नगरपालिकामा रुँदै महिला

 असोज २४, २०७५ बुधबार ११:२७:५४ | विना न्याैपाने

मागेको र चिताएको कुरा पुगोस् भनेर टाढाटाढाबाट समेत मान्छे काठमाडौंको दक्षिणकाली मन्दिर पुग्छन् । तर यही मन्दिर रहेको ठाउँमा बस्ने महिला र उनका छोराछोरीले भने चिताएको पाउन त परको कुरा, पाउनै पर्ने हक समेत पाउन सकेका छैनन् । भगवानबाट हैन, आफ्नै श्रीमान र बाबुबाट । 

कुरो केही दिनअघिको हो, म कार्यालयको कामको सिलसिलामा दक्षिणकाली नगरपालिका पुगेको थिएँ । कार्यालयमा कर्मचारी आआफ्नै काममा व्यस्त थिए । स्थानीयबासिन्दा पनि आ–आफ्नै समस्या लिएर पुगेका थिए । कतिपयलाई घरजग्गाको समस्या मिलाउनु थियो भने कसैलाई बाटोघाटो अनि साँध सीमानाको ।

जब म उपमेयर बसन्ती तामाङको कोठामा पुगेर बसेको मात्रै के थिएँ, त्यहीबेला त्यहाँ केही मान्छे आइपुगे । सँगै रहेकी एक महिला रोइरहेकी थिइन् । उनको शीरदेखि पाउसम्म हेरिरहें । सुँक्कसुक्क गर्दै आँखाबाट झर्दै गरेका आँसु सलले पुच्छ्दै गरेकी छन् ।  लुगा लगाई अनि कुरा गराईबाट लाग्यो कि उनी निकै चिन्तामा छिन् । पीडितसँग सबै कुरा सोध्ने आँट आएन । अनि नजिकै बस्ने एकजना महिला मेरो नजिक आइपुगिन् । 

अरु आआफ्नै सुरमा कुरा गरिरहेको मौका छोपेर मैले ती महिलासँग कुरा गरें । उनी तिनै रोइरहने महिलाकी कान्छी छोरी रहिछन् । कुराकानीपछि सबै कुरा बुझ्ने मौका पाएँ ।

दक्षिणकाली घर भएकी ती महिलाका ६ जना छोरी र १ जना छोरा छन् । श्रीमानले अर्की श्रीमती लिएर पाटन नजिक बस्ने गरेका छन् । जेठी श्रीमती पहिल्यैदेखि एक्लै दुःख गरेर छोराछोरी पढाउने र घर व्यवहार चलाउने गर्दै आएकी छिन् ।

अर्कै श्रीमती लिएर बसेका श्रीमानले अझै अंश दिएका छैनन् । त्यसैले उनी जसरी पनि छोरोलाई अंश दिलाएरै छाड्ने पहल गर्दैछिन् । छोराले पनि अंश चाहियो भनिरहेको छ । कसैगरी पनि बावुले अंश नदिएपछि छोराले अंश दिलाईपाउँ भन्दै नगरपालिकामा निवेदन दिएका छन् ।
 
कुनै जागिर नभएकाले विदेश जानुभन्दा बरु नेपालमा नै केही गर्छु भन्ने छोराको सोच छ । आमा, छोरा र छोरीहरु त्यही अंश पाउँ भन्नकै लागि नगरपालिका आएका रहेछन् ।

उपमेयरसँग कुरा गर्दै गर्दा छोराको पनि आँखा रसाएका थिए । तर उनी आँसु लुकाउन खोजिरहेका थिए । 

बाबु पनि त्यहाँ आएका, साथमा कान्छी श्रीमती पनि । बाबुले रिसाउँदै भने, “नगरपालिकामा आएर निवेदन दिनेले अदालतसम्म जाँदा हुन्छ, म मुद्दा लड्न तयार छु ।” उनले जेठी श्रीमतीलाई पनि सबैको सामु गाली गरे, “इज्जत नभएकीले खुब सम्पत्ति चाहिंदैन भन्थिस् नि, अहिले छोरालाई उचालेर मुद्वासम्म हाल्ने भइस् हैन ।” 

श्रीमानको वचन सुनेर ती महिला झन् बढी रुन थालिन् । न्यायिक समितिको बैठकले अब दुई हप्ता पछि  आउनु भनेपछि अरु सबै बाहिर निस्के । भित्र ती महिला, छोरा र कान्छी छोरी बसे । रुँदै गरेकी ती महिलाले भनिन् “नानी मलाई जस्तो त मेरो शत्रुलाई पनि नपरोस् ।”

“मैले जति रुन त कसले परेको छ होला र ?” उनको यो यो शब्दले उपमेयरका आँखा पनि रसाए । 

मेरो मन पनि अमिलो भयो । पढेलेखेका मान्छे बस्ने काठमाडौंमै त यस्तो हालत छ भने झन् देशका दुर्गम ठाउँ अनि अशिक्षितहरुको अवस्था कस्तो होला ? जस्तो लाग्यो । एकछिन आफू कहाँ छु भन्ने लाग्यो ती महिलाको कुराले । उपमेयरसँग कुरा गर्न  गएको मलाई कुराकानी गर्ने मूड नै भएन । ती महिलाको अवस्था देखेर यति धेरै सोच्न पुगेछु कि कतिबेला आँखाबाट आँसु निस्किएछ पत्तै भएन ।
 
एउटी महिला जब आफ्नो जन्म घर छोडेर कर्म घर भनेर कसैको साथ लाग्नु पर्ने बाध्यता छ । त्यही कर्म घरमा जसको साथ लागेर गयो, उसैको साथ र सहयोग नपाए पछि कस्तो हुन्छ भन्ने त छाडेर जानेले के महसुस गर्न सक्ला र  खै ?

यदि सबैजना बुझ्ने हुन्थ्ये भने त आज हाम्रो समाजमा कुनै पनि महिला पीडित भएर न्याय माग्न कसैको ढोकासम्म पुग्नु पर्ने थिएन होला । तर बिडम्बना दिन प्रतिदिन यस्ता खालका घटना बढिरहेका छन । न्यायको लागि जतिसुकै ढोका ढक्ढक्याए पनि न्याय पाएको अवस्था छैन । तर पनि उपमेयरले जसरी पनि न्याय दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।  


 

अन्तिम अपडेट: असोज २८, २०७५

तपाईको प्रतिक्रिया