गोरखामा लगानी भित्र्याउन डाक्टर बाबुराम भट्टराईको पहल

 असोज ३०, २०७५ मंगलबार १९:४३:५६ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखामा स्वदेशी तथा बाह्य लगानी प्रवर्द्धनका लागि गोरखा पुर्ख्याैली थलो भै हाल जर्मनीमा बस्दै आउनुभएका रामप्रताप थापाको संयोजनमा समिति बनाइएको छ । 

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् प्रतिनिधिसभाका सांसद डाक्टर बाबुराम भट्टराईको आयोजनामा मंगलबार काठमाडौंमा भएको भेलाले गैरआवासीय नेपाली संघका संरक्षक थापाको संयोजनमा संयन्त्र समिति बनाएको हो ।

छलफलले गोरखालाई विकास र आर्थिक समृद्धिको हिसावले देशकै नमूना जिल्ला बनाउने अठोट गरेको छ । त्यसलाई कार्यान्वयनको दिशामा लैजानका लागि समिति बनाइएको छ । 

समितिमा एनआरएनका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कृष्ण लामिछाने, फणिन्द्र पन्त, ऋषि ढकाल, वसन्तचन्द्र मरहट्टा, राजेन्द्रराज पन्त, गोपालबाबु श्रेष्ठ, पदम गुरुङ सदस्य रहनुभएको छ । 

समितिमा गोरखा उद्योग वाणिज्य संघ, गोरखा चेम्बर अफ कमर्श र शिशिर भट्टलाई प्रतिनिधिका रुपमा राखिएको छ । थापा नेतृत्वको संयन्त्र समितिको विज्ञ समूहमा डाक्टर स्वर्णिम वाग्ले, डाक्टर लक्ष्मीप्रसाद देवकोटा र डाक्टर दिनेशचन्द्र देवकोटा रहनुभएको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताउनुभयो । 

संयन्त्र समितिको सल्लाहकारमा डाक्टर भट्टराईसहित सांसद सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका मन्त्री रामशरण बस्नेत, गोरखाबाट प्रतिनिधित्व गर्ने सबै साँसद, पालुङटार र गोरखा नगरपालिकाका मेयर रहेका छन् । 

गोरखा क्षेत्र नम्वर २ का सांसद समेत रहनुभएका बाबुराम भट्टराईको संयोजन भएको छलफलमा गोरखामा सम्भावित लगानीको क्षेत्रका बारेमा वक्ताहरुले आफ्ना भनाई राख्नुभएको थियो । 

छलफलमा लिगलिगे दौडलाई अन्तर्राष्ट्रियकरण गर्ने, गोरखाको उत्तरी भेगमा जडिबुटी उद्योग, कस्तुरी पालनको सम्भावनाबारे चर्चा भएको भट्टराईका स्वकीय सचीव पोखरेलले जानकारी दिनुभयो । 

यस्तै लिगलिगकोट, सिरानचोक, अजिरकोट, बारपाक, सितागुफा, भिमसेन थापा जन्मस्थल, मनकामना, शहिद लखन हुँदै गोरखा दरबारसम्मको पर्यटकीय सर्किट निर्माण लगायतबारे पनि छलफल भएको थियो । 

छलफलमा गोरखाबाट निर्वाचित जनप्रतिनिधि, एनआरएनका अध्यक्षसहित विदेशमा पेशा व्यवसाय गर्दै आएका र देशका विभिन्न भागमा रहेका गोरखालीहरुको सहभागिता रहेको थियो । 

प्रचूर सम्भावना भएर पनि विकासका दृष्टिले पछि परेको गोरखालाई विकासको नमूना जिल्लाका रुपमा विकास गर्न छलफल गरिएको डाक्टर भट्टराईले बताउनुभयो । 
अबको एक दशकभित्र गोरखाको कायापलट गर्ने उहाँको दावी छ । त्यसका लागि संयन्त्र समितिले विज्ञ सहितको सहभागितामा लगानीको क्षेत्र पहिचान गर्नेछ । त्यसपछि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा लगानी भित्राउने काम शुरु हुने डाक्टर भट्टराईले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Bidur Thapa

    Oct. 18, 2018, 5:35 a.m.

    पहिला जनताको दैनिकी परिवर्तन हुने काम गर्नु......वाटोहरु पक्कै बनाउनु,....यस्तो गफ त मान्छेले धेरै अगाडी देखि सुन्दैछन् , कान फुट्नेबेला भैसक्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया