आईसीसीले लगायाे श्रीलंकाली पूर्व-क्रिकेटर सनथ जयासूर्यामाथि अनियमितताको आरोप

 असोज २९, २०७५ सोमबार १९:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले श्रीलंकाली पूर्व क्रिकेटर सनथ जयासूर्यामाथि अनियमितताको आरोप लगाएको छ । 

आईसीसीको भ्रष्टाचारविरोधी युनिटले जयासूर्याले २ वटा नियम तोडेर अनियमितता गरेको आरोप लगाएको हो । जयासूर्याले भ्रष्टाचारविरोधी युनिटलाई काममा सहयोग नगरेको र प्रमाण नष्ट गरेको आरोप लगाएको छ । 

आईसीसीको भ्रष्टाचारविरोधी युनिटले उनलाई सफाईका लागि १४ दिनको समय दिएको छ । 

युनिटले श्रीलंकाली क्रिकेटमा अनियमितता भएको भन्दै छानबिनका लागि जयासूर्यासँग उनले प्रयोग गरिरहेको फोन मागेको थियो । तर श्रीलंकाका पूर्व खेलकुद मन्त्रीसमेत रहेका पूर्व क्रिकेट कप्तान जयासूर्याले समयमा नै युनिटलाई आफ्नो फोन उपलब्ध गराएका थिएनन् । 

सन् २०१२ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका जयासूर्या पछि खेलाडी छनोट समितिको सदस्य बनेका थिए । तर उनले २ वर्षअघि नै छनोट समितिको सदस्यबाट पनि राजीनामा दिएका थिए ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया