दार्चुलामा प्रथम अपी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन हुने

 असोज २९, २०७५ सोमबार १४:२७:४० | जयराज अवस्थी
unn.prixa.net

दार्चुला – नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा दार्चुलामा प्रथम अपी प्रिमियर लिग (एपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ  । 

अपी हिमाल गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजना र मल्देश क्रिकेट क्लब (एमसिसि) को सह–आयोजनामा कार्तिक ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो । 

अपी हिमाल गाउँपालिका–४, सम्देलीचौड खात्तीमा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ७ टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि अक्सनमार्फत असोज ३० गते खेलाडी छनौट गरिने प्रतियोगिताका निर्देशक खडक लोथ्यालले जानकारी दिनुभयो । 

दार्चुला जिल्लाको क्रिकेटको इतिहासमै पहिलोपटक अक्सनमार्फत खेलाडी छनौट गरिन लागिएको उहाँले बताउनुभयो । 

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ७५ हजार  तथा द्वितीय पुरस्कार रु ४० हजार ट्रफी र प्रमाणपत्र राखिएको छ ।  यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले नगद रु  ५ हजार पदक र प्रमाणपत्र पाउनेछन् । 

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर,उदीयमान खेलाडी तथा अनुशासित खेलाडीले जनही रु  २ हजार ५०० नगद पुरस्कारका साथै पदक र प्रमाणपत्र पाउने जनाइएको  छ । 

प्रतियोगिता कार्तिक १४ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताको उद्घाटन कार्तिक ७ गते दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आथित्यमा हुने भएको छ ।  

साथै उद्घाटन समारोहमा प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, मान बहादुर धामी र नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द विशिष्ट अतिथि रहनुहुने छ ।  
 

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया