‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि बहानामा रोकिनु हुँदैन’

 असोज २५, २०७५ बिहिबार १६:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनै पनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ । 

बिहीबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समतिले आउँदो ५÷७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसँग माग समेत गरेको छ । 

समितिले प्रेस वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी प्रदेश २ बासी यो आयोजना कुनै पनि बाहानामा गुमाउन चाहन्नौं । अब पनि कुनै बाहानामा आयोजना अल्झाई राख्ने अधिकार कसैलाई छैन् । तत्काल निर्माण कार्यलाई अघि बढाउन र ५÷७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसँग माग गर्दछौं । सबैखाले चलखेलका विरुद्ध हामी संघर्षमा उत्रिन तयार छौँ । साथै हामीले स्थानीय स्तरबाट गर्नुपर्ने समन्वयका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छौँ ।’

कार्यक्रममा बोल्दै टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको १४७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प भएको गुनासो पोख्नुभयो । उनले भन्नुभयो, ‘यो बस्तीको कारणले विकास निर्माण नरोकियोस् । सरकारले बरु बस्तीको उचित व्यवस्थापन गर्नुपर्छ ।’

त्यस गाउँमा १६ घर धुरी लालपुर्जाविहीन रहेको सुनाउँदै उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा ११० बिघा नम्बरी जग्गा छ । वातावरणभन्दा पनि विनासकोबारेमा अध्ययन गर्न आवश्यक छ । अनावश्यक रुपमा जंगल फडानी गर्नुहुँदैन् । वन विनास हुन्छ भनेर बहस गर्ने विषय पनि होइन । यो योजना अन्तै सर्ने पनि सम्भावना र विकल्प छैन् ।’

आयोजना प्रमुख ओम शर्माले  परियोजना निर्माणको प्रगति विवरणबारे प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो, ‘अहिले नदी नियन्त्रणको काम भैरहेको छ । सेनासँग समन्वयको कार्य पनि जारी छ । र, जग्गाको मुआब्जा वितरण गर्ने काम पनि जारी छ ।’

त्यस्तै उहाँले एक लाख २८ हजार रुखमध्ये २५ हजारमात्रै सालको रुख रहेको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘तीन लाख २५ हजार चाहिँ पोल काठ छन् । बस्तीको सहज स्थानन्तरणका लागि पनि हामीले अध्ययन गरिरहेका छौँ ।’

नागरिक उड्डययन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा धेरै समस्याहरु रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘टीआईएमा एकमात्रै धावन मार्ग छ, त्यस्तै नजिकै पहाड छन् । यतिमात्रै होइन हाम्रो विमानस्थलमा भिजिबिलिटी पनि कम छ । यसले गर्दा अबको एक दशकभित्र विमान अवतरणमा ठूलो समस्या आउँदैछ । यसतर्फ सचेत हुनुपर्छ ।’

त्रिभुवन विमानस्थलले मात्रै अब अन्तर्राष्ट्रिय उडानहरु धान्न नसक्ने भएका कारण चाँडो भन्दा चाँडो निजगढलगायत अन्य अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, ‘हाम्रो सरकारले अब पर्यटनको विकासबाट देशको ग्रामिण विकासलाई विकास गर्ने नीति लिनुपर्छ ।’ 
    
काठमाडौंबाट नजिकैको क्षेत्र रहेकोले निजगढ देशकै लागि उपयुक्त विमानस्थल बन्ने उहाँको विश्वास छ । उहाँले थप्नुभयो, ‘हामी अब इण्डियन एयर स्पेसमा मात्रै कहिलेसम्म निर्भर रहने ? निजगढ विमास्थल पूर्व–पश्चिम ल्याण्डिङ भएको कारणले हवाई अवतरणमा सुरक्षित रहनेछ ।’ उहाँले फाष्ट ट्रयाक र निजगढ विमास्थलले देशको मुहार फेर्न सक्ने पनि विश्वास दिलाउनुभयो । 

नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले २०५० सालमा राष्ट्रिय हवाई नीति सार्वजनिक भएयता २०५३ मा संशोधन भएको सुनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘२०५० सालयता यो विमानस्थल निर्माणको काम सरकारले अभ्यासको रुपमा मात्रै गरिरहेको छ । अहिले विभिन्न बाधा तथा व्यवधानहरु अघि सारेर योजना नै असफल बनाउन लागिपरेका छन् । तर, नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा हवाई मार्गलाई स्थापित् गराउन यो योजनाले भूमिका निर्वाह गर्नेछ ।’

नेपाल अन्तर्राष्ट्रिय हवाई सञ्जालबाट छुटेको बताउँदै उहाँले भन्नुभयो, ‘२४ लाख रुख काट्ने भनेर बजारमा गलत समाचार प्रवाह गरिएको छ । यस्तो अफवाहले विकास हुँदैन् ।’ विदेशी प्राविधिकको टोलीले पनि लोकेशन मन पराएको कारण ‘एभरेष्ट एयर रुट’ को माध्यमले संसारलाई चिनाउन सजिलो बनाउने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । 

त्यस्तै कार्यक्रममा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको कारण कसैले पनि विरोध गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘यो आयोजनालाई सफल बनाउनको लागि सबैले सहयोग गर्नुपर्छ । किनकी यो आयोजना एसियाकै उत्कृष्टमा परेको छ ।’

आचार्यले फास्ट ट्रयाक निर्माणको विषयमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजगढ विमास्थललाई जोडेर फास्ट ट्रयाक छिटोभन्दा छिटो निर्माण गर्न पनि सरकारको ध्यान जाओस् । विकासको नयाँ पहल चालोस् । विकास र वातावरणको सन्तुलन मिलाउन सक्नुपर्छ ।’

उहाँले वातावरणलाई एउटा कारण देखाएर वातावरणजीवीहरु अहिले निजगढ विमानस्थल निर्माण गर्नु हुँदैन भनेर चलखेलमा लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशमा तीन किसिमका वातावरणसम्बन्धीका मान्छेहरु छन् । एकथरी छन्–वातावरणकर्मी, अर्को वातावरण विकासवादी, त्यस्तै अर्कोथरि छन्–वातावरणजीवी । यीमध्ये वातावरणजिवीले चलखेलमा लागेर विमानस्थल बनाउन नदिने षड्यन्त्र गरिरहेका छन् ।’


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया