मेयरले गुन्यूचोलो उपहार दिएपछि ज्योति मगरको यस्तो ‘डाइलग’

 बैशाख २२, २०७५ शनिबार ९:५३:४६ | नेत्र शाही
unn.prixa.net

जुम्ला, वैशाख २२ – वैशाख १३ गतेदेखि जुम्लामा प्रादेशिक कृषि, पर्यटन औधोगिक व्यापार महोत्सव सञ्चालन भइरहेको छ । 

महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरुले भने आफ्नो प्रस्तुतिमार्फत जुम्लालाई तताइरहेका छन् ।  उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा भएको महोत्सवमा भने शुक्रवार ज्योति मगरको प्रस्तुति थियो । प्रस्तुतिको क्रममा भने चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवालले गायिका मगरलाई नेपाली गुन्यूचोलोको उपहार दिएकी छन् । 

सेजुवालले उपहार दिँदै भनिन्, ‘भाषाको उदगम स्थल, संस्कृतिको मुहान जुम्ला जिल्ला भएको हुँदा चन्दननाथ नगरपालिकाबाट धोती चोलो लगाउन गिफ्ट दिएको हो ।’ उनले हाम्रो पहिरन यूरोपियन मुलुकको जस्तो नभई हाम्रो माटो र भूगोल सुहाउँदो हुनुपर्छ भन्दै ज्योति मगरलाई आग्रह गरिन्, ‘संस्कृतिलाई संरक्षण गर्न भन्दै उपहार दिएको छु ।’ 

मेयरले उपहार दिएपछि माइक ज्योतिको हातमा पुग्यो । ज्योतिले पनि उपहार ग्रहण गरेको स्वीकार गरिन् तर उपहार शैली मेयरको महिलालाई दबाब भएको भन्दै जहिले पनि महिलालाई दबाब नदिनु भन्दै उत्तर दिइन् । उनले भनिन्, ‘आज गुन्यूचोलो उपहार मलाई दिने तपाईँले हिजो किन निखिल उप्रेतीले जिन्स लगाउँदा दौरा सुरुवाल उपहार दिनुभएन ?’ उनले प्रतिउत्तरमा थपिन्, ‘मान्छेको पहिचान कपडाबाट होइन, म नेपाली हुँ भन्न मन हुनुपर्यो ।’ ज्योतिले थपिन्, ‘एकदम बाठी हुनुहुँदो रहेछ मेयर, यो इन्डाईरेक्ट दबाब पनि हो ।’ ज्योतिले कलाकारले नभै देश नेताहरुले बिगारेको बताइन् ।

जुम्लामा ज्योति मगरको प्रस्तुतिमा निकै अश्लील रुप देखिने होकि भन्ने धेरैले अनुमान गरिरहँदा भने जुम्लामा महोत्सवमा सामान्य वातारवरणमा प्रस्तुति सम्पन्न भयो । तर कडा सुरक्षाका साथ उनलाई मञ्चमा ल्याउने व्यवस्था गरिएको थियोे । यसैगरी उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षले जुम्लाको चन्दननाथ भैरवनाथ ईंगित मायाको चिनो उपलब्ध गराउनुभएको थियो । 

यसैगरी महोत्सवको सवै दिनहरु मध्य शुक्रवार ५ हजारभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएकोछ ।

महोत्सव २३ गते सकिने आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले जानकारी दिए । यसैगरी नायक निखिल उप्रेती, देउडा तथा लोक गायक रेखा जोशी , प्रकाश सोनी,  पाँडे, जिक्री, कर्णाली प्रदेश आइडल हिक्मत शाही, कर्णालीका चर्चित देउडा गायक पूर्णप्रसाद धिताल, कालिकोटका कमला धामीसहित चर्चित कलाकारहरुले मनोरञ्जन दिइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया