राष्ट्रपति, प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुले कसरी मनाउँदैछन् दसैँ ?

 असोज ३१, २०७५ बुधबार १३:२१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - दसैँले सर्वसाधारणदेखि लिएर देश चलाउने नेता, व्यापारी, कलाकार सबैलाई उत्तिकै छुन्छ । दिनहुँ राजनीतिक छलफलमै व्यस्त भइरहने नेताहरुले भने दसैँको समयमा पनि परिवारलाई सोचेजति समय दिन सक्दैनन् ।

तर पनि दसैँका बेला अन्य भेटघाट र छलफललाई कम गरेरै भए पनि उनीहरु परिवारसँग व्यस्त हुने तयारीमा छन् । केही नेताले भने दसैँलाई पनि आफ्ना कार्यकर्ता भेटघाटको अवसरका रुपमा प्रयोग गर्दै छन् । देशका राष्ट्र प्रमुख, प्रधानमन्त्री एवं राजनीतिक दलका शीर्ष नेताहरु राजनीतिक कार्यक्रमबाट समय निकालेर कसरी मनाउँदैछन् त दसैँ ?

राष्ट्रपति विद्यादेवी भण्डारी 

राष्ट्रपति भण्डारीले विजयादशमीका दिन पारिवारिक सदस्यका साथ मनाउँदै हुनुहुन्छ । 

उहाँले शुभसाईत ९ः५१ मा टीका ग्रहण गर्नुभएपछि राष्ट्रपति कार्यालयका कर्मचारीहरुलाई १२ बजेदेखि टीका लगाईदिने कार्यक्रम रहेको छ । 

यस्तै राष्ट्रपतिबाट टीका ग्रहण गर्न इच्छुक उच्चपदस्थ अधिकारी एवं निजामती, जंगी, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकहरुले १ बजेदेखि २ बजेसम्म टीका ग्रहण गर्न सक्नेछन् । अन्य सर्वसाधारणले दिउँसो २ बजेदेखि ४ बजेसम्म राष्ट्रपतिको हातबाट टीका थाप्न सक्ने राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।  

प्रधानमन्त्री केपी शर्मा ओली 

गएको वर्ष चुनावी तालमेल गर्दै पार्टी एकता गर्नेसम्मको रणनीतिमा व्यस्त बन्नुभएका प्रधानमन्त्री ओली यस वर्ष भने फुर्सदमा हुनुहुन्छ ।

दसैँ मनाउन प्रधानमन्त्री ओली मंगलबार नै गृहजिल्ला झापा पुग्नु भएको छ । झापामा रहेको मौका छोप्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय नेता–कार्यकर्ता र मतदातासँग भेटघाट गर्नुहुने छ । मंगलबार सप्तमीका दिन झापा पुग्नुभएका ओली नवमीको दिन बेलुका काठमाडौँ फर्कने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।  

प्रधानमन्त्रीले दशमीको दिन शुभसाइतको टीका बालुवाटारमै लगाउनुहुने छ । 

आफ्नो टीकाटालो सकिएपछि प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम रहेको पनि अधिकारीले जानकारी दिनुभयो ।  

प्रचण्डले टीका नलगाउने  

२२ वर्षपछि गएको वर्ष टीका लगाउनुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष भने टीका लगाउनु हुने छैन । 

लामो सशस्त्र युद्ध र संविधान निर्माणको काम सकेर प्रचण्डले गत वर्ष सपरिवार दसैँमा टीका लगाएर मनाउनुभएको थियो ।  

गत वर्ष छोरा प्रकाश दाहालको निधन भएको र बरखी नसकिएकाले प्रचण्डले यसवर्ष टीका नलगाउने हुनु भएको हो ।  उहाँ दसैँ अवधिभर बाहिर नजाने र घरमै कार्यकर्ता भेटघाटलगायतका काममा व्यस्त रहने उनको निजी सचिवालयले जनाएको छ ।  

दसैँलगत्तै पार्टीको सचिवालयको बैठक, स्थायी कमिटीको बैठकको तयारी रहेकाले पनि उहाँ दसैँमा काठमाडौंमै रहनुहुने छ ।  

शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सँधैझैँ यस वर्ष पनि काठमाडौंमै दसैं मनाउनुहुने छ । दसैँका लागि काठमाडौंबाहिर जाने देउवाको कुनै कार्यक्रम नरहेकाले घरैमा दसैँ मनाउनुहुने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । 

परिवारका सदस्यका साथै पार्टीका नेता तथा कार्यकर्तालाई उहाँले आफ्नै निवास बुढानीलकण्ठमा टीका लगाइदिनुहुने कार्यक्रम रहेको छ ।  

माधव नेपाल  

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौंमै टीका लगाउनुहुने छ । नेता नेपालले सानिमा शान्ता नेपाल र दाजुसँग टीका ग्रहण गरेर परिवारसँगै समय बिताउनुहुने छ । 

अहिले गृह जिल्ला रौतहटमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा व्यवस्त नेता नेपाल नवमीका दिन बेलुका काठमाडौं आइपुग्नु हुने छ । यो समयमा विभिन्न दुर्गामन्दिरमा पूजा–अर्चना गर्ने र पार्टीका कार्यक्रममा सरिक रहनुहुने उहाँको योजना छ ।  

टीकाको दिन काठमाण्डौमै रहनुहुने र आफ्ना शुभेच्छुक तथा नेता कार्यकर्तालाई टीका लगाईदिनुहुने उहाँका सहयोगी मोहन गौतमले जानकारी दिनुभयो ।

झलनाथको दसैँ घरमै

नेकपाका चौथो वरीयताका नेता झलनाथ खनालले घरमै दसैँ मनाउनुहुने छ । दसैँको टीकामा भाइ–भतिजा, आफन्तजन तथा पार्टीका नेता कार्यकर्ता आउनुहुने भएकाले उहाँहरुसँगै मनाउने खनालले बताउनुभयो ।  

गाउँ–टोलका चियापान कार्यक्रममा सरिक रहने र नेता–कार्यकर्तासँग भेटघाटबाहेक आफ्नो अरु कार्यक्रम नरहेको उहाँले बताउनुभयो ।  दसैँका बेला प्रायः काठमाडौंका डाँडाकाँडा घुम्न जाने गरेको भए पनि यसपाली कहाँ जाने भन्ने योजना बनिनसकेको उहाँको भनाइ छ ।  

बाबुराम भट्टराई 

पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई पनि काठमाडौंमै परिवारका साथ दशैं मनाउने योजनामा हुनुहुन्छ । उहाँले शुभसाईतमै बुबा भोजप्रसाद भट्टराइको हातबाट टीका ग्रहण गर्नुहुने उहाँका स्वकीय सचिव विश्वप्रकास पाण्डेले जानकारी दिनुभयो ।  

अन्य बाहिर जाने कार्यक्रम नरहेकाले काठमाडौंमै परिवारको साथमा दसैँ मनाउनुहुने कार्यक्रम रहेको पाण्डेले बताउनुभयो । 
  

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Damodar Sharma

    Oct. 17, 2018, 3:13 p.m.

    Communists and Goddess Durga's worship? Height of hypocrisy or paakhanda.

  •  0 Reply

तपाईको प्रतिक्रिया