एएफसी यू-१९ महिला छनोट:निशाकाे ह्याट्रिकसँगै पाकिस्तानकाे पाेष्टमा नेपालकाे गाेल वर्षा

 कात्तिक ११, २०७५ आइतबार १७:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको छ ।

पाकिस्तानलाई ९–० को भारी अन्तरले हराउँदै नेपालले एएफसी यू–१९ च्याम्पियनसिप खेल्ने सम्भावना जिवितै बनाएको छ । 

थाइल्याण्डको चोनबुरी रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउनका लागि निशा थोकरले ह्याट्रिक गरिन् । पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको नेपालले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । दोस्रो मिनेटमा मन्जली कुमारीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।

३२औं मिनेटमा सम्झना लावती र ३७ औं मिनेटमा अलिशा जिम्बाले गोल गरेपछि नेपालले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो । 

पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा ६ गोल थप्यो ।

५४औं मिनेटमा पुजा रानाले गोल गरेपछि नेपालले ४–० को अग्रता लिएको थियो । त्यसपछि निशा थोकरले ह्याट्रिक गरिन् । ५७औं मिनेटमा पाएको फ्रिकिकलाई निशाले सोझै गोलमा परिणत गरिन् । 

७४औं मिनेटमा पाएको पेनाल्टीलाई निशाले गोलमा परिणत गरेपछि नेपालले ६–० को अग्रता लियो । ८५औं मिनेटमा नेपालले अर्को पेनाल्टी पायो । त्यसलाई पनि निशाले गोलमा परिणत गर्दै ब्यक्तिगत ह्याट्रिक पूरा गरिन् भने नेपालले ८–० को अग्रता लियो ।

८९औं मिनेटमा सरु लिम्बुले गोल गर्दा नेपालले ९–० को जित निकाल्यो । 

६ वटा समूहबाट उत्कृष्ट दुई उपविजेता एएफसी यू–१९ महिला च्याम्पियनसिपमा प्रवेश गर्नेछन् । नेपालको दोस्रो चरणको यात्रा सबै समूहको छनोट प्रतियोगिता सकिएपछिमात्र टुंगो लाग्नेछ ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया