तलब नपाएपछि ऋण काढेर दशैं मनाउदै संग्रहालयका कर्मचारी

 असोज ३१, २०७५ बुधबार ९:२२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा - सरकारले बजेट नपठाउँदा गोरखा संग्रहालयका कर्मचारीहरु ऋण काढेर दशैं मनाउन वाध्य भएका छन् । संघीय र प्रदेश सरकारबिच तालमेल नमिल्दा संग्रहालयले चालु आर्थिक वर्षको बजेट पाउन नसकेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको संग्रहालय अब गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको छ । तर संघीय सरकारले त्यसबारे लिखित जानकारी नगराएको भन्दै प्रदेश सरकारले बजेट रोकेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नै रहेको गोरखा दरबार हेरचाह अड्डाको बजेट भने एक साताअघि नै आएको थियो । बजेट अभावका कारण संग्रहालयका सबै कर्मचारीले दशैंको मुखमा तलव पाउन नसकेको संग्रहालय प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

तलवका लागि मात्रै झण्डै ९ लाख रुपैयाँ चाहिनेमा एक पैसा पनि नआएपछि ऋण काढेर दशैं मनाउनु परेको उहाँको भनाई छ । तलव अभावको मार विशेष गरि करारका कर्मचारीहरुलाई परेको अधिकारीले बताउनुभयो ।

प्रदेश र संघ कतैबाट पनि चालु आर्थिक वर्षको बजेट नआएपछि पटक पटक ताकेका गरेपनि दुई सरकारबिच पर्याप्त समन्वय नहुँदा बजेट नआएको उहाँको भनाई छ । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको गोरखा दरबार र गोरखा संग्रहालयलाई गण्डकी प्रदेश सरकारको जिम्मा दिइएको छ । सोही अनुसार संस्कृति मन्त्रालयले दुबै निकायका लागि बजेट पनि पठाएको छ ।

गोरखा संग्रहालयको बजेट गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा आइपुगेको मन्त्रालयका सचीव कृष्णमुरारी न्यौपानेले बताउनुभयो । तर यी दरबार अब प्रदेशको जिम्मेवारीमा हो भन्ने कागज नआएका कारण बजेट पठाउन नसकिएको उहाँको भनाई छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले भने सामाजिक विकास मन्त्रालयले समयमै आन्तरिक गृहकार्य नगर्दा बजेट निकासा गर्न नसकिएको बताएको छ । समन्वयको अभावकै कारण समयमै बजेट पठाउन नसकिएको मन्त्रालयका सचीव मुक्ति पाण्डेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया