बाटो खन्दै गरेको एस्काभेटर पहिरोले बगायो

 जेठ २२, २०७५ मंगलबार १९:५२:४० | केशवप्रसाद भट्टराई

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनिममा सडक खन्ने क्रममा पहिरोले एस्काभेटर बगाउदा एक जनाको ज्यान गएको छ ।

साझ ६.४० बजे खेजेनिमको फागुखोला भन्ने ठाउँमा सडक खनिरहेको बा २ क  ५३६३ नम्बरको एस्काभेटरलाई माथिबाट झरेको पहिरोले बगाउँदा पाँचथरको हिलिहाङ गाउँपलिका २ का ३८ वर्षका कृष्णप्रसाद कटुवालको ज्यान गएको स्थानीयबासिन्दा डिल्ली कार्कीले जानकारी दिनुभएको छ ।  

हान्दु्रङ–खोक्लिङ–सावादिन–खेजेनिम–इखाबु–लेलेप–ओलाङचुगोला सडक उपभोक्ता समितिका सचिव समेत रहनु भएका कार्कीले स्काभेटर पहिरोले करिब ५ सय मिटर तलसम्म बगाएकोले मृतकको शव समेत निकाल्न कठिन भएको बताउनुभयो । 

एस्काभेटरका सहचालक भने पहिरो झरेको देखेपछि उफ्रिएर बाँच्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले एस्काभेटर पहिरोले बगाएर घटना भएको जानकारी आएको र घटनास्थलतिर सिवा प्रहरी चौकीबाट प्रहरी पठाइएको बताउनुभयो । डीएसपी बस्नेतले चौकीदेखि १ घण्टाभन्दा बढी समय लाग्ने भएका कारण त्यो स्थानमा पुग्न केही समय लाग्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया