नाग्म–गमगढी राजमार्गमा समयमा काम नगर्ने निर्माण व्यवसायी पक्राउ

 जेठ २३, २०७५ बुधबार ११:०:४९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – नाग्म–गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बरमजंग बमलाई प्रहरीले पक्राउ गरेको छ । निर्माण व्यवसायी बमलाई जिल्ला प्रशासन कार्यालय मुगुको निर्देशनात्मक आदेशमा प्रहरीले पक्राउ गरेको हो । रश्मि निर्माण सेवा कालिकोटका प्रोपाईटर रहेका बमलाई “जिम्मालिएको काम समयमा नगरेकाले” उपस्थिति गराई दिन भनी मुगु प्रशासनले दिएको निर्देशनअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डाक्टर तपन दाहालले जानकारी दिनुभयो ।

काम सम्पन्न नगरी अलपत्र अवस्थामा पारेर चरम लापरवाही गरेको देखिएकाले सोधपुछ गर्न जुम्लाबाट नियन्त्रणमा लिईएको मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पटक पटक डिभिजन सडक कार्यालयले बोलाउँदा पनि सम्पर्कमा नआएपछि पक्राउ गरेरै बुझ्नुपर्ने अवस्था आएको हो ।

प्रजिअ अधिकारी भन्नुहुन्छ, ‘गमगढीबाट दैनिक विमानस्थल जाने बाटोलगायत नेपालगञ्ज जाने बाटो अपलपत्र छ ।  दैनिक सयौं यात्रुहरु मर्कामा पर्ने गरेका छन्  ।  वर्षायाम शुरु हुन लाग्दा पनि बाटो सुधारमा कुनै काम अगाडि नबढाएको हुँदा एक्सनमा गएका हौं । अब यसरी टुलुटुलु हेरेर बस्न सकिंदैन, काम नगर्ने र ठग्नेलाई त्यसै छोडिन्न ।’ 

नाग्म गमगढी सडक अन्तर्गत ९३ किलोमिटर रहेको मुगुको झ्यारीदेखि डुम गाउँसम्मको १० किलोमिटर सडक सुधार गर्ने जिम्मा बमको रहेको र काम सक्ने म्याद सकिए पनि काम नसकिएको डिभिजन सडक कार्यालय  जुम्लाका निमित्त डिभिजन प्रमुख माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार २०७४ जेठ ३० गतेसम्म काम सकिनुपर्ने थियो ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया