महिलाको शंकास्पद मृत्यु, श्रीमान र ससुरा नियन्त्रणमा

 कात्तिक १४, २०७५ बुधबार २०:१०:२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको बोदे बर्साइन नगरपालिकामा बुधबार एक महिलाको रहस्यमय मृत्यु भएको छ । 

विषादी सेवनबाट वडा न. ७ की २५ वर्षीया आरती कुमारी यादवको शंकास्पद मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

घटनालगत्तै इलाका प्रहरी कार्यालय बोदे बसाईनले मृतकका श्रीमान ३० वर्षीय अशोक यादव र ससुरा ५५ वर्षीय रामदेव यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।  

इलाका प्रहरी कार्यालय बोदे बर्साइनका अनुसार धान, तरकारीमा छर्कने ब्लुम नामक विषादीको बट्टा मृतकको घरबाट बरामद गरिएको छ । पाँच वर्षदेखि वैदेशिक रोजगारका लागि मलेसियामा रहेका अशोकले विदेशमै बिहे गरेको कुरामा घरमा विवाद भइरहेको थियो ।

चारदिन अघि मात्र विदेशबाट घर आएका अशोक र आरतीबीच बहुविवाह गरेको कुरामा दैनिक विवाद हुने गरेको छिमेकीले बताएका छन् । 
दुई वर्षअघि सामाजिक परम्पराअनुसार विवाह भएको थियो भने मृतकको कुनै सन्तान छैन् ।

इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार विष सेवनबाट गम्भीर बनेकी उनको उपचारका क्रममा सिरहाको लहानस्थित राउ स्मारक अस्पतालमा मृत्यु भएको हो । 

महिलाको शंकास्पद मृत्यु भएपछि बोदे बर्साइन नगपालिका ५ मा रहेको मृतकको माइत पक्षलाई खबर गरिएको छ ।

शंकास्पद मृत्यु भएपछि प्रहरीले मृतकका श्रीमान र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

बहुविवाहको विवाद र झगडापछि आवेशमा विषसेवन गरेर आत्महत्या गरेको वा अन्य कसैले विषसेवन गराई हत्या गरेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया