परदेशबाट होस गुमाएर फर्किएकाहरु

 असोज २४, २०७५ बुधबार १३:४०:५० | मोहन पौडेल

काठमाडौं – नवलपरासीको एउटा बस्ती । पातलो बस्तीबीचको दुईतले घर । सबै कोठामा झ्यालका पल्ला लगाइएको छैन । प्लाष्टर गरिएको छ । रङ लगाउन बाँकी छ । रङ नलगाइएको घर जस्तो उदास देखिन्छ, यो घरभित्रको कथा त्योभन्दा पनि उदास छ । 

भनिन्छ छोरी भएको घर नै उज्यालो हुन्छ । त्यस्तै लागेको थियो सीता (नाम परिवर्तन) सार्की लाई पनि । कारण, उहाँको घरमा १० जना छोरी जन्मिए । छोरीहरु हुर्किंदासम्म घर उज्यालै थियो । तर हुर्किएका छोरीहरु आफ्नो बाटो लाग्न थालेपछि घर सुनसान हुँदै गयो । 

जेठी छोरीलाई बावुआमाले नै बिहे गरिदिए । तीन छोरीले आफैं बिहे गरे । बाँकी ६ जनामध्ये दुई जना अहिले पनि पढ्दैछन् । तीनजना बुटवल र भैरहवामा काम गर्छन् । 

काम र पढाइले छोरीहरु टाढा हुँदाभन्दा कमाउन विदेश गएकी साइँली छोरी सीमा (नाम परिवर्तन) होस गुमाएर फर्किंदा सीताको घरको रङ उडेको छ । सीमा त्यतिबेला १७ वर्षकी हुनुहुन्थ्यो । बावुआमाको दुःख बुझ्न थालेपछि उहाँलाई विदेश जाने बाध्यता आइलाग्यो । खेल्ने र रमाउने उमेर बाँकी नै थियो ।

उहाँ साउदी हानिनुभयो कमाउने बाटो खोज्न । छोरी पहिलो पटक विदेश गएको २०६५/६६ सालतिर हो । तर ठ्याक्कै मिति सीतालाई सम्झना छैन । तीन वर्षको बिदामा घर आउँदा सीमाले आफूलाई साहुको छोराले टाउकोमा हिर्काएको सुनाउनुभयो । ठूलो चोट थिएन अनि असर पनि । छोरीले सुनाइन्, अनि सीताले पनि सुन्नु मात्रै भयो । 

तीन तीन वर्षमा दुई पटक बिदामा घर आएर फर्किनुभयो सीमा । त्यतिञ्जेल उहाँ सञ्चै हुनुहुन्थ्यो । तेस्रो पटक साउदी गएको केही महिनामै सीमा काठमाडौंको अस्पतालमा रहेको खबर आयो । ‘त्यतिबेला उसको बुवा घरमा हुनुहुन्थ्यो ।

फोन गर्नेले तपाईं यो नाम गरेको मान्छेको को हो भनेर सोध्यो, मैले आमा भनेपछि बुवा आएपछि फोन गर्न लगाउनु भनेर राख्यो’ सीताले सुनाउनुभयो । खाना खाएर गाउँतिर घुम्न निस्किएका श्रीमान् फर्किने बित्तिकै सीताले त्यही नम्बरमा फोन गर्न लगाउनुभयो ।

फोनमा छोरी बोलिन् । छोरीले फोनमा रुँदै ‘बुवा मलाई लिन आउनु’ भनेपछि परिवार नआत्तिने कुरै भएन । काठमाडौं आएका उहाँका बुवाले छोरीलाई अस्पतालमा भेट्नुभयो । कसरी अनि कसले अस्पतालमा ल्यायो भन्ने परिवारलाई अझै पनि थाहा छैन । 

सीताले छोरी बिरामी भनेको सुनेदेखि सामान्य बिरामी होला भन्ने सोच्नुभएको थियो । अस्पालबाट सीमालाई बुवाले अर्को दिन घर पु¥याउनुभयो । तेस्रो पटक साउदी उडेको ६ महिना पनि पुगेको थिएन सीमा घर फर्किनुभयो । तर पहिलाको भन्दा फरक भएर । घरको आँगन टेक्ने बित्तिकै सीमा आमा भनेर रुनुभयो । 

अनुहार मलिन थियो । एकोहोरो हुने, कसैसँग नबोल्ने, अरबी भाषामा बोल्न थाल्नुभयो सीमा । ‘त्यहाँ विदेशमा आमालाई मामा भन्छन रे नि त त्यही भएर उसले मलाई नै बोलाकी होली हुन त’ नबुझ्ने भाषा बोल्दा पनि सीतालाई छोरीले आफैंलाई बोलाए जस्तो लाग्छ । 

कहिलेकाहीँ सबै ठिक भए जस्तो कुरा पनि गर्नुहुन्थ्यो । घर व्यहारका सल्लाह पनि गर्नुहुन्थ्यो बुवाआमासँग । उहाँ बिरामी भएर फर्किएको केही समयमा घर बनाउने सल्लाह भयो । सीमाले आफूले भने जस्तै घर त्यो पनि आफैंले भनेको ठाउँमा बनाउनुपर्ने भन्दै जिद्दी गर्न थाल्नुभयो । 

उहाँको कुरा घर बनाउन हाजिरामा दिनुपर्ने थियो । तर बुवाआमाले त्यसो गर्दा खर्च धेरै हुँदै भन्दै ठेक्कामै दिने बताए । त्यसपछि त उहाँको अवस्था झनै बिगिँ्रदै गयो । उहाँ बुवाआमा र बहिनीहरुसँग बोल्न छोड्नुभयो ।

खानको टुङ्गो थिएन । सरसफाइमा ध्यान दिन छोड्नुभयो । कोठाबाट निस्किनु हुन्नथ्यो । खाना खान धेरै कर गर्दा छेउमा जे छ त्यही लिएर झम्टिन थालेपछि उहाँलाई सम्हाल्न परिवारलाई गाह्रो पर्न थाल्यो । 

उहाँका बारेमा थाहा पाएपछि नवलपरासीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका रिटर्नी स्वयमसेवक रामु भुसालले मनोसामाजिक परामर्शकर्तालाई उहाँको घरमा पु¥याउनुभयो परामर्श र उपचार गरेर सुधार्न सकिने आशामा । तर उपचार त परैको कुरा, बोल्न सक्ने अवस्था पनि भएन । 

औषधि नै नखाएपछि उपचार भएन 

उपचारले समस्या ठिक हुन्छ कि भन्ने आशमा भुसालकै आग्रहमा परिवारले सीमालाई चितवनको भरतपुरसम्म ल्याइयो उपचारका लागि । तर घरबाट अस्पताल ल्याउने क्रममा एम्बुलेन्सको सिसा फुटाइदिएकी सीमाले औषधि खान पनि मान्नुभएन ।  

डाक्टरले उहाँको टाउकोमा साना साना छिर्का देखिएको बताए । डाक्टरले केहीमा ठोकिएको वा केही वस्तुले टाउकोमा चोट पर्ने गरी हिर्काएको हुन सक्ने बताएपछि सीताले पहिलो पटक बिदामा आउँदा छोरीले भनेका कुरा सम्झिनुभयो ।

सीमाले उहाँलाई पहिलो पटक साउदीबाट फर्किंदा साहुको छोराले आफूलाई हिर्काएको सुनाउनुभएको थियो । एक हप्ता अस्पतालमा राख्दा पनि औषधी खान नमानेपछि डाक्टरले उपचार गर्न नसक्ने भन्दै घर फर्काइदिए ।

अहिले पनि उहाँको अवस्था उस्तै छ । कोठाबाट निस्किनुहुन्न् । छिमेकीहरु आए भने किन आएको ? भन्दै सोध्नुहुन्छ । ‘खै के गर्न सकिएन अब के पो गर्ने होला र, औषधी नखाई केही हुँदैन । उसलाई औषधी खुवाउन सकिने अवस्था नै छैन’ सीतालाई छोरीलाई पहिलाको जस्तै बनाउन सकिन्छ भन्ने आश पनि कम हुँदै गएको छ । 

उहाँको भन्दा भौगोलिक रुपमा केही पर छ सञ्जयको घर । तर कथाव्यथा सबै मिल्दो छ । कमाउन विदेश गएका सञ्जय पनि विदेशबाट होस गुमाएरै फर्किनुभयो ।

प्रहरीको जागिर खोसिएपछि परदेश

सञ्जय  द्वन्द्वकालका प्रहरीमा जागिरे हुनुहुन्थ्यो । नेपाल प्रहरीबाट जागिर थालेका सञ्जय  सशस्त्र प्रहरी बल बनाएपछि त्यतै जानुभयो । सशस्त्रको जागिर खाइरहेका बेला घर बिदामा आएका सञ्जय बिदा सकेर फर्किन एक दिन ढिलो हुँदा जागिर गयो । 

भइरहेको जागिर खोसिँदाको पीडाले सञ्जयले अरु विकल्प देख्नुभएन । त्यही दोधारमा कतार पुगेका सञ्जयका ३९ महिना त्यतै बिते । समय बिते पनि तलब बढेन । त्यही झोंकमा सञ्जयले कतार बसाई सधैंका लागि टुङ्ग्याएर घर फर्किनुभयो । 

घरमा परिवार थियो । तर कामको अवसर थिएन सञ्जयको सोचाइमा । त्यही सोचाइले उहाँलाई कतारबाट फर्किएको एक वर्षमा मलेसिया पुर्‍यायो । मलेसिया काम र कमाइ ठिकै थियो । तर ६ महिना नपुग्दै सञ्जयलाई समस्या सुरु भयो । 

सँगै बस्ने साथीहरु बोल्दा अनि गीत बजाउँदा उहाँलाई टाउको दुख्न थाल्यो । उनीहरुले रेकर्ड गरेर सुनाउने कुराले सञ्जयलाई झर्को लाग्न थालेपछि रातभरी निद्रा परेन । काममा पनि जान सक्नुभएन । समस्या बढ्दै गएपछि कम्पनीसँग बिदा लिएर सञ्जय घर फर्किनुभयो । 

जहाजको आवाज सुन्दा भाग्थे सञ्जय 

विदेशबाट फर्किएका सञ्जयले देखाउने व्यवहारले परिवार छक्क पर्‍यो । ‘जहाजको आवाज सुन्ने बित्तिकै आयो आयो भन्दै कुद्थ्यो अनि अनि दाह्री भएको मान्छे देख्ने बित्तिकै मलाई मार्न आयो भन्थ्यो’ सञ्जयकी आमा भन्नुहुन्छ । 

नवलपरासीका मनोसामाजिक परामर्शकर्ता सुमित्रा चौधरीका अनुसार विदेश जानेहरुलाई सोचेको जस्तो नहुँदा, परिवारको सम्झना धेरै आउँदा डिप्रेसन हुने समस्या धेरै हुन्छ । लामो समयसम्म डिप्रेसनको समस्या रही रहँदा मानसिक सन्तुलनमै असर पर्छ । ‘त्यही असरले व्यक्तिलाई आफू भएको ठाउँ र त्यो परिवेशले तर्साए जस्तै हुन्छ’ सुमित्रा भन्नुहुन्छ । सञ्जयलाई पनि यस्तै भयो ।  

तनावका कारण मनोसामाजिक समस्यामा परेका सञ्जय घर फर्किने बित्तिकै उपचार सुरु भयो । उपचारसँगै गरिएको मनोसामाजिक परामर्शले सञ्जयको अवस्था फेरिएको छ । उहाँ अहिले घरको काम सम्हालेर बस्नुभएको छ । 

मनोसामाजिक परामर्शकर्ता सुमित्रा चौधरीका अनुसार यस्ता समस्या परामर्शसँगै उपचार गर्दा ठिक हुन्छन् । ‘एकोहोरो हुने, खाना खान नखोज्ने, पिर चिन्ता मात्रै लिइरहने समस्यालाई हामी सामान्य समस्या भन्छौं जुन परामर्शपछि ठिक हुन्छ’ चौधरी भन्नुहुन्छ ‘तर यदि व्यक्तिले आत्महत्याका बारेमा सोच्ने वा त्यस्तै व्यहार देखाउन थाल्यो भने चाहिँ उपचार नै गर्नुपर्छ ।’

सञ्जय उपचारपछि ठीक भए । तर सीताकी छोरीको उपचार गर्न नसक्दा अवस्था सुध्रिन सकेन । नवलपरासीमा मात्रै पछिल्लो ४ वर्षमा वैदेशिक रोजगारीका कारण २ सय १८ जनालाई मनोसामाजिक समस्या देखिएको नवलपरासी सुस्ता पश्चिममा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन गरिरहेको इन्द्रेणी सामाजिक विकास मञ्चले जनाएको छ ।

तीमध्ये २८ जनाले आत्महत्याको प्रयास गरेका थिए भने १८ जनाको मानसिक सन्तुलनमै समस्या देखिएको छ । बाँकी १ सय ७२ जनामा चिन्ता लिइरहने समस्या देखिएको छ । यस्ता आत्महत्या गर्ने र मानसिक सन्तुलनमा समस्या देखिनेहरुलाई उपचारसँगै परामर्श दिइन्छ भने पीर चिन्ता लिइरहने समस्या मनोसामाजिक परामर्शले न्यूनीकरण हुन्छ । 

अन्तिम अपडेट: कात्तिक २५, २०७५

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया