साउदीमा सामाजिक सञ्जालको प्रयोग : होस नपुर्‍याए ५ वर्ष जेल, ३० लाख रियाल जरिवाना

 असोज २१, २०७५ आइतबार १८:३:४ | उज्यालो सहकर्मी

काठमाडौं – तपाईँ साउदीमा हुनुहुन्छ ? सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी अपनाउनु होला । नत्र  जेल सजाय र जरीवाना पनि हुनसक्छ । 

फेसबुक, इमो, म्यासेन्जर लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा साउदीको ‘एन्टी साइबर क्राइम ल’ विपरीत भएमा पाँच वर्षको जेल सजाय र ३० लाख साउदी रियाल वा दुवै सजाय हुन सक्छ । 

नेपाली दूतावास साउदीले वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका सबै नेपाली कामदारलाई सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी अपनाउन अनुरोध पनि गरेको छ । 

सामाजिक सञ्चालको प्रयोग गर्दा यी उपाय अपनाउनुपर्छ 

साउदीमा हुनुहुन्छ भने आफ्नो फोनबाट अनावश्यक मेसेज वा कुरा नगर्नुहोस् । फेसबुक, इमो, ह्वाटयाप, म्यासेन्जर लगायत माध्यममा साउदीको कानुन विपरीत कुनै कुरा अपलोड, शेयर कमेन्ट गर्न हुँदैन । 

आफ्नो फोन सकेसम्म अरुलाई चलाउन नदिनुहोस् । साथै आफैंले पनि साउदीमा अपरिचित व्यक्तिलाई फोन गरेर अनावश्यक कुरा गर्न हुँदैन । 

हुण्डी लगायत गैरकानुनी माध्यमबाट कारोबार गर्न हुँदैन । घरमा पैसा पठाउँदा पनि वैधानिक माध्यामकै प्रयोग गर्नुपर्छ । 

त्यसैगरी साउदीमा बसेर आफ्नो धार्मिक क्रियाकलाप कोठा बाहिर गर्न हुँदैन । साउदीको धर्म, सँस्कृति र राजनैतिक व्यवस्थाको विपरीत पनि जान हुँदैन । इस्लाम लगायत कुनै पनि धर्म, जात, संस्कृति, समुदाय रीतिरिवाज वा अन्य कुनै पनि प्रचलनको अवहेलना गर्न हुँदैन । 

रक्सी र लागुपदार्थदेखि बच्नुहोस्

साउदीमा रक्सी पिउन, उत्पादन गर्नु, बेचबिखन र ओसारपसार गैरकानुनी हो । त्यस्तै, लागुपदार्थको कारोबार, महिलाप्रतिको दुव्र्यहार इस्लाम धर्मप्रतिको अवहेलना हो । र यी कार्य गैरकानुनी हुन् । 

कसैको व्यक्तिगत एवं संस्थागत मानहानी हुने तथा सार्वजनिक बेइज्जत र अपमान गर्न हुँदैन । धर्ना, जुलस तथा राजनैतिक सभा, सम्मेलन र गोष्ठी गर्न पाईंदैन । 

स्वदेश फर्किंदा होस् वा साउदी जाँदा त्यहाँको कानुनले निषेध गरेको जस्तै सुन जस्ता कुनै पनि सामान बोक्न हुँदैन । यदि बोकेमा सामान जसको भए पनि सजायको भागिदार आफैं भइन्छ । 

ट्राफिक नियमको पालना गर्नुहोस्

साउदीमा ट्राफिक नियमको उल्लङघन गरेकै कारण धेरै नेपालीले जेल सजाय भोगिरहेका छन् । त्यसैले स्थानीय ट्राफिक नियम पालना गर्नुपर्छ । गर्मी तथा सुख्खा हवापानी भएकाले प्रशस्त पानी पिउनु पर्छ । एसी कतिसम्म चलाउने भन्ने कुराको पनि ख्याल राख्नु पर्छ । 

त्यसैगरी करार अवधि सकिएपछि बस्न हुँदैन । करार अवधि सकिनुअघि नै एक्जिट भिसा लगाउने व भिसा नवीकरण गर्ने भन्ने कुरामा प्रष्ट हुनपर्छ । साउदीमा करार सम्झौताभन्दा फरक काम र कम्पनीमा काम पनि गर्न हुँदैन ।

कफला पद्धति भएकाले रोजगारदातासँग नै सबै अधिकार निहीत हुन्छ । करार सम्झौताभन्दा फरक कम्पनीमा काम गर्दा बिरामी हुँदा, स्वदेश फर्किन पनि समस्या हुन्छ । 

परिचयपत्र विना साउदीमा तीन महिनाभन्दा बढी बस्न पाइदैन । त्यसैले समयमै परिचयपत्र बनाउने र साथैमा राख्ने गर्नुपर्छ । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया