ – प्रदेश नम्बर २ मा फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन आइतबार नेपाल कम्युनिष्ट पार्टीले फिर्ता लियो ।

अचानक जस्तै गरी आएको यो निर्णयपछि थरिथरिका अनुमान भए । फोरम र राजपाले संघीय सरकारलाई दिएको समर्थन फिर्ता नलिएको तथा कुनै खटपट पनि नदेखिएको अवस्थामा प्रदेश सरकारलाई नेकपाको समर्थन फिर्ता हुनुको कारण फोरमको सरकार ढाल्न र राष्ट्रिय जनता पार्टीसँग मिलेर आफ्नै सरकार बनाउनु हुनसक्ने अनुमान रचर्चा गरियो ।

समर्थन फिर्ता लिएको २४ घण्टा नबित्दै फेरि त्यस्तै अचानक जस्तैगरी फोरम नेपालले पनि संघीय सरकारमा सहभागी हुने सम्झौतामा नेकपाका दुवै अध्यक्षसँग सम्झौता गर्यो । जसले बाहिर मात्र होइन, फोरम नेपालभित्रै पनि तरंग पैदा गरेको थियो ।

अचानक सतहमा आएका यी घटनासँगै केन्द्रदेखि प्रदेशसम्मको नेपाली राजनीति तरंगित भएको छ । 

कसरी भयो सहमति ?

तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रमा सरकार गठन भएसँगै सरकारमा सहभागी हुन खुट्टा उचालेर बसेको फोरम मन्त्रालयको बाँडफाँडमा असन्तुष्ट भएर पछि हटेको थियो । तर कम्युनिष्ट पार्टीसँग निकट र राजपाको लाइनसँग असहमत रहेका उपेन्द्र यादवका लागि एमाले माओवादी र अहिलेको नेकपासँगको सम्बन्ध सुमधुर बनाउनुको विकल्प थिएन । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त यादवलाई पार्टी एकतामै सामेल हुन आग्रह गर्दै आउनुभएको थियो । पार्टी एकतामा सामेल गराउन नसकेपनि फोरमलाई सरकारमा सहभागी गराउन भने उहाँलाई सफलता मिलेको छ ।

केन्द्रमा सत्ता साझेदारी गर्ने समझदारी गरेसँगै नेकपाले प्रदेश नम्बर २ को सरकारलाई दिएको समर्थन फिर्ता लिनु झट्ट हेर्दा अनौठो जस्तो देखिएपनि अन्तर्यमा यो आपसी तालमेलमै भएको विश्लेषण गर्न सकिने प्रशस्त आधार छन् । 

फोरम सरकारमा जाने विषयमा प्रचण्ड निवासमा थुप्रै पटक भेटघाट र छलफल भएको थियो । फोरम अध्यक्ष उपेन्द्र यादव आफै प्रचण्डलाई भेट्न पटक पटक खुमलटार पुग्ने गर्नुभएको थियो ।

सरकारमा सहभागी नहुने निर्णय गरेपनि फोरम र नेकपाबीचको सम्बन्ध बिग्रिसकेको थिएन । यसबीचमा प्रचण्डसँग यादवले पटकपटक छलफल गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा फोरमले संशोधन प्रस्ताव फिर्ता लिएर समर्थन गरेसँगै सरकारमा सहभागि हुने वातावरण बनेको नेताहरुले बताएका छन् । 

सरकारमा फोरम

संविधान संसोधनलाई मुख्य मुद्दा बनाएर सरकारमा जाने सहमति गरेको फोरमले केन्द्रमा दुई मन्त्रालय पाउने भएको  छ । कुन कुन मन्त्रालय लिएर सरकारमा जाने भन्नेबारे अहिले नै निर्णय भइनसकेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । ‘मन्त्रालयका विषयमा अहिले नै सहमति भइसकेको छैन’ उहाँले भन्नुभयो, ‘केन्द्र सरकारमा सहभागी हुने सहमति भएको छ । अब छलफलपछि मन्त्रालयको टुंगो लगाउँदै हामी सरकारमा सहभागी हुन्छौँ ।’ 

अहिले सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्रीसँग छ । यी दुबै मन्त्रालय फोरमलाई दिन नेकपा तयार छ । पार्टी अध्यक्ष उपेन्द्र यादव यसअघि नै उपप्रधान सहित परराष्ट्रमन्त्री बनिसकेकाले त्यो भन्दा तलको वरियतामा सरकारमा सहभागी हुने कि नहुने टुँगो लागेको छैन । 

प्रदेश २ मा नयाँ समिकरणको सम्भावना 

प्रदेश नम्बर २ मा फोरम नेतृत्वमा फोरम र राजपाको गठबन्धनको सरकार छ  । नेकपाले समर्थन फिर्ता लिएपनि फोरम र राजपासँग बहुमत कायमै छ । तर केन्द्रीय स्तरको सहमतिले प्रदेश नम्बर २ मा पनि फोरम र नेकपाको मिलिजुली सरकार बन्ने र राजपा सत्ताबाट बाहिरिने सम्भावना बढेको छ । 

के भन्छ राजपा ?

पछिल्लो समय देखिएको राजनीतिक परिवर्तनलाई राजपाले आश्चर्यको रुपमा हेरेको वताएको छ । २०६२÷०६३ को मधेस आन्दोलन र ०७२÷०७३ तथा अन्य विभिन्न चरणमा भएको मधेस आन्दोलनका माग अझैसम्म सम्बोधन नभइरहेको अवस्थामा फोरम सबै माग लत्याउँदै सरकारमा जानुले मधेस र मधेसी आश्चर्यचकित बनेको राजपाका महासचिव केशव झाले बताउनुभयो । 

सत्ताकोलागि मधेसी नागरिकलाई फोरमले भर्याङ् बनाउने काम मात्रै गरेको भन्दै उहाँले मधेस र मधेसीको हक अधिकार दिलाउन संघर्ष अझै यथावत रहेको पनि बताउनु भयो । 

प्रदेश २ को सरकार अब के हुन्छ भन्ने प्रश्न उठेको भन्दै उहाँले राजपा अहिले नै सरकार छाडेर बाहिरिने मुडमा नभएको पनि प्रष्ट पार्नुभयो । फोरमले सरकारबाट बाहिर पठाउन खोजे आफूहरु सौहाद्र्धपूर्ण तवरले बाहिरिन तयार रहेको र कसैको बाधक बनेर बस्ने चाहना पनि नभएको उहाँको भनाइ थियो । पछिल्लो घटनाक्रमबारे राजपा अध्यक्ष मण्डलका सदस्यको बैठक बसेर आवश्यक निर्णय लिइने पनि महासचिव झाले बताउनुभयो ।

ध्रुवीकरणको सम्भावना 

यो घटनाले अब राजनीतिक धु्रवीकरणलाई अझ पेचिलो बनाएको टिप्पणी हुन थालेको छ । अब नेकपा र फोरम एकातिर तथा कांग्रेस र राजपा एकातिर हुने सम्भावना बलियो बनेको आँकलन गर्न सकिन्छ । यसो भयो भने राप्रपाले एउटा कित्ता क्लियर गर्नुपर्नेछ । 

नयाँशक्ति र विवेकशील साझा राजनीतिको तेस्रो धारका रुपमा रहिरहन सक्छन् । त्यसो त उनीहरुसँग कुनै एक मुख्य धारमा समावेश हुनसक्ने अधिकार पनि सुरक्षित छँदैछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया