ट्वींकलले तनुश्रीकाे पक्षमा बाेलिन्, रवीना टण्डनले ट्वींकलका श्रीमान् अक्षयमाथि आरोप लगाइन्

 असोज १७, २०७५ बुधबार १९:१८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा यतिबेला अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले १० वर्षअघि फिल्म ‘हर्न ओके प्लीज’ को सेटमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि खैलाबैला मच्चिएको छ । 

यतिबेला बलिउडका केही कलाकार तनुश्रीको पक्षमा बोलिरहेका छन् भने कोही नाना पाटेकरको पक्षमा उभिएका छन् । तीमध्ये केही कलाकार त यस विवादबाट बच्नका लागि अनेक बहाना बनाएर पछि हटिरहेका छन् ।

यसैबीच अभिनेत्री रवीना टण्डनले उनकै एक जामानाकी समकक्षी अभिनेत्री ट्वींकल खन्ना र अक्षय कुमार भड्किन सक्ने खालको अभिव्यक्ति दिएकी छिन् । 



केही दिनअघि अभिनेत्री ट्वींकल खन्नाले तनुश्री दत्ताको पक्ष लिँदै बयान दिएकी थिइन् । तर तनुश्रीले ट्वींकलमाथि नै आरोप लगाउँदै भनेकी थिइन्, ‘तपाईँले मेरो पक्षमा बोलिरहनु भएको छ, तर तपाईँकै श्रीमान् भने नाना पाटेकरका साथ फिल्म ‘हाउसफुल ४’ को छायाँकन गरिरहेका छन् ।’ 

रविना टण्डन पनि लामो समयदेखि बलिउड फिल्म उद्योगमा हुने यौन हिंसाका विरुद्ध आवाज उठाउदै आइरहेकी छिन् ।

यसैबीच रवीनाले बलिउड अभिनेताका श्रीमती र प्रेमिकाहरुलाई निशाना बनाएर भनेकी छिन्, ‘बलिउडमा यौन हिंसा यसकारण हुन्छ किनकि यहाँ यस्ता श्रीमती र प्रेमिकाहरु छन् जो आफ्ना श्रीमानको खराब आचरण थाहा पाएर पनि चुपचाप छन् । उनीहरुका श्रीमान अभिनेत्रीहरुका साथ फ्लर्ट गरेर उनीहरुको करियर बर्बाद गरिदिन्छन् र पछि अर्की अभिनेत्री राखेर उनलाई रिप्लेस गरिन्छ ।’

रवीनाले अगाडि भनेकी छिन्, ‘जब हाम्रो आफ्नै फिल्म उद्योगका व्यक्तिहरु आफ्नाहरुलाई सुरक्षित राख्न असफल हुन्छन्, तब हामी आफ्नालाई नै गुमाउन थाल्छौं । हामी महिला सशक्तिकरणको विषयमा फिल्म त बनाउछौं तर ती केवल देखावटी मात्रै हुन् । तनुश्री दत्ताको घटनामा चुपचाप लाग्नु पीडादायक हो ।’ 

रवीनाले यस ट्वीटमा ट्वींकल वा अन्य कुनै अभिनेताहरुका श्रीमतिको नाम नलिए पनि बलिउडको तीतो यथार्थलाई बाहिर ल्याएकी छिन् । एक समयमा रवीना टण्डन र अक्षय कुमार लामो समयसम्म प्रेम सम्बन्धमा थिए । दुवैले धेरै फिल्ममा  सँगै काम पनि गरेका थिए । 

त्यस समयकी निकै नै ग्ल्यामरस अभिनेत्री रवीना र अक्षयबीचको पे्रम सम्बन्धको चर्चा जहीँतहीँ थियो । त्यसैले सबैले अक्षय र रवीनाको छिट्टै विवाह हुने अनुमान पनि लगाइसकेका थिए । 

तर अक्षयले अचानक रवीनासँग ब्रेकअप गरेर रवीनाकै मिल्ने साथी ट्वींकलसँग विवाह गरेका थिए । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया