सुनिँदैनन् नगराको धुन ! ‘नगराको धुनबिनाको दशैँ खल्लो’

 कात्तिक २, २०७५ शुक्रबार २०:४४:१७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – खेतमा ‘लहलह’ धान झुलेको छ । बारीमा ढकमक्क कोदो फुलेको छ । रात जुनेली । दिन घमाइलो छ । बजारमा बसेका छोराबुहारी, नाति–नातिना पनि घरमा आएका छन् । दशैँको बेला गाउँमा मानिसको चहलपहल पनि बढेको छ । दशैँको छुट्टै रौनक छ । 

तर सुन्दरबजार नगरपालिका–६, का जुठे परियारको मन भने खासै रमाएको छैन, दशैँको उल्लासमय समयमा पनि । 

दशैँको बेला पनि उहाँलाई केही खल्लो महसुस भएको छ । दशैँको बेला ‘नगराको धुन’ सुन्न नपाउँदा केही खल्लो महसुस भएको हो उहाँलाई । 

उहाँका अनुसार केही वर्ष अघिसम्म नौरथा सुरु भएदेखि नै गाउँ–सहरमा नगरा लगाउँथे । नगरा लगाउँदाको दमाहाको धुनले दशैँ आएको आभास गराउँथ्यो । 
‘नौरथादेखि उस्तै परे पूर्णेसम्म नगरा लगाउँथे । नगराको धुन सुन्न पाउँदा दशैँ आएजस्तो हुन्थ्यो । मनमा छुट्टै आभास हुन्थ्यो । अहिले त नगराको धुन सुन्नै पाईँदैन । दशैँ नै सुनसान भएको छ । मलाई त दशैँ नै खल्लो लागेको छ,’ परियारले निराश भावमा भन्नुभयो ।   

जानकारहरुका अनुसार केही वर्ष अगाडि दसँैको सुरुका दिनदेखि नै गाउँ–बस्तीमा दमाहा बजाएर नगरा लगाएको सुन्न सकिन्थ्यो । दशैँको बेला नगरा लगाएको घरमा सुख–शान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । 

दशैँको बेलामा परियार समुदायका मान्छेले घर–घरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय भने हराउँदै गएको छ । 

छैन युवापुस्ताको चासो र चिन्ता   

युवा पुस्ताले चासो नदिँदा, नगरा लगाउनेलाई समाजले पनि राम्रो नजरले नहेरेकै कारण यो प्रचलन बिस्तारै हराउँदै गएको सुन्दरबजारकै ५३ वर्षे भुलबहादुर परियारले बताउनुभयो ।    

‘अहिलेका ठिटाहरु बाजा बजाउनै लाज मान्छन् । बरु अरु समुदायका मान्छेले बाजा बजाएर हिँड्न थालिसके । त्यसैमाथि यो नगरा लगाउने चलन त हराई नै सक्यो नि । नगरा लगाउनेलाई समाजले खासै राम्रो नजरले पनि हेर्दैनन् । त्यसैले युवापुस्ताको त यसमा कुनै चाख नै छैन,’ उहाँले थप्नुभयो ।   

गएको वर्ष दशैँको घटस्थापना देखि नै नगरा लगाउँदै गाउँबस्तीका घर–घरमा पुगेका लमजुङ–फेदीकुना भुत्याहाका भक्तबहादुर परियारले अहिलेको वर्ष नहरा लगाउनुभएन ।  

पोहोर साल गाउँमा रहेका २ सयभन्दा बढि घरधुरीमा नगरा लगाई राम्रै भाग (नगरा लगाएबापत विस्टले दिने दान) उठाउनुभएका उहाँले अहिलेको वर्ष भने नगरा लगाउनुभएन । 

‘बिहान–बिहानै उठी नगरा लगाउँदै घर–घर पुग्नुपर्छ । उमेर पनि ढल्क्यो । नगरा लगाउनै गाह्रो भो । त्यसैले अहिलेको वर्ष नगरा लगाउन सकिन । अब नगरा लगाउन सक्दिन होला बाबै !,’ लामो समयसम्म नगरा बजाउँदै आउनुभएका भक्तबहादुरले नरमाइलो मान्दै भन्नुभयो ।  

 ‘यो परियार समुदायको संस्कार हो । परम्परा हो । पुर्खाले दिएको सम्पत्ति हो । ‘तर अहिले यो परम्परा सखापै भयो नि !,’ निन्याउरो पारामा उहाँ बोल्नुभयो ।
सुतेकी देवी पनि ब्युँझने विश्वास !  

 घटस्थापनादेखि ब्राह्मण–क्षेत्री समुदायमा दशैँको नवमीसम्म बिहान दुर्गा भवानीको पूजा गर्ने चलन छ । 

दमाहा बजाएर नगरा लगाउँदा दमाहाको धुनले सुतेकी देवी पनि ब्युँझने, प्रसन्न हुने र नगरा लगाएको घरमा सुख–शान्ति, समृद्धि छाउने विश्वास रहिआएको शिक्षण पेशामा लामो अनुभव बटल्नुभएका भोटेओडारका हरिप्रसाद अधिकारीले बताउनुभयो ।   

पछिल्लो समय यो प्रचलन हराउँदै गएकोमा उहाँलाई पनि ‘नमज्जा’ लाग्छ ।  हिन्दु धर्म सँस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएकोमा सँस्कृतिप्रेमीहरुले चिन्ता व्यक्त गरेका छन् ।     

परियार समुदायको मौलिक सँस्कार भएकाले नहरा लगाउने प्रथा जोगाउन सबै परियार समुदाय जुट्नुपर्ने सरोकारवालहरु बताउँछन् ।      
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया