जोगबनी-किमाथाङ्का सडक जोडिन २३ किलोमिटर मात्रै बाँकी

 कात्तिक १३, २०७५ मंगलबार १७:३५:४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — पूर्वी पहाडी जिल्ला संखुवासभामा निर्माणाधीन राष्ट्रिय गौरवको कोशी राजमार्ग जोगवनी—किमाथाङ्का सडक जोडिन अब २३ किलोमिटर मात्रै बाँकी रहेको छ ।

मोरङ्गको रानी हुँदै जोगबनीदेखि संखुवासभाको किमाथाङ्का नाका जोड्न कूल ३ सय ९० किलोमिटर मध्ये ३ सय ६७ किलोमिटर ट्रयाक खोलिसकिएको र अब २३ कि.मी. मात्रै सडकको ट्रयाक खोल्न बाँकी रहेको उत्तरदक्षिण (कोशी) सडक योजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले बताउनुभयो ।

२०६५ सालमा खाँदबारीमा स्थापना भएको उत्तरदक्षिण (कोशी) सडक योजनाले खाँदबारीदेिख किमाथाङ्का नाकासम्मको सडकको मात्रै काम गर्ने गर्दछ । खाँदबारी–किमाथाङकाको दुरी १ सय ६२ कि.मी. रहेको छ । 

त्यसमध्ये १ सय ४४ कि.मी.सडकको ट्रयाक खोलिसकिएकाे योजनाका प्रमुख इन्जिनियर ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार, बर्खाको समय भएकाले खाँदबारी–किमाथाङ्का सडकको काम अहिले तीव्र गतिमा काम हुन सकेको छैन । वर्षा रोकिएकाले अब कामले तीव्रता पाउने उहाँले बताउनुभयो ।

खाँदबारीदेखि बरुण नदीसम्मको ८० किलोमिटर सडक खोलिएकाले  यातायातका साधनहरु चल्न थालेका छन् । त्यस मध्येमा पनि ३४ किलोमिटर सडकको ग्राभेल समेत गरिसकेको छ । 

बरुण नदीदेखि किमाथाङ्कासम्मको सडकलाई चारवटा सेक्सनमा बाँडेर काम अगाडि बढाइएको योजना प्रमुख ज्ञवालीले बताउनुभयो । ‘बरुण–सिम्बुङ, सिम्बुङ्ग—हटिया, लिङ्गगाम– चेपुवा, चेपुवा–हुङहुङमा गजुरमुखी–मोतिदान–गीताञ्जली कन्स्ट्रक्सन (जेभी) ले काम गरिरहेको छ । 

किमाथांङ्कादेखि चेपुवातिर आउने सडकखण्डको ट्रयाक ओपन शर्मा एपेक्स कान्छाराम कन्ट्रक्सनले गरिरहेको छ’, ज्ञवालीले भन्नुभयो ।

विकटताले काममा ढिलाइ

संखुवासभाको भोटखोला क्षेत्रलाई कर्णालीको उपनामले समेत चिनिन्छ । त्यसै भोटखोला क्षेत्रमा पर्ने सडक खण्ड विकट भएकाले पनि सोचे अनुसार काममा प्रगति हुन नसकेको आयोजनाको भनाई छ ।

विकट हिमाली क्षेत्र भएकाले बर्खाको समयमा अत्यधिक पानी पर्ने, उपकरण लैजान समस्या लगायतका विविध कारणले सोचेजति प्रगति हुन नसकेको प्रमुख ज्ञवालीको भनाई छ । त्यस क्षेत्रमा गएको वर्ष हेलिकप्टरमार्फत ट्रयाक्टर र एक्स्काभेटर पुर्‍याइएपछि कामले केही तीव्रता पाएको उहाँको भनाई छ । 

‘किमाथाङ्कासम्म नाका खोल्नका लागि चेपुवादेखि किमाथाङ्काबीचमा पर्ने शंखेभीरमा ६ कि.मी. र महभीरमा ५ कि.मी. सडक र आसपासका साना–साना अन्य भीरहरुको कारणले ट्रयाक ओपन गर्न असाध्यै गाह्रो छ । 

ठूला–ठूला भीर भएकाले त्यहाँ समस्या छ । त्यो बाहेक अन्य ठाउँमा ट्रयाक खोल्न सहज नै रहेको छ’ , प्रमुख ज्ञवालीले भन्नुभयो । 

यो त्रिदेशीय लिंकको रुपमा रहेको सडक हो । त्यसैले यस सडकलाई सरकारलेसमेत विशेष महत्वका साथ हेरिरहेको छ । 

यो भारत, नेपाल हुँदै चीन जोड्ने सबैभन्दा छोटो सडक हो । विशेषगरी यो सडकले एक नम्बर प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरवासीहरु प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । 

यो सडकको अर्को महत्व भनेको चीनसँग जोडिने सबैभन्दा होचो र मानवबस्ती रहेको नाका हो । यो सडक निर्माण भएपछि पनि बाह्रै महिना सहज रुपमा यातायातका साधानहरु संचालन हुन सक्नेछ ।

मित्रराष्ट्र चीनसँगको व्यापार बढाउने, सुदूर उत्तरी भोटखोला क्षेत्रका सर्वसाधारण जनताहरुलाई यातायातको सुविधा प्रदान गर्ने मुख्य लक्ष्य रहेको आयोजनाको भनाई छ । 

कति भयो हाल सम्म खर्च ?

राष्ट्रिय गौरवको त्यस आयोजनामा अहिलेसम्म २ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ । 

आउँदो २०७५-०७६ को लागि ४७ करोड रुपैयाँ बजेट विनियोजित भएको आयोजना प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । 

त्रिदेशीय महत्वका हिसाबले हेरिएको जोगबनी—किमाथाङ्का सडक नै एक नम्बर प्रदेशको भाग्य र भविष्य भएकाले सरोकारवाला र सकार लगायतका सबै पक्षले निर्माणमा जोड दिईरहेका छन् । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया