नगरपालिकाको पर्यटन शुल्कको बोलपत्र व्यवसायीले बहिष्कार गरे

 जेठ २५, २०७५ शुक्रबार १७:३३:६ | उज्यालो सहकर्मी

भक्तपुर – चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क संकलनको लागि ३ करोड ३९ लाख रुपैयाँ निर्धारण गर्दै बोलपत्र आब्हान गरेपछि व्यावसायीले ठेक्का प्रक्रिया बहिष्कार गरेका छन् ।

पर्यटकीयस्थल नगरकोट र विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर जाने विदेशी पर्यटकसँग पर्यटन शुल्क संकलन गर्न नगरपालिकाले गएको वैशाख २१ गते ३५ दिने प्रस्ताव आब्हान गर्दै बोलपत्रको सूचना प्रकाशन गरेको थियो ।

बोलपत्रको आवेदन बुझाउने अन्तिम दिन बिहीबार दिउँसो ५ बजेसम्म कसैले पनि बोलपत्र नहालेको नगरपालिकाले जानकारी दिएको छ । शुक्रबार नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बोलपत्र आब्हान गरेपछि १७ व्यावसायीले फाराम लगे पनि अन्तिम दिन बिहीबारसम्म कसैले पनि फाराम नबुझाएको जानकारी दिनुभयो । 

प्रमुख मिश्रले भन्नुभयो, ‘पर्यटन शुल्क संकलनका लागि गरिएको बोलपत्रको बिहीबार अन्तिम दिनसम्म फारामम लगेका कसैले पनि फाराम बुझाएनन्, नियमानुसार १५ दिनपछि पुनः बोलपत्र आब्हान गर्नेछौ, पुनः बोलपत्र आब्हानमा पनि फाराम नआए, नगरपालिका आफैले पर्यटन शुल्क संकलन गर्छ ।’

पुनः बोलपत्र प्रक्रियामा जाँदा पनि व्यावसायीले फाराम नबुझाए नगरपालिका आफैले त्यसको व्यवस्थापन गर्दै शुल्क संकलन गर्ने उहाँको भनाई थियो । नगरपालिकाको संकलन गरेको पर्यटन शुल्कको रकमबाट चाँगुनारायण नगरपालिका क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधारको विकास र पर्यटन प्रर्वद्धनमा खर्च गरिने प्रमुख मिश्रले बताउनुभयो । 

यता व्यावसायीहरुले भने नगरपालिकाले गएको वर्षभन्दा सात गुणा बढी रकम राखेर बोलपत्र आब्हान गरेकाले बहिष्कार गरेको बताएका छन् । फाराम ल्याएका सगुन खड्काले नगरपालिकाले नियमभन्दा बढी रकम राखेर टेण्डर आब्हान गरेकाले सबैले बहिष्कार गरेको बताउनुभयो । 

नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद ऐनमा प्रत्येक वर्ष १० प्रतिशतका दरले बोलपत्रको रकम बढाएर आब्हान गर्नुपर्नेमा नगरपालिकाले सात गुणा बढी शुल्क राखेर बोलपत्र आब्हान गरेकोले फाराम ल्याउने सबै व्यावसायीले सल्लाह गरेर बहिष्कार गरेको उहाँले बताउनुभयो । नगरपालिकाले एउटा फारामको शुल्क ५ हजार रुपैयाँ बनाएको उहाँको गुनासो छ ।

अर्का व्यावसायी विष्णु तामाङ्गले नगरपालिकाले धेरै शुल्क राखेर बोलपत्र आब्हान गरेकोले फाराम नभरेको बताउनुभयो । उहाँले नगरपालिकाले रकम घटाए व्यावसायीले फाराम बुझाउने बताउनुभयो । 

नगरपालिकाले आर्थिक वर्ष ०७५–०७६ का लागि नगरकोट र चाँगुनारायण जाने पर्यटन शुल्क वापत एकमुष्ट ३ करोड ३९ लाख रुपैयाँ रकम निर्धारण गर्दै बोलपत्र आब्हान गरेको हो । गएको वर्ष नगरपालिकाले त्रिनेत्र कन्स्ट्रक्सनलाई नगरकोटका लागि असोजदेखि यही असारसम्मका पर्यटन शुल्क संकलन गर्न ५१ लाखमा बोलपत्र स्वीकृत गरेको थियो । चाँगुनारायण मन्दिरका जाने पर्यटकका लागि एक वर्षको ४० लाख रुपैयाँमा बोलपत्र स्वीकृत गरेको थियो । 

त्रिनेत्र कन्स्ट्रक्सन संचालकका अनुसार गएको वर्ष नगरकोटमा ५१ लाखमा टेण्डर पर्दा करिब सबै खर्च कटाएर नौ महिनामा ६० लाख रुपैयाँ बराबर फाइदा भएको छ । गएको वर्ष नगरपालिकाले पर्यटकसँगै भ्याट लिन पाउने व्यवस्था गरेको भए पनि यसवर्ष भने पर्यटकसँग भ्याट लिन नपाइने तर नगरपालिकालाई भ्याट बुझाउनु पर्ने व्यवस्था गरेकाले बोलपत्रको फाराम नबुझाई बहिष्कार गरेको व्यावसायीको भनाई छ ।

आर्थिक वर्ष २०७४–०७५ को लागि नगरकोट र चाँगुनारायण मन्दिर जाने पर्यटक मध्ये भारतीयसँग प्रति पर्यटक २०० रुपैयाँ र भारत बाहेकका पर्यटकसँग प्रति पर्यटक ३०० रुपैयाँ पर्यटन शुल्क संकलन गरिएको थियो । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया