छिमेकीको हत्या गरेर फरार अभियुक्त २९ वर्षपछि पक्राउ

 कात्तिक १, २०७५ बिहिबार १७:१:७ | रासस
unn.prixa.net

खोटाङ - जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेका छन् । जग्गा विवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो । 

घटनापछि भारतमा बस्दै आएका चन्द्रबहादुर दशैं मनाउन घर आएका बेला जिल्लाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो । 

पक्राउ परेका कार्कीलाई अदालत खुले लगत्तै फैसला कार्यान्वयनका लागि पेश गर्नेगरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

कर्तव्य ज्यान मुद्दामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैद सजाय हुने फैसला सुनाइएका कार्की भारतको नागाल्याण्ड, सिलोङ हुँदै मिजोरममा गाई फार्म चलाएर बस्दै आएका थिए । 

घटनामा चन्द्रबहादुरका साथै त्यसै ठाउँका केशव कार्की, नरबहादुर भुजेललगायत चार जनामाथि स्थानीय ढकबहादुरको हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । 

ढकबहादुरको हत्यामा संलग्न नरबहादुर र केशवले अदालतको फैसला अनुसार कैद भुक्तान गरिसकेका छन् । पक्राउ परेर हिरासतमा रहेका चन्द्रबहादुर र अर्का एक जना अभियुक्त भने हालसम्म फरार थिए । फरार एक अभियुक्त अझै पक्राउ पर्न बाँकी रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया