छक्का पञ्जा तीनकाे ट्रेलर रिलिज, चलचित्र हेर्न भने घटस्थापनाकाे दिनसम्म कुर्नुपर्ने

 असोज ६, २०७५ शनिबार १४:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

हास्य विधामा बनेकाे चलचित्र छक्का पञ्जा ३ को ट्रेलर रिलिज भएको छ ।

सँगै चलचित्र रिलिज घोषणा समेत गरिएको छ । चलचित्र छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनाका दिनबाट अल नेपालप्रदर्शन हुने भएको  छ । 

ट्रेलरमा चलचित्रका मुख्य कलाकार दिपक राज गिरी, जितु नेपाल, केदार घिमिरे,बुद्धि तामाङ, दिपिका प्रसार्इं लगायतलाई नै प्रस्तुत गरिएको छ । चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनीतिलाई मुख्य कथावस्तुका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्माता दिपकराज गिरीले जानकारी दिनुभयो ।

६ एकान ६ बाट सुरु भएको यो यात्रा वडा नम्बर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुँदै छक्का पञ्जा ३ सम्म आइपुगेको छ । चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत यस अघि नै रिलिज भइसकेका छन् । 

चलचित्रमा समावेश पहिलो नम्बरमा बोलको गीतले छोटो समयमै दर्शकको राम्रो साथ पायो ।यूटयूबमा १ करोड पटक हेरिसकिएको उपलक्षमा चलचित्र युनिटले केक  काटेर मनाएको थियो ।

दिपक शर्माको संगीतमा रहेको गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । यो गीतलाई अहिलेसम्म१ करोड ३२ लाख भन्दा बढी पटक हेरिसकिएको छ । 
यो गीतको चर्चा सेलाउन नपाउँदै चलचित्र छक्का पञ्जा ३ को अर्को गीत सार्वजनिक भयो । पछि उमेर ढल्किन्छ बोलको गीत यतिबेला सर्वाधिक चर्चामा छ । 
अर्जुन पोखरेलको संगीत रहेको गीतमा निशान भट्टराइ र एन्जिला रेग्मीको स्वर रहेको छ । चलचित्रको ट्रलर तथा रिलिज डेट घोषणा भएसँगै सिने बजारमा चलचित्रको चर्चा ह्वात्तै बढेको छ । 

यसअघि आमा सरस्वती मुभिज प्रालिमा बनेका चलचित्र सिने बजारकै उदाहरणीय भएका कारण पनि यस चलचित्रले सबैको ध्यान केन्द्रित गरिदिएको छ ।
यो ब्यानरमा निर्माण भएको पहिलो चलचित्र ६ एकान ६ लाई दिनेश डीसीले निर्देशन गरेका थिए ।

हास्य टेलिश्रृंखलाबाट चलचित्र क्षेत्रमा प्रवेश गरेको यो टिमले निर्माण गरेको चलचित्रलाई दर्शकले राम्रो साथ दिए । 

पहिलो चलचित्रले सफल व्यापार गरेपछि यो टिमलाई अझ हौसला मिल्यो र त्यही टिमले अर्को चलचित्र वडा नम्बर ६ निर्माण गर्यो । 

चलचित्र वडा नम्बर ६ लाई उज्वल घिमिरेले निर्देशन गरेका थिए । यो युनिटले निर्माण गरेको अघिल्लो चलचित्र जस्तै यो चलचित्रले पनि दर्शकबाट अत्यन्तै राम्रो साथ पायो । 

चलचित्र वडा नम्बर ६ ले आमा सरस्वती मुभिजलाई ब्राण्डका रुपमा स्थापित गर्यो । राम्रो चलचित्र निर्माण गर्न सके दर्शकको राम्रो साथ पाउन सकिन्छ भन्ने उदाहरण पनि यस चलचित्रले प्रस्तुत गरेको थियो । 

वडा नम्बर ६ पछि त्यसै टिमले चलचित्र छक्का पञ्जाको निर्माण गर्यो । हास्यकलाकार दिपाश्री निरौलाले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेकी थिइन् ।
चलचित्र छक्का पञ्जाबाट दिपाश्री निरौलाले गरेको कामप्रति सबैले सम्मान व्यक्त गरेका थिए । छक्का पञ्जा नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै व्यापार गर्न सफल भएको थियो । 

त्यस्तै उनै दिपाले निर्देशन गरेको चलचित्र छक्का पञ्जा २ ले पनि विभिन्न रेकर्ड राख्न सफल भएको थियो । चलचित्रले प्रदर्शन भएकै दिन करिब १ करोड ७० लाख बराबरको व्यापार गर्न सफल भएको थियो । 

मुख्य कुरा के हो भने दिपक राज गिरी, दिपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेको यो सहकार्यले नेपाली चलचित्र क्षेत्रको नै शिर उच्च बनाउने काम गरेको छ । 
कुनै समय सामान्य नायिका हुँदै हास्यकलाकारका रुपमा स्थापित भएकी दिपाश्री निरौला पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी गहना सावित भएकी छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया