हेटौंडामा सात प्रदेशका मन्त्रीहरुको भेला : संघीय सरकारले अधिकार कटौती गरेको अाराेप

 जेठ २०, २०७५ आइतबार १४:४५:३२ | हरि हुमागाईं
unn.prixa.net

हेटाैंडामा भएकाे सात प्रदेशका कानुन मन्त्रीहरुकाे भेला

मकवानपुर – संघीय सरकारले प्रदेश तहका गृहमन्त्रीहरुलाई पर्याप्त अधिकार नदिएको भन्दै सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरु हेटौडामा जम्मा भएका छन् ।

संघीय सरकारका गृहमन्त्रीको अधिकार अत्यन्तै धेरै र प्रदेशका गृहमन्त्रीको अधिकार अत्यन्त कम भएको भन्दै सातवटै प्रदेशका आन्तिरिक मामिला मन्त्रीहरुको बैठक हेटौंडामा बसेको हो ।

प्रदेशका गृहमन्त्री भनिए पनि आफ्नो प्रदेशको सीडीयो, एसपी/एसएसपी लगायतका सरकारी अधिकारी आफूहरु मातहत खासै नदेखिएपछि सातै प्रदेशका मन्त्रीहरुको बैठक बोलाइएको तीन नम्बर प्रदेशका आन्तिरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले बताउनुभयो ।

प्रदेशका आन्तिरिक मामिला मन्त्री भएपछि सीडीयो र एसपी आफूहरु मातहत आएमा सुरक्षा झनै मजबुद बनाइने उनीहरुको भनाई छ । सुरक्षाका सवालमा आफूहरु संवेदनशील भए पनि जिल्लास्तरका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरुले आफूहरुसँग सहकार्य र ब्रिफिङ गर्ने काम नगरेको बैठकमा उपस्थित एक मन्त्रीले बताउनुभयो ।

संघीय सरकारले अधिकार पनि धेरै राखेको र बजेटमा पनि साना कामदेखि ठूला योजनाहरु प्रदेश सरकारलाई नदिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् । बैठकमा मन्त्रीहरुले संघीय सरकारले आउँदो आर्थिक वर्षको लागि ल्याएको बजेट सच्याउनुपर्ने बताएका छन् ।

सातै प्रदेशका मन्त्रीहरुले बैठकमा ४ बुँदे सहमति गरेका छन् । आगामी दिनमा विशेष गरी कानुन निर्माणको सवाल, सुरक्षा निकायहरुको परिचालन र समन्वयलगायतका विषयमा एकरुपतामा जाने र प्रदेश प्रहरी र प्रदेश अनुसन्धान ब्यूरोको गठनसम्बन्धी कानुन निर्माणको प्रकृयालाई तुरुन्तै अघि बढाउने सहमति भएको प्रदेश ३ का अन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले बताउनुभयो ।

बैठकले प्रदेश सरकारका मन्त्री र प्रदेशसभाको सदस्यको मर्यादाक्रमलाई अभिलम्ब सच्याउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले संघीय सरकारले संघीय संसदबाट पास गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेट संघीयताको मर्म विपरित भएको भन्दै पुनरावलोकन गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, ४ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केशी, ६ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश साहको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया