ओली सरकार पपुलर हुने डरले भारतले हवाई रुट नदिएको हुन सक्छ - त्रिरत्न मानन्धर

 कात्तिक ६, २०७५ मंगलबार १०:१०:१६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – नेपाललाई थप चारवटा हवाई रुट दिन सहमति जनाएको भारत सहमतिबाट पछि हटेपछि नेपालको हवाइ उड्ययन क्षेत्र थप अन्यौलमा परेको छ ।

गएको असार २ गते भारतीय विमान प्राधिकरण र नेपाल नागरिक उड्यन प्राधिकरणबीच महेन्द्रनगर, नेपालगञ्ज, विराटनगर र जनकपुरबाट समेत विमानहरु नेपाली आकाशमा प्रवेश गर्न पाउने सहमति भएको थियो ।

सेप्टेम्बर महिनाभित्र प्राविधिक विषय पनि टुंग्याउने सहमति भएकोमा अहिले भारतीय पक्षले प्रवेश रुट दिन नसकिने जनाएपछि नेपाल आउने धेरैजसो विमान सिमरामाथिको आकाशबाट मात्रै नेपाल छिर्नुपर्ने बाध्यता यथावत रहने भएको हो । 

अहिले मेची रुट अन्तर्गत तुम्लिङटारमाथिको आकाशबाट भुटान आउजाउ गर्ने  र चीनको ल्हासा आउजाउ गर्ने विमानले मात्रै दुइतर्फी रुट प्रयोग गर्न पाएका छन् । जति लामो रुट भए पनि अरु सबै गन्तब्यबाट आउने विमानले सिमरामाथिकै आकाशमा आएर बल्ल नेपाल छिर्नुपर्ने बाध्यता छ ।

यसै विषयमा उज्यालो अनलाइनका लागि अर्जुन पोख्रेलले नेपाल नागरिक उड्यन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरसँग गरेको संक्षिप्त कुराकानीः

सहमतिबाट पछि हटेर भारतले थप रुट नदिने भएको छ, यस्तो हुँदा नेपाललाई के कस्तो समस्या पर्न सक्ला ?

अहिले नेपालमा मात्रै होइन विश्वभर नै नागरिक उड्डयनको दु्रत विकास भैरहेको छ । भारतले नेपाललाई दिने भनेका थप ४ वटा प्रवेश बिन्दुबाट प्रवेश रुट नदिएमा नेपाल त्यो विकासबाट पछि  हट्नुपर्ने बाध्यता रहिरहन्छ ।

हवाइ उड्डयनको विकासमा संसारका अरु देशसँग सहभागी भएर नेपालले जुन विकास गर्न सक्थ्यो, त्यो विकास छायाँमा पर्ने देखिन्छ । 

भारतले थप हवाइ रुट नदिँदा हवाई उड्डयनको विकासमा अबरोध भएको बताउनुभयो, कसरी ?

नेपालबाट बाहिरिने जहाजको लागि कुनै समस्या छैन । बाहिरिने रुट धेरै छन्, तर नेपाल पस्ने रुटमा भारतले जुन खालको व्यवहार देखाएको छ, त्यसले त समस्यै समस्या निम्त्याउने देखिन्छ । अहिले सिमरामाथिको आकाशबाट मात्रै धेरै जहाज छिर्न पाउने हुँदा लामो बाटो उड्नुपर्नेदेखि एअर ट्राफिकसम्मका समस्या भोगिरहेका छौं । 

तर महेन्द्रगरबाट, नेपालगञ्जबाट, विराटनगरबाट अनि जनकपुरबाट पनि जहाजहरु नेपाल छिर्न पाउने हो भने धेरै सुविधा हुने थियो । यदि थप ४ वटा रुटबाट जहाज नेपाल छिर्न पाए भने ट्रान्सबोर्डर फ्लाइटहरु पनि बढ्ने र सुविधा हुने देखिन्छ । अहिले सिमराको मात्रै रुट हुँदा त्यस्तो भएको छैन । 

नयाँ रुट पाएमा भारतको सीमामा रहेका शहरहरुमा उडान गरेर नेपालमा पर्यटनको विकासको लागि ठूलो उपलब्धी हुन सक्छ । तर रुट नदिँदा भारतीय शहरमा उडान गरेर मनग्य पर्यटक भित्र्याउने सम्भावना तत्कालको लागि टरेको देखिन्छ । 

नेपाललाई थप प्रवेश बिन्दु उपलब्ध गराउँदा भारतलाई के  समस्या हुन्छ र उ किन आफ्नै निर्णयबाट पछि हटेको होला त ?

समस्या त हरेक काम गर्दा हुन्छ नि । नेपाललाई थप हवाइ रुट दिँदा भारतलाई पनि केही समस्या त होला तर यो समाधान गर्नै नसकिने खालको समस्या हो जस्तो मलाई लाग्दैन । 

भारतले पनि आफ्ना कुरा राखेर केही इस्युमा बार्गेनिङ गर्न खोजेको होला तर नेपालले चाहिँ आफ्ना अडान प्रष्ट राख्न नसकेको हो कि जस्तो पनि देखिन्छ । 
४ वटा रुट दिन भारत सहमत हुँदा हामी सबैजना उत्साहित भएका थियौं, तर एकाएक भारतले आफ्नै सहमति विपरित रुट दिन्नौं भन्दा त हामी सबै अचम्ममा परेका छौं । 

यसमा प्राविधिक कारण बढी हुन सक्छ कि राजनीति पनि जोडिएको हो त ?

यसमा प्राविधिक समस्या पनि अलिअलि छ । तर प्राविधिक समस्या हल गर्नै नसकिने खालको चाहिँ होइन ।

मेरो बुझाईमा चाहिँ भारतले थप हवाइ नाका दिनु भनेको नेपालको प्रगति र उन्नतिको लागि ठूलो उपलब्धी हो । यो सरकारलाई एकैपटक पपुलर हुन नदिन पनि भारतले थप हवाइ रुट नदिएको हो कि जस्तो पनि लाग्छ मलाई त । 

हामीजस्ता भूपरिवेष्ठित देशले पनि छेउछाउका देशबाट यस्तै समस्या भोगेका होलान् त  ?

हामीजस्ता भूपेरिवेष्ठित देशले यस्तो समस्या भोगेका छैनन् । मंगोलियाको कुरा गर्दा उ विशाल देशहरु रुस र चीनबाट घेरिएको छ, तर उसले कहिले पनि हवाइ रुट नपाएर समस्या भोग्नु परेन ।

सिंगापुर, अष्ट्रिया लगायतका साना देशले कहिल्यै पनि यस्तो समस्या भोग्नुपरेको छैन । त्यस्तै फिजि, न्युजिल्याण्ड लगायतका देशलाई पनि कहिलेकाहीँ अष्ट्रेलियाबाट समस्या हुने गरेको छ, तर हाम्रोमा जस्तो एउटा मात्रै प्रवेश बिन्दुमा खुम्चिनुपरेको छैन । 

सहमति गरेर पनि भारतले हामीलाई थप प्रवेश बिन्दु दिएन, हामीले अब गुहार्न सक्ने ठाउँ कहाँ र के हुन सक्ला त ?

अन्तर्राष्ट्रिय हवाइ उड्डयनलाई गाइड गर्ने भनेको सिकागो महासन्धी हो । सिकागो महासन्धी अनुसार आफ्नो देशको भूभागमाथिको आकाशमा सम्बन्धित देशकै पूर्ण अधिकार हुन्छ । त्यसैले हामीले यो विषयमा कहिँ कतै मुद्दा हाल्ने, उजुरी गर्ने लगायतका उपाय त छैनन् ।

तर यस्ता विषयलाई दुई देश मिलेर सल्ट्याउनुपर्छ । तत्कालै रुट नदिए पनि बिस्तारै भारतले महसुस गर्ला भन्ने आशा गर्न सकिन्छ । 

यो विषयमा हामीले भारतसँग निँहु खोज्नु भन्दा पनि फकाउनु पो बेस हुने रहेछ हैन त ?

हो, यो विषयमा हामीले भारतलाई फकाइ फुल्याई गर्नुको विकल्प छैन । भारतका पनि केही समस्या त होलान्, उसका बार्गेनिङका विषयबस्तु होलान, तर त मलाई लाग्छ एकदिन भारतले नेपाललाई सबै रुट दिनेछ । 

अब फेरि पनि प्रधानमन्त्री अथवा उच्चस्तरीय तहबाटै हवाई रुटको लागि भारतलाई गुहार्नुपर्ने देखियो है ?

यसअघि पनि प्रधानमन्त्री स्तरमै भएको सहमति भारतले एकाएक तोड्यो । फेरि पनि सहमति गर्ने तर तोड्ने हो भने त सहमतिको के अर्थ भयो र । तर हामीले भारतसँग फेरि गम्भीर कुरा गर्नुपर्छ र उसको मनशाय बुझ्नुपर्छ ।

यदि नकारात्मक मनसाय नै छ भने त उच्च तहमा छलफल गरेर पनि पार लाग्दैन । तर यदि सकारात्मक मनसाय छ र केही बार्गेनिङ हो भने हामीले पनि सोच्नुपर्छ । 
 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया