बुढीगण्डकी जलाशयले डुबाउँदैछ भिमसेन बगैंचा : वैज्ञानिकले गर्दैछन् आँपको ‘रेस्क्यू’

 असोज ६, २०७५ शनिबार १४:०:३६ | किरण लोहनी
unn.prixa.net

गोरखा – बुढीगण्डकी जलविद्युत आयोजनाका कारण गोरखा र धादिङको ६ हजार ७ सय हेक्टर जमिन डुब्दैछ ।

सरकारले लक्ष्य लिए अनुसार काम भए अबको एक दशकभित्र यो जमिनमाथि विशाल जलाशय बन्नेछ । डुबानमा पर्ने कुल जमिनमध्ये झण्डै २५ सय ५० हेक्टर खेतीयोग्य जमिन छ । डुबानसँगै ती जमिनमा अहिले रहेका लाखौं संख्याका फलफूल र बोटबिरुवा पनि नासिएर जानेछन् ।

वैज्ञानिकहरु अहिले त्यसरी नासिएर जाने फलफूल र बोटबिरुवाको संरक्षण कसरी गर्न सकिएला भनेर लागेका छन् । र, उनीहरुको ध्यान गएको छ, डुबान क्षेत्रमै पर्ने भिमसेन बगैंचाको आँपका बिरुवामा ।

‘जसरी मान्छे, कुनै कारणबाट जोखिममा पर्‍यो भने ‘रेस्क्यू’ अर्थात तत्काल उद्धार गरिन्छ, हामी जोखिममा परेका बोटबिरुवाको पनि ‘रेस्क्यू’ गर्छौं’, नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर बालकृष्ण जोशीले बताउनुभयो ।

आयोजनाका कारण डुबानमा पर्ने भएपछि २५ सय ५० हेक्टर खेतीयोग्य जमिनका सयौं प्रजातिका फलफूल जोखिममा पर्नेछन् । त्यहाँ के कस्ता प्रजातिका कृषि बाली जोखिममा पर्छन् भनेर बुझ्न जोशीसहितको टोली केही महिनाअघि बुढीगण्डकी किनारको भ्रमणमा पुगेको थियो ।

उनीहरु साविकको बोर्लाङ गाविसमा पर्ने भिमसेन बगैंचामा पुगे । जहाँ नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले ‘रोप्न लगाएको’ आँपको ठूलो बगैँचा छ । ‘हामीले स्थानीयसँग कुरा गर्दा तीनवटा बगैँचामा एक सयभन्दा बढी प्रजातिका आँप रहेको थाहा पायौँ’, वैज्ञानिक डाक्टर जोशीले भन्नुभयो, ‘यी आँपका बिरुवा ठूलो जोखिममा रहेको हामीलाई लाग्यो र तत्काल ‘रेस्क्यू’ गर्ने निर्णय गर्‍यौं ।’

हाइब्रिड जातको विकाससँगै नेपालमा रैथाने कृषि बाली हराउँदै जान थालेका छन् । आँपको मात्रै कुरा भएन, हरेक स्थानीय जातलाई हाइब्रिड अर्थात विकासे बीउले विस्थापित गर्दै लगेको छ । ‘कृषि अन्तर्गतका ५० प्रतिशत स्थानीय जात हराइसके’, जोशी भन्नुहुन्छ, ‘अब त स्थानीय जात लगाउने पनि कोही भएन, संरक्षण गर्ने पनि कोही भएन ।’ झण्डै १ सय ३० रोपनी क्षेत्रफलमा फैलिएको भिमसेन बगैंचामा बम्बई, माल्दह, सुपारेलगायत एक सय प्रजातिका आँप छन् ।

आँपका बोटहरु धेरै पुराना छन् । उसै त बुढा भएका ती बोट डुबानमा परेपछि ऐतिहासिक महत्व समेत बोकेको आँपको एउटा पुस्ता सकिने भएकाले वैज्ञानिकहरु उद्धारमा लागेका हुन् । वैज्ञानिकहरुका अनुसार त्यो बगैंचा उनीहरुकै भाषामा ‘रेड जोन’मा परेको छ । नेपालमा अहिले विदेशी आँपले बजार पाउन थालेको छ । 

स्थानीय जातका आँप मासिँदै जान थालेकाले संरक्षण जरुरी रहेको वैज्ञानिक जोशीले बताउनुभयो । ‘आँपका नयाँ जात विकास गर्नका लागि पनि हामीलाई पुराना जात नभै हुँदैन’, उहाँ भन्नुहुन्छ, ‘त्यसमाथि रैथाने जात भनेका हाम्रा मौलिक जात हुन्, तीनलाई जोगाएर राख्नै पर्छ ।’

नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गतको राष्ट्रिय जीन बैङ्कले कृषि बाली अन्तर्गतका पुराना जातको संरक्षण गर्दै आएको छ । भिमसेन बगैंचाका आँपका प्रजातिको पनि सोही बैङ्कमा बीउ संरक्षण गरेर राखिनेछ । त्यसको जीन संकलनका लागि दुई प्राविधिक भिमसेन बगैंचा पुगेका छन् । 

कसरी हुन्छ त आँपको ‘रेस्क्यू’?

त्यहाँको आँपको जातलाई अर्को ठाउँमा लगेर हुर्काउनु र त्यसको बीउ संरक्षण गर्ने प्रारम्भिक काम ‘रेस्क्यू’ हो । सुरुमा स्थानीय किसानहरुलाई समेत सोधेर वैज्ञानिकहरुले सबै आँपका बोटको प्रोफाइल बनाउने छन् । प्रोफाइल बनाउने क्रममा त्यसको स्थानीय नाम, गुण, आँपको स्वाद, पाक्नका लागि लाग्ने समयावधी लगायतका कुरा पनि संकलन गरिन्छ ।

‘जुन प्रजातिको एउटा मात्रै बोट छ, किराले खाएर बुढो भएर मर्न लागेको छ भने त्यसलाई हामी प्राथमिकता दिन्छौं’, नार्कका वरिष्ठ वैज्ञानिक जोशीले भन्नुभयो, ‘सबै सयवटै जातको त एकैपटक गर्न सक्दैनौं, केही वर्ष लाग्छ ।’ उहाँका अनुसार अहिले बगैंचाका एक सय प्रजातिमध्ये अति जोखिममा परेका १५ जातका आँपको उद्धार गरिनेछ ।

आँपका बोटको उद्धार अर्थात रेस्क्यू गर्ने भनेको सिंगो बोट नै उखेलेर लैजाने नभै त्यसको बीउ जोगाउने उपाय मात्रै गरिने वैज्ञानिकहरुले बताएका छन् । जोशी भन्नुहुन्छ, ‘बोटको टुप्पोको रहेको वयस्क मान्छेको बुढी औंला जत्रो कमलो हाँगा काटेर लगिन्छ र अर्को ठाउँमा रहेको आँपको बोटको डाँठमा लगेर जोडिन्छ ।’

नार्कको बाराको परवानीपुरमा रहेको फार्ममा दुई वर्ष अघिदेखि हुर्काएर राखिएको आँपको बोटमा भिमसेन बगैंचाको आँपको हाँगा लगेर कलमी गरिनेछ । एक दुई वर्षमै नयाँ बिरुवा हुर्कने वैज्ञानिकहरुको भनाई छ ।

‘कलमी गरेर हुर्काएको नयाँ विरुवा जस्तो भिमसेन बगैंचामा छ, त्यस्तै हुन्छ’, उहाँले भन्नुभयो, ‘फल्ने आँपको बनौट र स्वाद पनि ठ्याक्कै त्यस्तै हुन्छ ।’ कलमी गरेर नयाँ बिरुवा हुर्काए पनि त्यसको आनुवंशीक गुण अर्थात जेनेटिक स्टक्चर उस्तै रहने जोशीले स्पष्ट पार्नुभयो ।

कोयाबाट नयाँ विरुवा उमार्न सकिने भए पनि त्यस्ता बिरुवाले दिने फल पुरानै जस्तो नहुने भएकाले कलमी गरेर हुर्काउने प्रविधिलाई जोड दिने गरिएको छ । नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले बिरुवा रोप्न लगाएर हुर्काएको आँपलाई मर्न नदिनु भावनात्मक र ऐतिहासिक दुवै अर्थले महत्वपूर्ण हुने नार्कका वैज्ञानिकहरुको विश्वास छ ।

अहिले भएका बुढा आँपका रुख केही वर्षमा बुढीगण्डकी आयोजनाको जलाशयमा डुब्ने निश्चित छ, तर यता गोरखामा आमा अर्थात माउ रुख डुबिरहँदा उता परवानीपुरमा सन्तानहरु हुर्किसकेका हुनेछन् । 

तस्बिर साैजन्य : बालकृष्ण जोशी


 

अन्तिम अपडेट: चैत १५, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया