एन्फाको निर्वाचनमा लाखौँ रुपैयाँ भ्रष्टाचार, निर्वाचन कमिटी नै बिक्यो : मणि कुँवर

 असोज ८, २०७५ सोमबार १९:१५:३८ | उज्यालो सहकर्मी

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा लाखौं रुपैयाँ भ्रष्टाचार गरेर हालको नेतृत्वले चुनाव जितेको आरोप लागेको छ ।
 
गएको वैशाख २२ गते भएको एन्फा चुनावका पराजित उम्मेदवार मणि कुवँरले चुनावका क्रममा भ्रष्टाचार भएको र त्यसको प्रमाण आफूसँग भएको दावी गरेका छन् ।
 
एन्फामा निर्वाचन भएको झण्डै ४ महिनापछि कुँवरले ६ वटा बुँदामा भ्रष्टाचार भएको आरोप लगाएका छन । उनले आफूसँग सबै बुँदाको पर्याप्त प्रमाण भएको भन्दै चुनाव अगाडि निर्वाचित प्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेको, विभिन्न प्रतिनिधिलाई मोटो रकम वितरण गरेको, न्यायालयलाई समेत आर्थिक प्रलोभनमा पारेको, निर्वाचन कमिटीलाई पनि किनेको आरोप लगाएका छन् ।
 
एन्फाको चुनावमा अन्तिम समयमा सहभागी नहुने घोषणा गरेका कुँवरले त्यतिबेला रहेका सुमन केसी र राजभाई मानन्धरले आर्थिक लेनदेन गरेको समेत आरोप लगाए । यसबारे उनले गएको अगष्ट ८ तारिखमा फिफा र एएफसीलाई पत्र पठाएको र एएफसीबाट फिफाको इथिक्स कमिटीमा फरवार्ड भइसकेको दावी गरे ।
 
कुँवरले नेपालको न्यायालय नै बिकेको गम्भीर आरोप पनि लगाएका छन् । एन्फाको निर्वाचनको केही दिनअघि कुँवर पक्षले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दा अदालतले दरपीठ गरिदिएको थियो ।
 
उनले अदालतमाथि लागेको आरोप प्रमाणित नभए त्यसले निम्त्याउने परिणाम व्यहोर्न तयार रहेको पनि बताएका छन् ।
 
कर्मा छिरिङ शेर्पा एन्फामा निर्वाचित भएपछि पनि भएका कामहरूमा अनियमितता भएको उनको दावी छ ।
 
कुँवरले आफूसँग यथष्ट प्रमाण भएकाले यो निर्वाचनमा ठूलो भ्रष्टाचार भएको प्रमाणित हुने र प्रमाणसहित न्यायालयमा जाने बताए ।
 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया