विद्यालयबाटै शिक्षक गायब !  परिवार भन्छन्,– ‘कि सास चाहियो कि लास’!

 असोज १८, २०७५ बिहिबार ८:३१:२२ | राजु लामिछाने
unn.prixa.net

रुकुम (पूर्व) – पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको आधारभुत विद्यालय पेल्मा–२ मा अध्यापन गराउनुहुने शिक्षक मखन केसी बेपत्ता भएको झन्डै डेढ महिना भयो । उहाँको अहिलेसम्म अत्तोपत्तो छैन । ‘कि सास चाहियो कि लास’ भन्दै आफन्तजनले बुधबारदेखि सदरमुकाम रुकुमकोटमा आन्दोलनका कार्यक्रम सुरु गरेका छन् ।

बुधबार परिवारजनले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना दिएका छन् । वास्तविकता सार्वजनिक र दोषीमाथि कारवाही नभए सम्म धर्ना, अनसन र दबाबका चरणबद्ध कार्यक्रम गरिने उनीहरुले बताएका छन् । सिस्ने गाउँपालिका वडा नं ६ घर भएका शिक्षक मखन केसी गएको २३ वर्षदेखि यो विद्यालयमा पढाउँदै आउनुभएको थियो ।

गएको साउन ३१ गते विद्यालय परिसरमै स्थानीय केही व्यक्तिद्वाारा कुटिएका शिक्षक केसीको स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको र भदौ १४ गतेदेखि बेपत्ता बनाइएको परिवारको भनाई छ । घटनाको कारण भने अझै खुल्न सकेको छैन । कुटपीटको आरोपमा यही गाउँपालिका–१० का विकास वुढामगर (खीन्टे)लाई प्रहरीले पक्राउ गरेको  र घटनामा संलग्न अन्य दुईजना फरार रहेको प्रहरीले जनाएको छ । 

बेपत्ता भएको खबर पछि दुई पटक खोज्न गए पनि फेला पार्न नसकेको उहाँका दाइ मोहन केसीले बताउनुभयो । बेपत्ता भएको महिना दिन पुग्दासमेत न लास भेटियो न सास, दाजु मोहन के.सी.ले भन्नुभयो – बाध्य भएर आन्दालनमा उत्रिनु पर्यो । सरकारी पेशामा संलग्न व्यक्ति यसरी बेपत्ता हुँदा राज्यले खोजी गर्न चासो नदेखाएको बेपत्ता मखनको श्रीमती तुलसी केसी बताउनुहुन्छ । बेपत्ता शिक्षक केसीका २ छोरी १ छोरा रहेका छन् । 

परिवारले खोज्न जाँदा स्थानीय सरकारले वास्ता नगरेको र उल्टै दोषीलाइ संरक्षण गरेको परिवारको आरोप रहेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका २ का वडा अध्यक्ष सतसीङ बुढाले केसीको खोजी भैरहेको र यस घटनाले आफू निकै दुखि भएको प्रतिक्रिया दिनुभयो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभएको छ । 


     

अन्तिम अपडेट: बैशाख ३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया