कहाँ बाढी आउँदैछ भन्ने जानकारी तीन दिनअघि नै थाहा हुने

 जेठ २४, २०७५ बिहिबार १०:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यस वर्ष नदी र खोलानालामा बाढी आउने जानकारी तीन दिनअघि नै थाहा हुने भएको छ  । गएको वर्षहरुमा २४ घण्टासम्म कुन ठाउँमा बाढी जान्छ भन्नेबारेमा जानकारी दिने गरेकोमा यो वर्ष तीन दिनअघि नै बाढीको पूर्वानुमान गर्ने तयारी भएको बाढी पूर्वानुमान शाखाका बाढीविज्ञ विनोद पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सुरु भएको घोषणा गर्नेबित्तिकै चौबीसै घण्टा कार्यालय खोलेर कुन ठाउँमा बाढी जाने सम्भावना छ भन्ने बारेमा जानकारी दिने शाखाको तयारी छ । शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर पनि बाढीको अवस्थाबारे थाहा पाउन सकिनेछ । यस्तै सामाजिक संजाल फेसबुक र ट्वीटर प्रयोगकर्ताले पनि बाढीको सम्भावनाबारे थाहा पाउन सक्नेछन् ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेकाले पनि यो वर्ष उनीहरुसँग सहकार्य गरेर अघि बढ्ने शाखाको तयारी रहेको पराजुलीले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाले आउँदो हप्ता नेपालमा मनसुन सुरु हुने अनुमान गरेका छन् ।

सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने गर्छ । अहिले प्रिमनसुनी गतिविधि सक्रिय भएकाले यो वर्ष जुन १० मा नै मनसुन सुरु हुने मौसमविद्को अनुमान छ । जसअनुसार अबको ३ दिनमा मनसुन सुरु हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया