भन्सार छल्न खोज्ने ट्रक सामानसहित प्रहरीकाे नियन्त्रणमा

 कात्तिक १, २०७५ बिहिबार ७:५२:८ | रासस
unn.prixa.net

रुपन्देही - सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर-३८ गुल्म रुपन्देहीले बुधबार भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ । 

पराल बोकेको ना२ख ६१७५ नम्बरको मालबाहक ट्रकमा भारतीय सीमानाका झुलेनीपुल क्षेत्रबाट चितवन लैजाँदै गर्दा सामान नियन्त्रणमा आएकोे नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले बताउनुभयो । 

भारतीय बजारबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याउँदै गरेको १४४ पिस कुर्ता सुरुवाल, ९० पिस सारी, २९३ मिटर पर्दाको कपडा नवलपरासीको बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट ट्रकसहित नियन्त्रणमा लिइएको हो । 

पछिल्लो समय नवलपरासी क्षेत्रबाट सुरक्षा निकायकै मिलोमतोमा तस्करी मौलाउँदै गरेको सूचना पाएपछि नम्बर-३८ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक खातीको नेतृत्वमा खटेको टोलीले ट्रकसहित अवैध कपडा नियन्त्रणमा लिएको हो । 

सामान ढुवानीमा प्रयोग गरिएकाे ट्रकसहित भन्सार मूल्य रु १५ लाख ३४ हजार ३०० बराबरको सामान बरामद गरी बुधबारै भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

भन्सार चोरी तस्करी नियन्त्रणका लागि विशेष अभियान चलाएको नम्बर-३८ गुल्म रुपन्देहीले आर्थिक वर्ष २०७५-०७६ को पछिल्लाे साउनदेखि असोजसम्म ९१ लाख ५८ हजार ८३६ रुपैयाँ मूल्य बराबरको अवैध सामान नियन्त्रण गरी भन्सार चलान गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया