आज रेखाको ६४औं जन्मदिन,  यस्तो छ उनको रहस्यपूर्ण जीवन

 असोज २४, २०७५ बुधबार १६:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडकी सदावहार अभिनेत्री रेखा आज ६४औं जन्मदिन मनाइरहेकी छिन् । 

उनको जन्म सन् १९५४ अक्टोबर १० मा भारतको चेन्नइमा भएको थियो । रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो । 

उनका बुवा जेमिनी गणेशन चर्चित तमिल अभिनेता थिए र उनकी आमा पुष्पावल्ली तेलुगु अभिनेत्री थिइन् । बाल्य अवस्थादेखि नै फिल्मी माहोलमा हुर्किएकी रेखाका लागि फिल्मी दुनियाँमा पाइला टेक्न त्यति असहज भएन । 

उनले १५ वर्षको उमेरदेखि नै फिल्मी करियर सुरु गरेकी थिइन् । रेखाले बलिउडकी सफल र सदावहार अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाएकी छिन् । 

६४ वर्षीया रेखा रहस्यपूर्ण जीवन बिताउँदै आएकी छिन् । बलिउडका महानायक अमिताभ बच्चनसँगको सम्बन्ध, उनले सिउँदोमा लगाउने सिन्दुर, उनको वैवाहिक जीवनलगायत थुप्रै कुरा रहस्यपूर्ण नै छन् । 

आजको समयमा फिल्महरुबाट टाढा रहेर पनि रेखाको सुन्दरता र उनको व्यक्तित्वका अगाडि बलिउडका अन्य अभिनेत्रीको सुन्दरता आज पनि फिक्का लाग्छ । 

यस्ताे छ उनको जीवनकाे रहस्य

 

रेखाले आजसम्म पनि लगाउँछिन सिउँदोमा सिन्दुर

रेखाले पहिलो विवाह विनोद मेहराका साथ गरेको खबरहरु मिडियामा सार्वजनिक भएको थियो । तर रेखाले एक अन्तरवार्तामा यो खबरलाई अफवाह मात्रै भएको भन्दै विवाहको खबरलाई अस्वीकार गरेकी थिइन् । 

सन् १९९० मा रेखाले उद्योगपति मुकेश अग्रवालसँग विवाह गरेकी थिइन् । तर यि दुवैको वैवाहिक सम्बन्ध लामो समयसम्म टिकेन । मुकेश अग्रवालले विवाहको ७ महिनामै आत्महत्या गरेका थिए । 

तर आज पनि रेखा सिउँदोमा सिन्दुर भरेर विभिन्न अवार्ड समारोह र कार्यक्रममा उपस्थित हुन्छिन् । रेखा विवाहअघि पनि ऋषि कपूर र नीतू कपूरको विवाहमा सिन्दुर लगाएर गएकी थिइन् । रेखाले अमिताभ बच्चनको नामको सिन्दुर लगाउने गरेका खबरहरुको चर्चा भए पनि उनको सिन्दुरको वास्तविक रहस्य आजसम्म खुलेको छैन । 

अभिनेता अमिताभ बच्चनसँगको सम्बन्ध 

रेखाको जीवनमा नवीन निश्चल, जितेन्द्र, विनोद मेहरा, विश्वजीत र शत्रुघ्न सिन्हा जस्ता त्यस समयका चर्चित अभिनेतासँग प्रेम सम्बन्धको चर्चा भएको थियो । तर अभिनेता अमिताभ बच्चनसँगको प्रेमसम्बन्ध सबैभन्दा धेरै चर्चित थियो । 

यी दुवैले कहिले पनि आफूहरुबीचको सम्बन्धको बारेमा खुलेर केही पनि बोलेका छैनन् । यी दवैैबीच के भएको थियो भन्ने कुरा अझै पनि रहस्यपूर्ण नै छ । 
मिडियाहरुका अनुसार रेखा अमिताभ बच्चनकै नामको सिन्दुर लगाउने गर्छिन् । 

खबरहरुका अनुसार ७० को दशकमा रेखा र अमिताभबीच प्रेम भएको थियो । रेखा स्वयमले आफ्रलाई एउटी कालो वर्णकी अभिनेत्रीबाट ग्ल्यामरस डिवा बनाउनमा अमिताभ बच्चनको महत्वपूर्ण योगदान रहेको स्वीकार गरेकी छिन् । 

आज पनि विभिन्न अवार्ड समारोह र कार्यक्रममा यी दवैै सहभागी भए भने सबैको नजर अमिताभ र रेखामाथि नै हुने गर्छ । अमिताभ र रेखाले फिल्म ‘सिलसिला’ मा अन्तिम पटक एकअर्कासँग काम गरेका थिए । 

यस फिल्ममा अमिताभकी श्रीमती जया बच्चन पनि छिन् । फिल्म ‘सिलसिला’ लाई रेखा र अमिताभको वास्तविक जीवनसँग पनि जोडेर हेर्ने गरिन्छ । 

रेखाको बेडरुमको रहस्य

रेखासँग विवाह भएको ७ महिनामै श्रीमान मुकेश अग्रवालले आत्महत्या गरेका थिए । यो घटना हँुदा रेखा अमेरिका गएकी थिइन् । रेखा अमेरिकाबाट फर्किँदासम्म मुकेशको परिवार तथा मिडियामा आएका खबरहरुमा मुकेशले रेखाकै कारण आत्महत्या गरेको बताइएको थियो । 

यस घटनापछि फिल्म उद्योगले रेखालाई एक्ली बनाइदिएको थियो । उनलाई फिल्महरुमा काम पाउन गाह्रो भएको थियो । त्यसपछि रेखाले मानिसहरुसँग भेटघाट गर्न नै कम गरेकी थिइन् । 

उनी आफ्नो  बंगलामा एक्लै बस्छिन् । केही खास व्यक्तिहरुलाई मात्रै उनी आफ्नो निवासमा आमन्त्रित गर्छिन् ।  मिडियामा सार्वजनिक खबरहरुका अनुसार रेखाको बेडरुममा घरमा कामगर्ने सहयोगीहरुलाई समेत जाने अनुमति छैन । 

रेखाको रुममा उनकी सेक्रेटरी फरजानालाई मात्रै जाने अनुमति छ । फरजानालाई रेखा बहिनी मान्छिन् । फरजाना रेखाका लागि विगत तीन दशकदेखि काम गर्दै आइरहेकी छिन् । 

बुवाले कहिल्यै अपनाएनन् रेखालाई

रेखाका बुवा जेमिनी गणेशन दक्षिण भारतीय चर्चित अभिनेता थिए । उनले चारवटा विवाह गरेका थिए । रेखाकी आमा पुष्पावल्ली तेलुगु अभिनेत्री थिइन् । तर जेमिनी गणेशनले रेखाकी आमालाई कहिल्यै श्रीमतीको दर्जा दिएनन् । 

यही कारण रेखालाई उनका बुवाले छोरीको रुपमा अपनाएनन् । तर सन् १९९० मा रेखाले तिरुपति मन्दिरमा मुकेश अग्रवालसँग विवाह गर्दा उनका बुवा आर्शिवाद दिन गएका थिए । 

फिल्मी करियर

रेखाले सन् १९६६ मा दक्षिण भारतीय फिल्म ‘रंगुला रत्नम’ बाट अभिनय करियर सुरु गरेकी थिइन् ।

त्यस फिल्ममा रेखा बाल कलाकार थिइन् ।  रेखाले करिब १७५ हिन्दी र दक्षिण भारतीय फिल्ममा काम गरिसकेकी छिन् । ति मध्ये फिल्म ‘खूबसूरत’, ‘खून भरी माँग’, ‘खून पसिना’, मुकद्दरका सिकन्दर’ र ‘उमराव जान’ निकै सफल फिल्म मानिन्छन् ।

रेखा तीन फिल्मफेयर र एक राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भइसकेकी छिन् । रेखालाई भारतीय सरकारले पद्यश्री पुरस्कारले समेत सम्मान गरिसकेको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया