पाहुनाले हेरिहाले, अब के काम ? ६५ लाखको तामझाम चार दिनमै स्वाहा !

 भदौ १८, २०७५ सोमबार १७:४६:३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – आइतबार दिउँसोसम्म काठमाडौंको तीनकुने चौर झकिझकाउ थियो । वरिपरि बारबेर पारेर नेपालका मौलिक कला र चित्र टाँसेर चिटिक्क पारिएको थियो ।

स्वयम्भूनाथ, पशुपतिनाथ, लुम्बिनी लगायत ठाउँका चित्र कलात्मक ढंगले सजाइएको थियो । झट्ट हेर्दा तीनकुनेमा बनाएका संरचना साँच्चैका जस्ता देखिन्थे । 

सहरको बीचमा यस्तो सुन्दर दृष्य देखेपछि धेरैजनाले सेल्फी पनि खिचे । अब तीनकुनेको चौरमा ड्राइभिङ सिक्ने र फोहोर फाल्ने मान्छे नदेखिने भयो भनेर दंग परे ।

तर हेर्दाहेर्दै तीनकुने पहिलेकै हालतमा फर्किएको छ । आइतबार दिउँसो श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना श्रीलंका प्रस्थानको लागि तीनकुनेको बाटो हुँदै विमानस्थल लागेपछि संरचना हटाउन सुरु भएको हो । त्यसो त अब देखाउनुपर्ने पाहुना सबै हिँडेपछि यस्तो झकिझकाउ किन पो चाहियो र !

‘अस्तिदेखि नै श्रीलंकाका राष्ट्रपति कतिखेर नेपालबाट फर्किएलान् भनेर कामदारहरु भत्काउने सामग्रीसहित कुरेर बसेका थिए,  हिजो आइतबार राष्ट्रपति यहाँबाट जानेबित्तिकै उनीहरुले त्यस्ता राम्रा संरचना भत्काउन सुरु गरे’ तीनकुनेमा पसल गर्दै आएका चन्द्र कार्कीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘चित्र नै टाँसे पनि साँच्चैको हो कि जस्तो बनाएका थिए, तर विदेशीलाई देखाउन मात्रै पो रहेछ ।’

कलात्मक बोर्डसँगै जस्तापाता समेत हटाइएको छ । चौरमा पहिलेजस्तै गाडी सिक्नेहरुको चहलपहल सुरु भैसकको छ । फोहोरको डंगुर देखिन थालेको छ । 

४ दिनको लागि ६५ लाख रुपैयाँ खर्च

बिमस्टेकमा आउने पाहुनालाई देखाउनको लागि काठमाडौं सिँगार्ने जिम्मा काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयले पाएका थिए । शहरी विकास मन्त्रालयले तीनकुनेमा धेरै ध्यान दिएर काम गरेको थियो । तीनकुनेमा अस्थायी संरचना बनाउन मात्रै ६५ लाख रुपैयाँ भन्दा धेरै खर्च भएको छ । 

निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले आइतबार र सोमबार संरचना भत्काएर सानातिना फलामका टुक्रा समेत लगिसकेको छ । यसरी हेर्दा १४, १५, १६ र १७ गतेको लागि तीनकुनेमा ६४ लाख रुपैयाँ भन्दा धेरै खर्च भएको हो । 

‘हामीलाई पनि कुनै एजेन्टले ६२-६३  लाख रुपैयाँमा यो कामको ठेक्का दिएको हो, उनीहरुले चाहिँ ६४ लाख रुपैयाँ भन्दा धेरैमा यो ठेक्का पाएको भन्ने जानकारीमा छ’ तीनकुनेमा अस्थायी संरचना बनाएको सगरमाथा टेण्ट हाउसका प्रमुख तेज श्रेष्ठले भन्नुभयो, ‘अस्थायी संरचनाका सामग्री हामीले नै लैजाने सम्झौता भएको थियो, त्यसै अनुसार हामीले भत्काएका संरचना हामीले नै लगेका हौं ।’

महानगरपलिका भन्छ : अस्थायी संरचना पनि कसरी संरक्षण हुन्छ त ?

काठमाडौं महानगरपालिकाले जति नै सुन्दर संरचना भएपनि अस्थायी भएकाले भत्काउनुको विकल्प नभएको बताएको छ । झट्ट हेर्दा बिमस्टेकको बेला काठमाडौं झकिझकाउ देखिए पनि सबै संरचना भत्काउनुपर्ने बाध्यता रहेको महानगरपालिकाको भनाई छ । 

‘सडक किनारमा लगाएको रंग बाहेक हामीले बनाएका सबै संरचना अस्थायी हुन, हेर्दा त राम्रो देखिएको थियो, तर हटाउनुको विकल्प छैन’ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भन्नुभयो, ‘हामीले करोडौं रुपैयाँ खर्च गर्याैँ, तर सबै अस्थायी संरचनाको लागि  ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया