पीएम कप क्रिकेट : एपीएफलाई हराउँदै सेमिफाइनलमा

 जेठ २२, २०७५ मंगलबार १८:३८:१८ | उज्यालो सहकर्मी

काठमाडौं – विभागीय टिम त्रिभुवन आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राख्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा आर्मीले अर्को उपाधि दावेदार एपीएफलाई ७० रनले हरायो । वर्षाका कारण ४० ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ओपनर अनिल मण्डल तथा कप्तान विनोद भण्डारीको अर्धशतकीय सहयोगमा २२८ रन बनायो ।

आर्मीका लागि मण्डलले ९९ बल खेलेर ७ चौकाको सहयोगमा ७२ रनको पारी खेले । मण्डलले पहिलो विकेटका लागि सागर पुनसँग मिलेर ७७ तथा दोस्रो विकेटका लागि नरेश बुढाएरसँग मिलेर ८२ रनको साझेदारी गरेका थिए । सागरले ४६ तथा नरेशले ३७ रन बनाए ।

चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान विनोद भण्डारीले फेरि एकपटक विष्फोटक पारी खेले । उनले २२ बलमा अर्धशतक पूरा गरेका थिए । अर्को बलमा बोल्ड भएका भण्डारीले ७ छक्का प्रहार गरे । आर्मीका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ एपीएफका भुवन कार्कीले ३ विकेट लिए भने करण केसी, कमलसिंह ऐरी, बसन्त रेग्मी र पृथु बास्कोटाले १–१ विकेट लिए ।

२२९ रनको लक्ष्य पछ्याएको एपीएफ ३२.५ ओभरमा १५८ रनमै समेटिएपछि आर्मीको ७० रनको जित निश्चित भयो । एपीएफका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा ठूलो साझेदारी गर्न पाएनन् । रोहितकुमार पौडेलले बनाएको २८ रन एपीएफका ब्याट्सम्यानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो । उनका अलावा अनिल साहले २५, सुवास खकुरेलले २२, भुवन कार्कीले २६ र अमरसिंह रौटेलाले अविजित २७ रन बनाए ।

एपीएफलाई सस्तैमा समेट्न आर्मीका सोमपाल कामीले ३ विकेट लिँदा शुसान भारी, सागर पुन र साहब आलमले २–२ विकेट लिए । आर्मीका अनिल मण्डल खेलको म्यान अफ् द म्याच चुनिए ।

पुलिस सेमिफाइनलनजिक

मूलपानी मैदानमा भएको खेलमा प्रदेश नम्बर ३ लाई ६ विकेटले पराजित गरेपछि नेपाल पुलिस क्लब सेमिफाइनल नजिक पुगेको छ ।

जितपछि पुलिसको ५ अंक भएको छ भने प्रदेश ५ र ७ को पनि समान ५ अंक छ । बुधबार हुने प्रदेश ५ र पुलिसबीचको खेलले सेमिफाइनल मा पुग्ने दुई टिमको टुंगो लाग्नेछ ।

बुधबारको खेलमा पुलिस वा प्रदेश ५ ले ठूलो अन्तरको जित हासिल गरेको खण्डमा प्रदेश ७ को पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । प्रदेश ७ ले समूह चरणका चारै खेल खेलिसकेको छ ।

वर्षाका कारण २० ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो । उसका लागि २ खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । अदिल खानले ४५ र सोनु तामाङले ४८ रन बनाउनुबाकेह अन्य खेलाडी क्रिजमा टिक्नै सकेनन् ।

बलिङतर्फ पुलिसका रामनरेश गिरीले ३ तथा ललित भण्डारीले २ विकेट लिए ।

१३७ रनको लक्ष्य पुलिसले इनिङको १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । पुलिसका लागि ओपनर सुनील धमला र मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित दिलाए । यी दुईले चौथो विकेटका लागि ११० रनको साझेदारी गरेपछि पुलिसले जित हासिल गरेको हो ।
आरिफले ५४ बलमा २ छक्का र ४ चौकाको सहयोगमा ६० रन बनाउँदा सुनील धमलाले ४६ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ५० रन बनाए । अन्तिम ओभरको दोस्रो बलमा आरिफ क्याटआउट भएपछि आएका पुलिसका कप्तान मञ्जित श्रेष्ठले तीन रन लिँदै जित दिलाए ।
बलिङतर्फ प्रदेश ३ का रुपेश श्रीवास्तवले २ विकेट लिए । आरिफ खेलको म्यान अफ् द म्याच चुनिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया