बदमास ठेकेदारलाई कारबाही गर्नुपर्छ– पूर्वप्रधानमन्त्री भट्टराई

 जेठ २५, २०७५ शुक्रबार १९:४२:३५ | किरण लोहनी

गोरखा – नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बदमासी गर्ने ठकेदारलाई राजनीतिक र प्रशासनिक संरक्षण रहँदा विकासका काम हुन नसकेको दाबी गर्नुभएको छ ।

गोरखामा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले ठेक्कापट्टाको काममा राजनीति, प्रशासन र ठेकेदारबीच मिलेमतो हुने गरेको आरोप लगाउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले नेता, कर्मचारी र ठेकेदारको मिलेमतोमा बदमासीका काम अहिले पनि भैरहेको दाबी गर्नुभयो । ‘एउटैले दशौं ठेक्का लिने, मोबिलाइजेशनको पैसा लिएर बेपत्ता हुने अनि अन्तै लगानी गर्ने परिपाटी छ’, उहाँले भन्नुभयो, ‘त्यसको मार गोरखाको पुल, सडक र अरु निर्माणका योजनामा परेको छ, त्यस्तालाई कारबाही गर्नुपर्छ ।’

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई पनि त्यस्ता ठेकेदारलाई कारबाही गर्न आफूले भनेको बताउनुभयो । उहाँले बदनाम भएका ठेकेदारहरुलाई नेताहरुले संरक्षण गर्ने गर्दा समस्या भएको बताउनुभयो । ‘केन्द्रबाट गृहमन्त्रीले अहिले कारबाहीको पहल गर्नुभएको छ,, त्यो अघि बढोस्’, उहाँले भन्नुभयो ।  

भट्टराईले आफ्नो पार्टी कहिल्यै पनि नेपाल कम्युनिष्ट पार्टी नेकपासँग मिल्नै नसक्ने बताउनुभयो । ‘हामी सगरमाथा चढ्न हिँडेका छौं, कता चुरेतिर अलमलिनु’ भट्टराईले भन्नुभयो । नेपालमा कांग्रेस र कम्युनिष्ट पार्टी लामो समयदेखि दुई धारमा रहेको भन्दै उहाँले नयाँ शक्ति पार्टी भने तेस्रो धारको रुपमा अघि बढ्ने बताउनुभयो । कांग्रेस र कम्युनिष्टबीच बैचारिक हिसाबमा खासै भिन्नता नरहेको भन्दै उहाँले उनीहरुसँग पार्टी एकता हुनै नसक्ने स्पष्ट पार्नुभयो । 

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषयमा सत्तारुढ दल नेकपासँग कुरा भैरहेको उल्लेख गर्दै उहाँले आफूसँगको कुराकानीमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकारात्म देखिनुभएको बताउनुभयो ।   


 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया