सत्तारुढ र विपक्षी दलका शीर्ष नेतासँग राष्ट्रपतिको आग्रह– ‘अब हातेमालो गरेर अघि बढ्नुस्’

 जेठ २२, २०७५ मंगलबार ६:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले देशको सम्बृद्धिका लागि मिलेर अघि बढ्न सत्तारुढ र विपक्षी दललाई  आग्रह गर्नुभएको छ । राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि चयन भएपछि पहिलोपटक सत्तारुढ र विपक्षी दलका नेतासँग एकैसाथ भेट गरि राष्ट्रपति भण्डारीले अब देश सम्बृद्धिको बाटोमा अघि बढ्नुपर्ने भएकाले साझा एजेण्डा तय गरेर अघि बढ्न आग्रह गर्नुभएको हो । 

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अबको मुख्य कार्यभार भएकाले त्यसै अनुसार अघि बढ्न राष्ट्रपति भण्डारीले नेताहरुलाई आग्रह गरेको राष्ट्रपतिका सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो । छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागि हुनुहुन्थ्यो ।

लोकतन्त्र र गणतन्त्र स्थापनका लागि सँगै अघि बढेका दलहरु अब देशलाई आर्थिक विकासमा अघि बढाउने बेलामा पनि एकैसाथ रहनुपर्नेमा उहाँले जोड दिएको पनि अधिकारीले बताउनुभयो । राष्ट्रपति भण्डारीले देशको शैक्षिक अवस्था खस्कँदो रहेको तथ्यलाई आत्मसाथ गर्दै शैक्षिक गुणस्तर सुधार गर्न पनि सामुहिक प्रयत्न आवश्यक रहेकोमा पनि नेताहरुको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा सत्तारुढ र विपक्षी दलका शीर्ष नेताहरुले देशको विकासका लागि अब हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया