नेकपाका युवा नेता व्यावसायिक केरा खेतीमा

 असोज ८, २०७५ सोमबार १८:२१:३२ | श्यामशितल परियार

लमजुङ – पारिवारिक पृष्ठभूमि नै राजनीति । त्यसैले उहाँमा सानैदेखि राजनीतिमा रुची छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुनुअघि उहाँ वाईसीएल नेपाल लमजुङका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । हाल उहाँ नेकपा जिल्ला कार्यालय लमजुङका सदस्य हुनुहुन्छ । 

युवा राजनीतिक व्यक्तिको रुपमा मात्र उहाँको परिचय सीमित छैन । अहिले उहाँ व्यावसायिक किसानको रुपमा समेत चिनिन थाल्नुभएको छ । अहिले राजनीतिसँगै व्यवसायिक कृषि कर्ममा हरदम जुट्नुभएको छ, लमजुङका सुनिल सुनार ‘अटल’ ।

बाँझो जमिन हरियाली         

खाइलाग्दो शरीर । मनमा जोश, जाँगर । स्वदेशकै माटोमा केही गरौँ भन्ने चाहना । त्यसैले पनि सुनिलले खेर गएको जमिनमा व्यावसायिक केरा खेती सुरु गर्नुभएको छ । बाँझो जमिनलाई अहिले उहाँले हरियाली बनाउनुभएको छ ।   

उहाँ परिवारसहित बेसीशहर नगरपालिका–८, शेरामा बस्दै आउनुभएको छ । उहाँको पुख्र्यौली गाउँ भने कुन्छा हो । 

सुन्दरबजार नगरपालिका–१, कुन्छामा रहेको आफ्नै जमिनमा उहाँले केरा खेती गर्नुभएको हो । १२ रोपनी जग्गामा उहाँले १ हजार ५ सय केराको बिरुवा रोपिसक्नुभएको छ ।      

केरा खेतीमै फाइदा    

धान खेतीमा भन्दा केराखेतीमा मनग्य आम्दानी हुने उहाँको भनाई छ । 

‘धान खेती गर्यो । उत्पादन कम हुने । खेतला पाउन झनै मुश्किल । त्यसैले गएको जेठदेखि म व्यावसायिक केराखेतीमा लागेको हूँ’, ३५ वर्षीय सुनिलले भन्नुभयो ।   
उहाँका अनुसार केराखेतीमा लगानी उच्च रहे पनि प्रतिफल पनि राम्रो हुन्छ । ‘यसमा लगानी पनि उच्च हुन्छ । फाइदा पनि दोब्बर नै हुन्छ,’ उहाँले भन्नुभयो । सुनारले चितवनबाट ‘विलियम’ जातको केरा ल्याई खेती गर्नुभएको हो । सुनारले ‘सुन’ जातको कागती पनि लगाउनुभएको छ । 

चार लाखभन्दा धेरै लगानी      

 उहाँले झण्डै ३ रोपनी जग्गामा एकसय ५० भन्दा बढी कागतीको बिरुवा रोप्नुभएको छ । केरा र कागती खेतीमा गरी उहाँको ४ लाखभन्दा धेरै लगानी भइसकेको छ । ‘बिस्तारै अब कागती र केराखेतीलाई थप विस्तार गर्नेछु’, उहाँले आफ्नो भावी योजनाबारे जानकारी गराउनुभयो ।   

कृषि कर्ममा रम्न पाउँदा खुशी 

राजनीतिँंगै कृषि कर्ममा आफूलाई व्यस्त बनाउन पाउँदा उहाँलाई निकै खुशी मिल्ने गर्दछ । ‘हामी अझै कृषि उत्पादनमा अरुको भर पर्नुपर्ने अवस्था छ,’ उहाँले केही नरमाइलो मान्दै भन्नुभयो । 

‘कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने उद्धेश्यका साथ म कृषि कर्ममा होमिएको छु’, उहाँले मुस्कुराउँदै भन्नुभयो । गर्न सके पैसाकै लागि सात समुद्रपारी हानिनु नपर्ने उहाँको भनाई छ । 

‘हामीजस्ता युवाहरु कृषिमा लागे अरुले पनि देखासिकी गरी यसमा लाग्न सक्छन् । देशमै बसी उद्यम गरी पैसा कमाउन सक्छन् । पैसाकै लागि विदेसिनु नपर्ने सन्देश दिने भएकाले पनि कृषि कर्ममा रमेको छु । यसैमा रम्न पाउँदा खुशी छु’, उहाँले भन्नुभयो ।     
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया