एम्बुस बनेको सिद्धबाबाको बाटोलाई सरकारले हेरेर बस्न सक्दैन : मन्त्री महासेठ

 जेठ २३, २०७५ बुधबार १८:१०:१५ | देव पचभैया

पाल्पा – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिद्धबाबाको बाटो एम्बुस बनेर उभिएको बताउनुभएको छ । 

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकमा पर्ने सिद्धबाबा क्षेत्रको प्राविधिक टोलीसहित बुधबार स्थलगत अध्ययन गर्नुभएका मन्त्री महासेठले  एम्बुस बनेर बसेको सडकलाई सरकारले हेरेर बस्न नसक्ने बताउनुभयो । तीन महिना भित्रमा समस्या समाधानको प्रयासमा काम  थाल्ने  भन्दै उहाँले उपयुक्त विधिको खोजी गरेर अघि बढ्ने जनाउनुभयो । पहाड काट्ने वा सुरुङमार्ग जेमा उपयुक्त हुन्छ त्यसैमा सरकार अघि बढ्ने मन्त्री महासेठको भनाई छ ।  मन्त्री महासेठले बुटवलको चिडियाखोलादेखि दोभानसम्मको बाटोमा भएको जोखिम कम गर्न आर्थिक वर्ष २०७५/७६ को सुरुदेखि नै काम थाल्ने बताउनुभएको हो । ।

एक हप्ताभित्र प्रतिवेदन बुझाउन सम्बन्धित विभागका प्रतिनिधिहरुलाई निर्देशन दिँदै उहाँले पहिलेको सरकार जस्तो अहिलेको सरकार नरहेकाले काम हुनेमा विस्वास गर्न सबैसँग आग्रह गर्नुभयो ।  

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले सिद्धबाबा क्षेत्रमा पहाडै चलेकाले  जटिल अवस्थामा रहेको बताउनुभयो । पहाडै चलेकाले सुरुङमार्ग पनि विकल्प नहुन सक्ने भन्दै महानिर्देशक श्रेष्ठले विदेशी विज्ञ गुहार्नुपर्नेमा जोड दिनुभयो । ‘यो गर्छु, त्यो गर्छु मात्रै हावा कुरा गरेर हुँदैन’, उहाँले भन्नुभयो बिस्तृत अध्ययन गर्नुपर्छ ।
 
सरकारले बजेट भाषणमा उल्लेख गरेको सात स्थानमा सुरुङ मार्ग बनाउने योजना अन्र्तगत सिद्धबाबा खण्ड पनि एक हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया