संसदीय सुनुवाई विशेष समितिको सभापतिमा कर्ण

 असोज ७, २०७५ आइतबार १५:३८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन हुनु भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो । एउटै मात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य भिमसेनदास प्रधानले जानकारी दिनुभयो ।

यसअघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आउनु भएका नवनिर्वाचित सभापति कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले समितिले आफूलाई निर्विरोध निर्वाचित गरेको उल्लेख गर्दै समितिका सबै निर्णयहरु पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए । समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिको कामलाई उदाहरणीय रुपमा अघि बढाउन सभापति कर्ण सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

समितिकी अर्का सदस्य पूर्णकुमारी सुवेदीले पनि सभापतिमा निर्विरोध निर्वाचित हुनु भएका कर्ण समक्ष र योग्य रहेको उल्लेख गर्दै समितिको आफ्नो कार्य सम्पादन परिपक्व ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया