कतारमा घरेलु कामदार पठाउने व्यवस्था सहज बनाउन राजदूत सकारात्मक

 असोज २, २०७५ मंगलबार १९:४१:३१ | उज्यालो सहकर्मी

काठमाडौं - नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्म अलहिलले नेपालबाट घरेलु कामदार पठाउने व्यवस्था सहज बनाउन आफू सकारात्मक रहेको बताउनुभएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग मंगलबार भएको भेटमा उहाँले कतारमा घरेलु कामदारको माग धेरै रहेकाले अहिले रोक्का रहेको घरेलु कामदार पठाउने व्यवस्था सहज बनाउने बताउनुभएको हो ।

उहाँले कामदारको शून्य लागतको विषयमा पनि कतार सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले कामदारको सुरक्षाको विषयमा कतार सरकारले जिम्मेवारीपूर्वक अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

भेटमा नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध विषय तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्री विष्टको निजी सचिवालयले जनाएको छ ।

भेटमा कतारमा नेपाली श्रमिकको न्यूनतम तलब वृद्धि, कामदारहरुको बीमा लगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यावसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयसँगै आगामी दिनमा दुई देशबीच उच्चस्तरीय सम्झौता गरीे श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउनेबारे पनि छलफल भएको छ ।

मन्त्री विष्टले कतारमा कामदारहरु पठाउदा शून्य लागतमा पठाउने, दुवै सरकारको सरकारी संयन्त्र तयार गरी त्यही माध्यमबाट कामदारको छनौट र आपूर्तिको व्यवस्था गर्ने र नेपाली श्रमिकहरुलाई २४ सै घण्टाको समेटिने गरी बीमा सुविधा उपलब्ध गराउनुुपर्ने कुरामा जोड दिनुभयो । यसका लागि नेपालको तर्फवाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने मन्त्री विष्ठले अपेक्षा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया