स्वास्थ्य चौकीमा लगाएको ताला नखुल्दा प्रसुति सेवा प्रभावित

 असोज ७, २०७५ आइतबार १९:३२:२० | जयराज अवस्थी
unn.prixa.net

बैतडी – जिल्लाको पुरचौंडी नगरपालिका वडा नम्बर ९ मा रहेको तल्लादेही स्वास्थ्य चौकीमा गएको बिहीबारदेखि तालाबन्दी गरिएको छ ।

स्वास्थ्य संस्थामा तालाबन्दी हुँदा त्यस क्षेत्रका स्थानीय निकै मर्कामा परेका छन् । ४ दिनदेखि स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा त्यहाका बिरामीहरुले उपचार गराउन पाएका छ्रैनन् । स्वास्थ्य चौकीमा बिरामीहरु आए पनि उपचार नपाइ फर्किने गरेको स्वास्थ्य चौकी इन्चार्ज हेमन्तसिंह साउदले बताउनुभयो ।

आउदो ९ गतेबाट स्वास्थ्य चौकीमा खोप कार्यक्रम रहेको र स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा खोप कार्यक्रम पनि प्रभावित हुन सक्ने सम्भावना रहेको साउदले बताउनुभयो । स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा स्वास्थ चौकीको सुरक्षित प्रसुति सेवा पनि प्रभावित भएको छ ।

स्वास्थ्य चौकीले वडा नम्बर ९ लाई आगामी आर्थिक वर्षमा घरमा हुने सुत्केरी शुन्य वडा घोषणा गर्ने योजना बनाएको छ । तर स्वास्थ्य चौकीमा तालाबन्दी हुँदा त्यो लक्ष्य समेत प्रभावित भएको स्वास्थ्य चौकी इन्चार्ज साउदले बताउनुभयो ।

स्वास्थ्य चौकीमा ल्याब असिष्टेन्ट नियुक्त गर्दा आफूलाई छनौटमा नपारेको भन्दै ल्याब असिष्टेन्टका उम्मेद्ववार लोकेश भण्डारी र भण्डारीका सहयोगीले बिहीबार स्वास्थ्य चौकीमा तालाबन्दी गरेका हुन् । 

स्वास्थ्य चौकीमा तालाबन्दी भएकै दिनदेखि बिरामीको सामान्य चेकजाँच समेत रोकिएको इन्चार्ज साउदले बताउनुभयो । स्वास्थ्य चौकीमा तालाबन्दी भएको चारदिन बितिसक्दा समेत नगरपालिकाले ताला खुलाउने बिषयमा पहल गर्न नसकेको स्थानीयबासीको गुनासो छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया