पन्ध्र पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?

 असोज २६, २०७५ शुक्रबार १६:३:३२ | रासस
unn.prixa.net

आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ? 

काबुलका मतदाताले आउँदो अक्टोबर २० मा हुने चुनावमा यस्तो समस्या झेल्दैछन् । अखबार–आकारको मतपत्र छ र त्यहाँ छापिएका ८०० जना उम्मेदवारको तस्बिरबाट मन परेका उम्मेदवारको खोजी गर्नुपर्नेछ । त्यो पनि एकजना मात्र । 

एकजना उम्मेदवार छान्न यस्तो समस्या झेल्दैछन् अफगानिस्तानका मतदाता । अर्कातर्फ विद्रोहीले मत हाल्न नजान र गएमा आक्रमण गर्ने भनी दिएको धम्की झेल्नु त छँदैछ । तर पनि अफगान नागरिकले तालिवानहरुबाट निरन्तर खतरामा रहेको यस शहरमा मतपत्रमा आफ्ना उम्मेदवार छनौट गर्न निकै मिहिनेत गर्नुपर्नेछ । 

अक्टोबर २० मा अफगानिस्तानमा संसद्को तल्लो सदनको चुनावमा हुँदैछ । त्यस चुनावमा झण्डै दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् । ढिलागरी आह्वान गरिएको अफगानिस्तानको संसद्को तल्लो सदन वोलेसी जिर्घामा प्रतिनिधित्वको निर्वाचनका लागि ठूलो सङ्ख्यामा उम्मेदवारी दिइएको छ । 

ठूलो सङ्ख्यामा उम्मेदवारी दिएकाले यति काबुलका मतदाताका लागि भने अप्ठेरो परेको छ । यहाँका मतदाताले एकजनालाई मात्र मत हाल्नुपर्नेछ तर मतपत्रमा उम्मेदवारको सङ्ख्या भने ८०० जना रहेको छ । 

उनीहरुलाई १५ पृष्ठको त्यस मतपत्रबाट छानेर एकजनालाई मात्र मत दिन गाह्रो हुनसक्ने समाचारमा जनाइएको छ । काबुलबाट प्राप्त समाचारमा भनिएको छ त्यो मतपत्र एउटा ट्याबलोइड अखबारको आकारमा छ । 

यो मतदान प्रक्रिया बढी नै जटिल हुने देखिएको छ । जसका कारण उम्मेदवारहरुले मतदाताहरुलाई आफ्नो पहिचान दिन नम्बर याद गराएर प्रचारप्रसार गर्ने गरेका छन् । प्रचारका क्रममा उम्मेदवारहरुले मतपत्रमा आफ्नो तस्बिर कति पेजमा छ र कस्तो छ भनेर मात्र चिनाउने गरेका बताइन्छ । 

साथै उनीहरुले मतपत्रमा छापिएको आफ्नो तस्बिर पनि टेलिभिजन र पत्रिकामार्फत प्रचार गर्ने गरेका छन् । प्रचार सामग्रीमा उम्मेदवारहरुले ‘यो तस्बिर यति पेजमा छ हेर्नुहोला’ भनेर आफ्नो तस्बिर चिनाउने गरेका छन् ।

तर यस चुनावमा पनि पहिलेजस्तै तालिवान र इस्लामिक स्टेटले कारबाही गर्ने जनाएका छन् । उनीहरुले मतदान केन्द्रमा पनि हमला गरिरहेका छन् । उनीहरुले मतदान गर्न नजान सर्वसधारण नागरिकलाई भनिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया