यस्ताे छ प्रधानमन्त्रीकाे टीका लगाउने तालिका

 असोज ३१, २०७५ बुधबार १४:३८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका दिन टीका लगाइदिने र टीका ग्रहण गर्ने समय तय भएको छ ।

विजयादशी अर्थात टीकाको दिन प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट बिहान १० बजे टीका लगाउनुहुनेछ । त्यसपछि उहाँले आफ्नो सचिवालयका कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम छ । उहाँले दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाउने कार्यक्रम पनि तय भएको छ ।

उहाँले टीकाको दिन दिउँसो २ बजे मन्त्री, सांसद, पार्टीका नेता, सुरक्षा अधिकारीहरु, लगायतलाई टीका लगाइदिनुहुनेछ । दिउँसो साढे ३ बजेपछि पार्टीका कार्यकर्ता र सर्वसाधारणलाई तथा साँझ ६ बजेपछि परिवारका सदस्यहरुलाई टीका लगाइदिने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

एकादशीदेखि चतुर्दशी अर्थात कार्तिक ६ गतेसम्म बिहान ९ देखि ११ बजेसम्म उहाँले पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई टीका लगाइदिनुहुनेछ । 

यसैबीच २२ वर्षपछि गएको वर्ष टीका लगाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यस वर्ष टीका लगाउनुहुने छैन । छोरा प्रकाशको निधन भएको १ वर्ष पूरा नभएकाले उहाँले यसपटक टीका नलगाउने उहाँको सचिवालयले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया