माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत १४ अर्ब बढ्ने

 जेठ २०, २०७५ आइतबार १९:८:५ | उषा तामाङ

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत १४ अर्ब बढ्ने भएको छ ।

भूकम्प र नाकाबन्दीसँगै ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा बहुप्रतिक्षित जलविद्युत आयोजनाको लागत बढ्ने भएको हो । ४ सय ५६ मेगावाट क्षमताको यो आयोजनाको लागत २०६६ सालमा ३५ अर्ब २९ करोड ४१ लाख अनुमान गरिएको थियो । अहिले निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजना ०७५ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ तिव्र गतिमा काम भइरहेको छ ।

निर्माण सम्पन्न हुँदा ४९ अर्ब २९ करोड ५४ लाख लागत लाग्ने अनुमान गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सामान ढुवानीका लागि सिन्धुपाल्चोकको खाडीचौरदेखि चरिकोटसम्मको सडक समयमै निर्माण सम्पन्न नहुँदा आयोजना निर्माण कार्यमा असर पुगेको प्रवक्ता न्यौपानेको भनाई छ ।

त्यो सडकका कारण आयोजनाका लागि आवश्यक पर्ने सामग्री ढुवानीमा निकै समस्या भइरहेको र आयोजनाको प्रमुख चुनौति नै त्यो सडक रहेको उहाँको भनाई छ ।भूकम्प र नाकाबन्दीका कारण निर्माणमा ढिलाई भएको आयोजना अहिले डलरको भाउ बढ्नुका साथै भारतीय कम्पनी टेक्सम्याकोले समयमा काम अघि नबढाउँदा लागत बढ्ने अवस्था आएको हो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया