स्वास्थ्य संस्थामा जन्मिएर जन्मदर्ता गराउनेलाई पोषण भत्ता

 असोज ३, २०७५ बुधबार १८:३२:३५ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाले गम्भीर प्रकृतिका रोगी तथा प्राकृतिक प्रकोपबाट पीडितहरुका लागि सहयोग गर्न कोष खडा गरेको छ ।

गाउँपालिकाले मुटुरोगी, क्यान्सर, मृगौला, क्षयरोग, बोनम्यारो, डिप्रेसनलगायत गम्भीर प्रकृतिका रोगबाट पीडितहरुलाई पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय गरेको हो । 

गाउँ कार्यपालिकाको बैठकले बिरामीको प्रकृति हेरी उपचारमा सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिनुभयो । गाउँ कार्यपालिकाको बैठकले बाढी, पहिरो, आगलागी, भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट पीडितका लागि समेत पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म सहयोग गर्ने गरी आकस्मिक कोषको व्यवस्थापन गर्ने निर्णय गरेको छ । मानवीय क्षति हुने प्रकारको प्राकृतिक प्रकोपको घटना भएमा अवस्था हेरी सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । 

गाउँपालिकाले स्वास्थ्य संस्थामा गएर प्रसुति गराई ३५ दिनभित्रै घटना दर्ता गर्न आउनेहरुलाई पाँच सय रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने भएको छ । कार्यपालिकाको बैठकले स्वास्थ्य संस्थामा गएर प्रसुति भएको प्रमाणका आधारमा ३५ दिनभित्रै वडा कार्यालयमा जन्मदर्ता गर्न आउने सबै बालबालिकालाई पाँच सय रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताउनुभयो । 

गाउँपालिकाले सञ्चालन गरिरहेकोे स्वास्थ्य जागरण अभियान अन्तर्गत सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै गएर प्रसूति गराउन सचेत बनाउन र समयभित्रै घटना दर्तामा समेत प्रोत्साहन पुगोस् भन्ने ध्येयले यस्तो कार्यक्रम बनाइएको अध्यक्ष लिम्बूले बताउनुभयो । 

पोषण भत्ता कार्यक्रमले मातृ तथा शिशु मृत्युदर कम गर्न, समयमै घटना दर्ता गर्न र शिशुहरुको पोषण सुधारमा समेत सहयोग पुर्‍याउने उहाँको भनाई छ । स्वास्थ्य जागरण अभियान अन्तर्गत गाउँपालिकाले गाउँपालिकाबासीलाई स्वस्थ बनाउन टोल–टोलमा पुगेर स्वास्थ्य शिविर सन्चालन गर्ने, घरैमा पुगेर वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरी उपचार सहयोग गर्ने लगायत कार्यक्रमहरु भइरहेका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीले बताउनुभयो । 

गाउँपालिकाले गाउँपालिका क्षेत्रमा बंगुरपालन गर्नेहरुलाई व्यवस्थित खोर निर्माण गरेर मात्रै  व्यवसाय गर्न अनुरोध गर्ने निर्णय गरेको हो । गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य सहित विभिन्न योजनाहरु सन्चालन भइरहेका बेला अव्यवस्थित रुपमा भइरहेको बंगुरपालनले फोहोर बढेको र दुर्गन्धित भएको भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्रका बासिन्दालाई राहतका लागि तेलिया खानेपानी आयोजना, ढाडखोला खानेपानी आयोजना र अधेरी पहरे खानेपानी आयोजना सञ्चालनका लागि विस्तृत लागत अनुमान तयार गरी प्रदेश सरकारलाई सिफारिस गरी पठाउने र तत्काल राहतका लागि समेत प्रदेश सरकारसँग समन्वय गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ  । 

गाउँ कार्यपालिकाको बैठकले गाउँ शिक्षा समिति गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूको अध्यक्षतामा गठन भएको समितिको सदस्यहरुमा वडाध्यक्ष पुण्यप्रसाद ढकाल, सदस्य विष्णुमाया सुवेदी र शिक्षा शाखा प्रमुख सदस्य सचिव रहेको शिक्षा समिति गठन भएको हो । 

कार्यपालिकाको बैठकले टोल विकास संस्था सन्चालन, व्यवस्थापन तथा परिचालन सम्बन्धी कार्यविधि २०७५ र स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५ समेत पारित गरेको छ । यस्तै आर्थिक वर्ष २०७४/०७५ को गाउँपालिकाको लेखा परीक्षण गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अनुरोध गर्ने समेत निर्णय गरिएको प्रवक्ता नेपालीले बताउनुभयो । 

गाउँपालिकाको कार्यालयमा बसेको गाउँपालिकाको बैठकले आर्थिक वर्ष २०७४/०७५ मा गरेका कामको समीक्षा, उपलब्धि र महत्वपूर्ण कार्यहरुका विषयमा समेत समीक्षा गरेको छ । गाउँपालिकाले सिधुवा शुक्रबारे सडक सञ्चालन, खानेपानी समस्याको समाधानको पहल, स्काई सिटी निर्माण सुरु, साक्षर गाउँपालिका घोषणा, उज्यालो छथर र स्वास्थ्य जागरण अभियान लगायतलाई उपलब्धिको रुपमा लिएको छ । 

गाउँपालिकाले अहिलेसम्म १२ वटा कानुन निर्माण गरी कार्यान्वयनको चरणमा रहेको छ । यस्तै गाउँपालिकाले सिधुवा शुक्रबारे सडक कालोपत्रेको थालनी, खानेपानी आपूर्ति, वडा जोड्ने सडक स्तरोन्नति, हाक्पारा मोटरेबल पुलको कार्य प्रारम्भ, सबै माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा, विद्युतीय हाजिरी लगायतलाई मुख्य कार्यहरुको रुपमा समीक्षा गरिएको गाउँपालिकाका प्रवक्ता नेपालीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया