अरिंगालले बालुवाटारमा बबुराहरुको बबण्डर

 असोज ६, २०७५ शनिबार ८:४:१३ | मिलन तिमिल्सिना
unn.prixa.net

पार्टी अध्यक्षले अरिंगाल बन्नु भनेपछि बबुराहरुलाई आपद आइलाग्यो । अरिंगाल कसरी बन्ने भनेर सोच्न नभ्याउँदै अरु नै अरिंगाल बन्न थाले । आफ्ना अध्यक्षले अरिंगाल भएर खनिने निर्देश दिएपछि आफ्नै ज्यानमा अरिंगाल खनिने डरले गाउँमा बस्नै गाह्रो भएपछि तीन प्रदेशका तीनजना बबुराहरु अध्यक्षलाई भेट्न काठमाडौं आए ।

अनेक प्रयत्नपछि अध्यक्षसँग भेट मिल्यो । सबैलाई लागेको थियो, अध्यक्षलाई एक्लै भेट्न पाइने भयो । तर संयोग कस्तो भने बालुवाटारको गेटमा पुग्दा त अर्को बबुरो, गेटभित्र पस्दा अर्को बबुरो । तीन बबुराहरु अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेट्न सँगसँगै बालुवाटार भित्रिए ।

अध्यक्ष पर्खेर बसेको देख्दा दंग परे । अध्यक्ष चाहिँ आफ्ना बबुराहरुलाई देखेर एकाएक निराश भए । सबै बबुराले जुवा हारेको जुवाडेकोजस्तो थकित र निराश अनुहार लिएर अध्यक्षलाई सलाम गरे । पार्टी अध्यक्षले जवाफमा टाउको हल्लाएर कडकदार प्रश्न गरे ‘तिमीहरु अझै अरिंगाल बनेनौ ?’

‘बन्न सकिएन हजुर ?’ ६ नम्बर प्रदेशबाट आएको बबुरोले हात जोड्दै रुन्चे स्वरमा भने ।

अध्यक्षले चश्मा उतारेर पालैपालो एक नम्बर र दुुई नम्बर प्रदेशबाट आएका बबुरालाई हेरे । दुुईको जवाफ पनि ६ नम्बरबाट आएको बबुरोकै जस्तो हो भन्ने बुुझेको भाव देखाए । तीनै जना बबुराहरु अमिलो अनुहारमा मुस्काए ।

‘मैले झन् अरिंगाल बन्नु भनेको होइन ? यस्ता जाबो झिंगे अनुहार लिएर मकहाँ किन आएको ?’ अध्यक्ष कड्किए ।

बबुराहरु सामान्य पार्टी कार्यकर्ता । गाउँमा सबैले र्याखर्याख्ती पार्छन्, ‘खै त तिमीहरुको पार्टीले दुई तिहाईको सरकार बनाएर पनि केही गर्न सकेन । प्रधानमन्त्री, मन्त्री र नेताहरु गफ मात्रै दिन्छन् । यही तालले सुखी नेपाली, समृद्ध नेपाल बन्छ त ?’

अलि पहिलेसम्म त बबुुराहरु भन्थे ‘हेरिराखन न केही दिन, अब छिटै देशले कोल्टे फेर्छ । रेल गुड्छ । पानीजहाज आउँछ । सबैले रोजगारी पाउँछन् । अब सुखका दिन फिरे ।’

तर अहिले यी बबुराहरुलाई पनि यी सबथोक होला भनेर पत्यार लाग्न छाडेको छ । त्यसैले कसैलाई जवाफ दिने उत्तर नभेटेर रन्थनिएका छन् । अनुहारमा पहिलेजस्तो चमक र उत्साह छैन । गाउँमा हिँड्दा ६ महिना अघिको जस्तो ईज्जत पनि पाईदैन । उल्टो पछाडिबाट कसैले प्याच्च कुनै बचन लाउँछ कि भनेर नदेखे जस्तो गरि हिँड्नुपर्छ । 

बदलिएको यो परिस्थिति विश्लेषण गरी विश्लेषण उपयुक्त देखिने निराश र थकित अनुहार लिएर बबुराहरु पार्टी अध्यक्ष र देशकै प्रधानमन्त्री बस्ने ठाउँ बालुवाटारमा पुगेका हुन् ।

‘हैन किन स्यालको जस्तो अनुहार बनाएर बसेका तिमीहरु ? अरिंगाल बन्नुपर्यो भन्या ?’ अध्यक्ष फेरि बोले ।

‘हजुरले अरिंगाल बन्नु भनेपछि हामीभन्दा पहिले अरु नै अरिंगाल बने । फेसबुक, ट्वीटर त हेरिहाल्नुभएको होला । कति धेरै अरिंगाल भएका छन् । अरु नै अरिंगाल भएपछि हामी कसरी अरिंगाल बन्ने ?’ एक नम्बरबाट आएको बबुरोले व्यथा पोख्यो ।

‘थाहा छ, तिमीले भन्दा धेरै हेर्छु फेसबुक । त्यस्ता फेसबुकेको हावा कुरामा लाग्ने होइन । उनीहरु फेसबुकमा अरिंगाल बन्छन्, तिमीहरु साँच्चिकै अरिंगाल बन्ने । अरिंगाल बन्न नसके पनि बच्छ्युँ बन्नुपर्यो नि । अरिंगालभन्दा बच्छ्युँ ठूलो भन्ने थाहा छैन ?’ अध्यक्षले निर्देशन दिए ।

‘यस्तै पारा हो भने अरिंगाल र बच्छ्युँ होइन, बारुलो पनि बन्न सकिंदैन जस्तो छ हजुर ?’ २ नम्बरबाट आएको बबुरोले बारुलाको जत्ति पनि हैसियत देखाएन ।

‘तिमी त बारुलो होइन, झुसे बारुलो पनि बन्न नसक्ने पो देख्दैछु त’ अध्यक्षले शंका गरे ।

‘हजुरलाई थाहै होला अरिंगाल किन आक्रामक हुन्छ भनेर’ बबुरोले डराईडराई भने ।

‘किन थाहा नहुनु, एउटा अरिंगाललाई कसैले आक्रमण गर्यो भने अर्को अरिंगाल आक्रामक हुन्छ, अहिले ममाथि चारैतिरबाट प्रहार भएपछि तिमीहरु यस्तै अरिंगाल बनेर आक्रामक हुनु पर्यो नि’ अध्यक्षले साथ खोजे ।

‘हैन हजुर अरिंगालको गोलाभित्र केही मिठो खानेकुरा छ र कसैले त्यो खानेकुरा खाने लोभमा गोला चलाउन खोज्यो भने अरिंगाल आक्रामक हुन्छ । गोला बाहिर सडकमा भौंतारिएको एक्लो अरिंगाललाई कसैले चलायो भने अर्को अरिंगाल रमिता हेर्छ । सँगै भएको अरिंगाल पनि भाग्छ’ देखेको र थाहा भएको कुरा ६ नम्बरबाट आएको बबुरोले भाका बाँधेर सुनायो ।

बबुरोको कुरा सुनेर र अरु बबुराको नूर गिरेको अनुहार देखेर अध्यक्ष टोलाउन थाले ।

मौका यही हो भन्ने ठानेर १ नम्बरबाट आएको बबुरोले थप्यो ‘हजुर जस्तोले प्रष्टै बुझ्नुपर्ने हो । अरिंगाल र बच्छ्युँले त्यसै आक्रमण गर्दैन । गोलामा कुनै महत्वपूर्ण खजना या खानेकुरा छ र कसैले त्यसमाथि आँखा लगायो भने मात्र आक्रमण गर्छ । हजुरसित त्यस्तो महत्वपूर्ण खजना के छ ? ६ महिनासम्म यहाँ बसेर के गर्नुभयो ? कामलाग्दो के बनाउनुभयो ? कसले के खोस्न लाग्यो र अरिंगाल जस्तो बनौं हामी ?’

‘तिमीहरुलाई त्यति पनि थाहा छैन । ममाथि निरन्तर आक्रमण भैरहेको छ । काम गर्न दिएका छैनन्’ अध्यक्षले झ्वाँक चल्ने कुरा नसुनाओ भन्ने टोनमा भने । तर बबुराहरुको जोश भर्खर चढ्न थालेको थियो, अध्यक्षको टोनलाई वास्ता गरेनन् ।

‘खुरुखुरु काम गरे त साथ दिन्थे हजुर । कामभन्दा कुरो बढी भो । हुन र गर्न सक्ने काम पनि भएन । दुई महिनासम्म बलात्कारका दोषी पत्ता लाग्दैनन् । ६ महिना भैसक्यो, बाटाका खाल्डा पुरिदैनन् । अस्तव्यस्त, भद्रगोल उस्तै छ । दुई तिहाईको सरकारले गर्न सक्ने काम पनि गरेन, अनि हामी कसरी अरिंगाल बनौं’ बबुराहरुले बाध्यता पोखे ।

अध्यक्ष फेरि चुप लागेपछि दुुई नम्बरबाट आएको बबुुरालाई पनि आफ्नो प्रतिभा देखाउने रहर लाग्यो । बबुरोले मौरीको उदाहरण दिन थाले ।

‘मौरीको घारमा एउटा मात्रै अरिंगाल गयो भने सबै मौरी मिलेर अरिंगाल मारिदिन्छन् । अहिले हाम्रो अवस्था यस्तै छ । अरिंगालको गोलामा कोही आउँदैनन् । अनि बाहिर एक दुईवटा अरिंगाल गएर बिनाकाममा निहुँ खोज्यो भने आफैं सकिन्छ । त्यसैले हजुर अरिंगाल नबनौं । बरु मौरी बनौं’ बबुरोले प्रस्ताव राखे ।

‘मौरी बनेर के गर्ने ? मह मौरीले खान नपाई अरुले नै खाइदिन्छन् । दुःख गर्ने मौरी, मह चाख्ने अरु ?’ अध्यक्षलाई चित्त बुझेन ।

‘तर दुई तिहाईको सरकारले त मौरीले जस्तो काम गर्नुपर्ने होइन र ? जनताको लागि मह बनाइदिने । हामी फूलको रस ल्याइदिन्छौं । हजुर रानी मौरी जस्तो भएर बस्नुहोस् । सबै मिलेर मह बनाऔं, अनि जनताले काढ्छन्, खान्छन्’ एक नम्बरबाट आएको बबुरो कार्यकर्ताले यति बोल्ने आँट गरे ।

अध्यक्षलाई कुरो ठिक लागेन । ‘यो सबै भन्ने कुरा हुन् । भन्न जस्तो गर्न सकिंदैन । भन्नलाई त हामी मौरी बन्ने नै भन्ने हो, तर बन्न चै अरिंगाल नै बन्ने हो । मौरी होइन’ अध्यक्ष टसको मस भएनन् ।

‘कसरी बन्ने हजुर, अरु सबै पहिल्यै अरिंगाल बनिसके’ एउटा बबुरा बोलेपछि अरु दुुईटाले टाउको कन्याए ।

‘अरु कुरा थाहा छैन, तिमीहरु अरिंगाल बन । अरु अहिलेसम्म रातो अरिंगाल मात्रै देखिएका छन् । तिमीहरु कालो अरिंगाल बन । बच्छ्युँ बन । आक्रमण गर । जाउ’

बालुवाटारबाट बबुरा कार्यकर्ताहरु निहुरिएको शीर लिएर लुरुलुरु फर्किए । गेट बाहिर बाटोमा रुखतिर हेरे । जताततै अरिंगालको गोलो मात्र देखिन्छ । हातमा भएको मोबाइल हेरे । फेसबुकभरि अरिंगाल मात्रै देखिन्छ ।

रुखमुनि बसेर एकछिन टोलाए । अध्यक्ष आफै अरिंगाल जस्ता लागे बबुराहरुलाई । त्यसमाथि रुखको गोलाबाट एउटा अरिंगाल आएर टाउकोमाथि घुम्न थाल्यो । ‘लौ सकिंदैन प्रभु, अरिंगाल होइन बारुलो पनि बन्न सकिंदैन’ भन्दै उनीहरु तीनैजना बुर्कुसी मारेर आ–आफ्ना घर जान तीनतिर लागे ।

अन्तिम अपडेट: चैत २७, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया