प्रदेश २ को सरकार परिवर्तन : नेताहरुका आ–आफ्नै दावी

 जेठ २२, २०७५ मंगलबार ९:३१:१२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – संघीय समाजवादी फोरम पनि संघीय सरकारमा सहभागि भएपछि २ नम्बर प्रदेश सरकार परिवर्तन हुने चर्चा हुन थालेको छ । 

प्रदेश नम्बर २ मा समाजवादी फोरम र राजपा नेपालको संयुक्त सरकार रहेकोमा संघमा फोरमले नेकपासँग गठबन्धन गरेपछि प्रदेशमा पनि नेकपा र फोरमकै सरकार बन्ने तर्कमा थप बल पुगेको हो ।

गएको फागुन ३ गते लालबाबु राउतको नेतृत्वमा बनेको प्रदेश सरकारलाई त्यसबेलाका एमाले र माओवादीले पनि समर्थन गरेका थिए । तर दुवै दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएदेखि नै  सत्ताको समीकरण फेरवदल हुने अनुमान चल्न थालेको हो । यद्यपि, राजपा र फोरमका नेताहरुले यसबारेमा मुख खोलिसकेका छैनन् । दुवै दलका नेताहरु अहिलेको गठबन्धन भंग हुनु मधेशी नागरिक र मधेश आन्दोलनको मूलमर्म र भावना विपरीत हुने जिकिर गर्छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा राजपा नेता तथा प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सरकारमा नेकपा र फोरमले संघीय सरकारका बारेमा जे सहमति गरेपनि प्रदेश २ को सरकारलाई कुनै असर नपर्ने दावी गर्नुभयो । ‘चुनावकै बेलादेखि फोरम र राजपा मिलेर अघि बढेकाले अहिले मधेशी नागरिकको जनमत अनुसार प्रदेश सरकार निर्माण भएको छ, उहाँले भन्नुभयो, मधेशलाई समृद्ध र अधिकारसम्पन्न बनाउन यही सरकारलाई राजपाको समर्थन रहिरहनेछ ।’
राजपाका नेता एवं प्रदेश सांसद मनिष सुमनले संविधान संशोधन, मुद्दा फिर्ता र आन्दोलनमा शहीद घोषणा गर्ने एजेण्डा अनुरुप दुवै दल चुनावकै बेलादेखि गठबन्धन बनाएकाले यी एजेण्डा रहेसम्म फोरम राजपाको गठबन्धन रहने बताउनुभयो । ‘अहिलेसम्म फोरमलाई राजपाको समर्थन रहेको छ, उहाँले भन्नुभयो, जेठ २५ गते बस्ने राजपाको राजनीतिक समिति बैठकले समर्थन जारी राख्ने वा फिर्ता लिने भन्ने विषयमा निर्णय गर्नेछ ।

समाजबादी फोरमका सांसद कौशल यादवले साउनसम्म सरकार परिवर्तन हुनै नसक्ने ठोकुवा गर्नुभयो । प्रदेशमा यस विषयमा केही चर्चासमेत नरहेको सांसद यादवको दावी छ । 

फोरमकै नेता एवं प्रतिनिधिसभा सदस्य सांसद डा.सुरेन्द्र यादवले प्रदेश २ मा सरकार परिवर्तनको लागि केन्द्रमा नेकपासंग कुनै सम्झौता नभएको दावी गर्नुभयो । ‘केन्द्र सरकारमा फोरम सहभागी हुँदैमा प्रदेश २ मा सरकार परिवर्तन हुन्छ भन्नु गलत हो, उहाँले भन्नुभयो मधेशी नागरिकको चाहना अनुसार प्रदेश २ मा फोरम राजपा गठबन्धनको सरकार चलेको छ ,त्यस विपरीत केही पनि हुन सक्दैन ।

नेकपाका नेता सांसद रामचन्द्र मण्डलको धारणा भने फरक छ । फोरम केन्द्रीय सरकारमा सहभागी भएकाले फोरम र राजपाबिच नैतिक संकट खडा भएको मण्डलको दावी छ । त्यसैले जुनसुकै बेला राजपाले सरकारबाट समर्थन फिर्ता लिने र प्रदेश सरकार ढल्न सक्ने उहाँले तर्क गर्नुभयो ।

नेकपाकै नेता सत्रुधन महतोले भने प्रदेश सरकार अहिले परिवर्तन नहुने बताउनुभयो । ‘बरु वर्तमान सरकारमै नेकपा पनि सहभागि हुन सक्छ, महतोले भन्नुभयो प्रदेशलाई समृद्ध बनाउन राजपा, फोरम र नेकपा मिलेरै अघि बढ्नुपर्छ । ’
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया