वैदेशिक रोजगारीमा हुनुहुन्छ ? पैसा छ भने घर पठाउनुहोस्, फाइदैफाइदा छ !

 भदौ १५, २०७५ शुक्रबार १८:२१:३८ | सन्जिता देवकोटा

काठमाडौं – तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ र साथमा पैसा छ भने घरमा पैसा पठाउने यो समय उपयुक्त हो । किनकी अहिले अमेरिकी डलरको भाउ बढेको बेला छ ।

शुक्रबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । 

यसअघि बिहीबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको थियो । नेपालमा गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो, त्यसपछि डलर झनै महँगो बनेको हो ।  

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । डलरको भाउ बढ्दा अर्थतन्त्रका अरु क्षेत्रमा असर परे पनि रेमिट्यान्समा फाइदा पुग्छ । 

डलरको भाउ १ सय १० रुपैयाँ हुँदा विदेशबाट १ डलर रेमिट्यान्स पठाउँदा नेपालीले १ सय १० रुपैयाँ पाउँथे भने अहिले विदेशबाट १ डलर पठाउँदा १ सय १३ रुपैयाँको हाराहारीमा पैसा पाउनेछन् । 

‘विदेशमा काम गरिरहेका नेपालीलाई पैसा पठाउने सुनौलौ मौका आएको छ’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भन्नुभयो, ‘डलरको भाउ बढ्दाको मुख्य फाइदा नै यही हो ।’

पूर्व बैंकर तथा नेपाल उद्योग परिसंघ अन्तर्गतको बैंक तथा वित्तीय क्षेत्रका सदस्य अनलराज भट्टराई भन्नुहुन्छ, ‘डलरको भाउ बढ्दा नेपालीलाई सबैभन्दा राम्रो फाइदा हुने भनेको रेमिट्यान्सको क्षेत्रमा हो, समग्र जीडीपीको २५ प्रतिशत भाग ओगटेको क्षेत्रलाई फाइदा हुनु भनेको राम्रै कुरा हो ।’ 

दसैँमा भन्दा अहिले पठाउँदा राम्रो

विदेशमा बस्ने धेरैजसो नेपालीले दसैँ खर्च भनेर पैसा जम्मा गर्ने गर्छन् । डलरको भाउ बढेको कारण दसैँको लागि जम्मा गरेर राखेको पैसा अहिले पठाउँदा राम्रो हुन्छ ।  तर धेरैजसो नेपालीले यो समयमा पैसा पठाउने नगरेको युएईको युएई एक्सचेन्जका नेपाल प्रमुख सन्तोष प्रसाईँको अनुभव छ । 

दसैँ, तिहारका समयमा पैसा पठाउने र दसैँताका नै स्वदेश फर्किने योजना बनाउने भएकाले यो समयमा कम नेपालीले मात्र घरमा पैसा पठाउने गरेको उहाँ बताउनुहुन्छ । डलरको भाउ बढेकाले युएई र अरु खाडीमा रहेका नेपालीले यो समयमा घरमा पैसा पठाउँदा फाइदा हुने उहाँ बताउनुहुन्छ । 

‘घरमा पैसा पठाउन दसैँ, तिहार कुर्नभन्दा पनि यो समय उपयुक्त हो’ प्रसाईँ भन्नुहुन्छ, ‘पहिला तपाईँले ४० हजार रुपैयाँ पैसा पठाउनुहुन्थ्यो भने अहिले त्यही पैसा पठाउँदा ५० हजार रुपैयाँ हुन्छ, त्यसैले डलरको भाउ बढेको बेला पैसा पठाउनु उपयुक्त हो ।’ 

अरु देशका पैसाको पनि भाउ बढ्यो

अहिले अमेरिकी डलरको भाउ बढेसँगै अरु देशका पैसाको भाउ पनि बढेको छ । एक महिनाको अवधिमा अमेरिकी डलरको भाउजस्तै रियाल, दिर्हाम, दिनार, रिंगिट लगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।  

रोजगारीका लागि श्रम स्वीकृति लिएर सबैभन्दा धेरै नेपाली मलेसिया र खाडीका ६ वटा देश गएका छन् । अहिले यी देशका मुद्राको मूल्य पनि बढेको छ ।  

एक महिनाअघि १ अगष्टमा तीनसय ६२ रुपैयाँ २६ पैसा रहेको कुवेती दिनारको भाउ अहिले बढेर तीन सय ७४ रुपैयाँ ९९ पैसा पुगेको छ । बहराइन दिनारको भाउ दुईसय ८९ रुपैयाँ ६६ पैसाबाट बढेर ३१ अगष्टमा तीन सय ८८ रुपैयाँ रुपैयाँ पुगेको छ । 

त्यस्तै, युएई दिर्हामको भाउ १ अगष्टमा २९ रुपैयाँ २२ पैसा थियो भने ३१ अगष्टमा बढेर ३० रुपैयाँ ९० पैसा पुगेको छ । १ अगस्टमा दुई सय ८४ रुपैयाँ ५३ पैसा रहेको ओमानी रियालको भाउ ३१ अगष्टमा बढेर दुई सय ९४ रुपैयाँ ९८ पैसा पुगेको छ ।

महिना दिनअघि ३० रुपैयाँ ९ पैसा रहेको कतारी रियाल अहिले बढेर ३१ रुपैयाँ १६ पैसा पुगेको छ । साउदी रियालको भाउ  १ अगस्टमा २९ रुपैयाँ २१ थियो भने ३१ अगस्टमा ३० रुपैयाँ २६ पैसा पुगेको छ । 

पछिल्लो समय मलेसियन रिंगिटको मूल्य पनि बढिरहेको छ । १ अगस्टमा २६ रुपैयाँ ९४ रहेको मलेसियन रिंगिटको भाउ ३१ अगस्टमा २७ रुपैयाँ ६२ पैसा पुगेको छ । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०५०/५१ देखि २०७४/०७५ सम्ममा ५० लाख ६९ हजार ४०५ जना रोजगारीका लागि विदेश गएका छन् । आर्थिक वर्ष २०७२/२०७३ देखि २०७४/२०७५ सम्म विदेश जानेको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै नेपाली कामदार मलेसिया गएका छन् । 

गएको वर्ष मात्रै एकलाख ४२ हजार सात जना श्रम स्वीकृति लिएर रोजगारीका लागि मलेसिया गएका छन् । मलेसियापछि कतार, युएई, साउदी अरेबिया, कुवेत र बहराइनमा नेपाली कामदारको संख्या धेरै छ ।

याे पनि पढ्नुहाेस्
नेपालमा डलर अहिलेसम्मकै महंगो, विदेशबाट पैसा पठाउँदा फाइदैफाइदा

अन्तिम अपडेट: बैशाख ५, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • रमेश राई

    Sept. 1, 2018, 5:29 a.m.

    के ग्यारेण्टि छ दशैँतिहारमा पैसाको भाउ घट्छ भनेर??

  •  0 Reply

तपाईको प्रतिक्रिया