प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाडाैं – नेपाली कथा लेखनमा सुस्तता छाइरहेको बेला आख्यानकार राजेन्द्र पराजुलीको भर्खरै प्रकाशित पुस्तक ‘अघोरी’ ले नयाँ उर्जा दिने काम गरेको साहित्यकारहरुले बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक अन्तरसंवादका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘यो संग्रहमा विविध खालका पात्र छन्, विविध खालका कथा छन् । यसमा राजनीतिक विषयवस्तु मात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगति र यथार्थ पनि प्रतिबिम्बित भएका छन्,’ लेखक नयनराज पाण्डेले भने, ‘वर्तमानमा जे भइरहेको छ, हामीले त्यही लेख्ने हो । राजेन्द्रजी र म साथी पनि हौँ । हामी दुवैका कतिपय कथामा उस्तै भावना, उस्तै हेराई पाउँछु म ।’
साहित्यकार अर्चना थापाले ‘अघोरी’का धेरैवटा कथा पत्रकारिताको हेराईबाट, पत्रकारको बुझाईबाट आएजस्तो लाग्ने टिप्पणी गरिन् । ‘सायद जुन कुरा पत्रकारितामा लेख्न सम्भव छैन, त्यो कथाका रुपमा आएको होला’, लेखक थापाले भनिन्, ‘कतिपय कथाले मलाई निकै तान्यो, तर कतिपयमा चाहिँ इन्डिङ ट्रिकी भएन जस्तो लाग्यो । यसमा यस्तो लेखिदिए हुन्थ्यो नि, यस्तो आए पनि हुन्थ्यो भन्ने लागिरह्यो ।’
लेखक पाण्डेले चाहिँ ‘अघोरी’का कतिपय कथालाई ‘ओपन इन्ड’ छाडिदिने शैली आफूलाई मन परेको उल्लेख गरे । ‘त्यसलाई पाठकहरुले आफै बुझून् भन्ने लेखकको मनसाय होला’, उनले भने ।
छलफलको सञ्चालन लेखक एवम् पत्रकार यज्ञशले गरेका थिए । उनले र अन्य सहभागीले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा कथाकार पराजुलीले आफूलाई जे कुराले छोयो, त्यही लेखेको बताए । ‘म काँठको कथा लेख्छु, किनभने म काँठे हुँ । पत्रकारिताको कुरा लेख्छु, किनभने म पत्रकार पनि हूँ । मैले जे देखेँ, त्यो लेखेँ,’ उनले भने, ‘कसरी लेखेँ, किन लेखेँ, त्यसबारे बताइरहन मलाई त्यति रुची लाग्दैन । कथा आफैले उत्तर दिन सकोस् भन्ने लाग्छ ।’
किताब पब्लिसर्सद्वारा प्रकाशित ‘अघोरी’ कथाकार पराजुलीको सातौँ कृति हो । कार्यक्रममा लेखकले सहभागीका विभिन्न जिज्ञासाको जवाफ दिएका थिए । छलफलका क्रममा नेपाली साहित्य लेखनका विविध पाटोबारे पनि चर्चा भएको थियो ।