जीवन दाइ र शैक्षिक हलिया

 असोज १४, २०७५ आइतबार १२:५१:५ | जानुका दुवाडी

अघिल्लो शनिबार कार्यालयबाट घर फर्किंदै गर्दा पछाडिबाट कसैले मेरो नाम लिएर बोलायो । कसले बोलायो भनेर पछाडि फर्किएँ । ‘दाइ तपाई ?’ मेरो मुखबाट अचानक निस्कियो । एउटै स्कुलमा पढेका मभन्दा तीन कक्षा सिनियर गाउँका जीवन दाइ (नाम परिवर्तन) हुनुहुँदो रहेछ । 

‘तिमी कता यतातिर ?’ दाइ बाटो क्रस गरेर म भएतर्फ आउनुभयो । ‘म त यतै छु नि, अनि तिमी के गर्छौ हिजोआज ?’ हामीहरू एकछिन त्यहीँ उभिएरै गफियौं । दाइसँग लगभग ९/१० वर्षपछि अचानक काठमाडौंमा भेट भएको थियो । 

उसो त कहिलेकाहीँ फेसबुकमा सन्चो विसन्चो, कुराकानी हुन्थ्यो । तर प्रत्यक्ष भेट भने धेरै पछि नै भएको थियो । दाइ सानैदेखि पढाईमा अब्बल हुनुनुन्थ्यो । गाउँका सबैले राम्ररी चिन्थे । मैले मेरो बारेमा सबै भनें । अनि तपाई चाहिँ के गर्नुहुन्छ नि यता भनेर सोधें । दाइले ‘केही पनि गर्दिन यत्तिकै बेरोजगार छु’भन्नुभयो । उहाँले खैरो रङ्को सर्ट र पाइन्ट लगाउनुभएको थियो र प्लाष्टिकको झोलामा केही बोक्नुभएको  थियो । 

उहाँले केही पनि गर्दिन भनेको पत्यार लागेन र फेरि सोधें, केही त गर्नुहुन्छ होला, नत्र पढाइ सकिएपछि काठमाडौंमा यत्तिकै त के बस्नुहुन्थ्यो र ? उहाँले बनावटी मुस्कानसहित‘ केही पनि छैन त्यस्तै हो’ भन्नुभयो । उहाँले बताउन नचाहेको मैले बुझें र फेरि सोधिनँ । 

तपाई कता बस्नुहुन्छ ? मैले अर्को प्रश्न गरें ? उहाँले ‘कोटेश्वर’ भन्नुभो र मलाई सोध्नु भो । 
‘म बस्ने यहीँ अलि माथि हो । ल जाउँ कोठामा चिया खाएर जानुहोला, सबैसँग भेटघाट पनि हुन्छ ।’
कोठामा पुगेपछि मैले सोधें, यता के कामले आउनुभको थियो ? 

के हुन्थ्यो र अरू हामी नेपालीहरूको उही त हो नि, खाडी पठाउने म्यानपावर खोज्दै हिँडेको  । उहाँ एकछिन गम्भीर हुनुभयो । 
मैले फेरि सोधेँ तपाईंले त मास्टर्स सकाउनु भएको होइन ? दाइले जवाफ दिनुभयो, हो दुई वर्ष भयो मास्टर्स सकाएको त । तर के गर्नु मास्टर्स सकाए पनि, नसकाए पनि जानु पर्ने त आखिर खाडी नै रहेछ । 

उत्तर नसकिदै मैले फेरि प्रश्न गरें,  तपाईंले अंग्रेजी विषयमा मास्टर्स गर्नुभको होइन ? टाउको हल्लाएर हो को संकेत जनाउनुभो । 

मैले अर्को प्रश्न गरें, यतै टिचिङ गर्नु भएको भए नि त हुन्थ्यो नि ? 
उहाँले भन्नुभयो, गरेको हो नि टिचिङ दुई वर्ष जति उतै गाउँमा । तर केही होला जस्तो लागेन । 
हो र ? टिचिङमा पनि राम्रै छ होइन र ? मैले सोधें ।

उहाँ हाँस्नु भयो र भन्नुभयो, अरू त राम्रै छ पैसा दिँदैनन् ।  अनि उहाँले आफ्नै एउटा घटना सुनाउनुभयो ।
...

बीएड सकिएपछि मैले जागिर गर्नुपर्ने भयो । स्वभाविक रूपमा पढेको शिक्षा संकाय भएकोले र पहिलेको पनि थोरै अनुभव भएकोले मैले गर्नुपर्ने भनेको शिक्षण पेशा नै थियो । एउटा पत्रिकामा छापिएको विज्ञापन पढेर बनस्थलीको एउटा विद्यालयमा जागिर खोज्न गएँ । सोध्दै विद्यालयको गेटसम्म पुगें । गेट छिर्ने बित्तिक्कै विद्यालयको सजावट, पार्किङमा राखिएका पहेंला गाडी, खेलका सामग्री, वरिपरि यताउति हिँडिरहेका विद्यार्थी र शिक्षकहरू देखेर मेरा आँखा तिरिमिरी भए । 

एकजना खाइलाग्दो, कोट पाइन्ट र टाइमा सजिएको सर मेरो नजिकै आए । मैले दुई हात जोड्दै गुडमर्निङ गरें । काठमाडौंमा जागिर खोज्दै कुनै अफिसमा गएको यो पहिलो पटक थियो अनि यसरी गुडमर्निङ भनेको पनि । उनले मलाई शिक्षकको जागिरको लागि आउनुभएको हो ? भनेर सोधे । मैले हो भनें । 

फेरि उनले ल यता आउनुहोस् भने र म उनको पछिपछि प्रिन्सिपल लेखिएको कोठामा गएँ । मैले अघि नै अनुमान लगाए जस्तै उनी त साँच्चै प्रिन्सिपल नै पो रहेछन् । कोठामा पुगेपछि उनले मलाई बस्न आग्रह गरे । मेरो निवेदन र बायोडाटा मागे । मैले सबै बुझाएँ । म एकदमै उत्साहित र अलिअलि डराएको पनि थिएँ । 

डराएको यसकारण कि काठमाण्डौंमा यो मेरो जागिरको पहिलो अनुभव थियो । अनि उत्साहित यसकारण कि म केही आयआर्जनको काम पाउँदै थिएँ । प्रिन्सिपलले मलाई एउटा सामाजिकको किताब दिए । त्यसमा मौलिक अधिकार शीर्षकको पाठ पल्टाइदिए र एकछिन बाहिर बसेर तयारी गर्न भने । म किताब लिएर बाहिर निस्किएँ ।

एकछिनपछि अर्को शिक्षक आएर कक्षामा जान भनें । मैले कक्षा लिएँ र कक्षा सकिएपछि प्रिन्सिपलले फेरि मलाई आफ्नो कोठामा बोलाए । नेपाली र अंग्रेजी मिसिएको भाषामा उनले लगातार दश मिनेट एकोहोरो बोल्दै गए । बीचबीचमा म पनि एसएस र ओके ओके भन्दै सुनिरहें । 

उनले मेरो कक्षा राम्रो भएको कुरा बताए । अनि मैले मावि सामाजिक शिक्षकको जागिर पाएकोमा बधाइ पनि दिए । यी सबै त मेरो लागि महत्वपूर्ण र खुशीको कुरा नै थियो ।

तर योभन्दा पनि उनले कतिखेर तलबको कुरा गर्छन् भनेर सोच्दै थिएँ । फेरि पनि उनले लगभग आधा घण्टा जति स्कुलका नियमहरू सुनाए । त्यसपछि ३० ओटा बुँदामा मैले पालना गर्नुपर्ने नियमहरू समेटिएको एउटा कागजको पाना हातमा थमाए र तल सही गर्न लगाए । जसमा बिहान ८ः३० मा विद्यालय आइपुग्नुपर्नेदेखि लिएर, कहिलेकाहीँ शनिबार पनि आउनुपर्ने र त्यसको पैसा नपाउनेसम्मका थिए । 

त्यसपछि उनले थप्दै गए र कहिलेकाहीँ फिस उठ्न सकेन भने तबल दुई÷तीन महिनामा एकैचोटी पाउने पनि भन्न भ्याए । अझै पनि मेरो प्रतीक्षा थियो,  तलब चाहिँ कति होला ? । उनले नभनेपछि अन्त्यमा मैले नै मुखै फोरेर सोधें । 

उनी  एकछिन रोकिए र भने, सुरुमा हाम्रो स्कुलले दिने स्केल पाँच हजार हो । त्यसमा पाँच सय अलाउन्स पाइन्छ र तपाईंको कक्षा राम्रो भएको भएर हामीले पाँच सय थपिदिने विचार गरेका छौं । 

यो सुनेर एकछिन त म अक्क न बक्क परें । उनले भनेका सबै हिसाबहरू जोडें । सबै जोड्दा पनि ६ हजारभन्दा माथि जाँदो रहेनछ । म एकछिन केही बोलिन । म केही नबोलेको देखेर उनले फेरि भने, डन्ट वरि सर राम्रो गर्दै जानु भयो भने अर्को वर्ष तपाईंको बारेमा स्कुलले केही न केही सोच्ने छ । 

म केही नबोली सुनिरहें । उनको कुरा सकिएपछि हस सर भन्दै म बाहिर निस्किएँ । ढोकाबाट बाहिर निस्किँदा प्रिन्सिपलले ओके सर सि यू टुमोरो भनेको मात्रै सुनें । 

जाँदा तीन तला गन्दै माथि गएको भवन तल झर्दा एकै तला जस्तो लाग्यो । कतिखेर बाहिर पुगें, थाहै भएन । आँखामा झल्झली नाच्न थाले अघि सर्ट, पाइन्ट र टाइमा सजिएका शिक्षक शिक्षिकाहरू, कागजमा सही गर्न लगाइएका तीस ओटा लिखित आचारसंहिताहरू र दुइतीन महिनापछि पाउने ६ हजार तलब  । 

अनि सम्झिएँ डढेलधुरामा हलियाप्रथा, दाङ र कैलालीमा कम्लरी प्रथा अन्त्य भयो भनि सुनेका समाचारहरू । गेटबाट बाहिर निस्कँदै गर्दा सोचे कति होलान् यो देशमा यसरी फिस उठेपछि तीन महिनामा ५ हजारको दरले तलब खाने शैक्षिक हलियाहरू । जो कहिल्यै न समाचारको हेडलाई बन्न सके न चर्चाको विषय नै ?
...

दाइको यति कुरा सुनेपछि म केही बोल्न सकिनँ  र बिस्तारै भने दाइ एकछिन बस्दै गर्नुस् ल म चिया बनाएर ल्याउँछु । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया