मिस वर्ल्ड बन्दै रच्लिन् त श्रृंखलाले इतिहास ?

 कात्तिक १९, २०७५ सोमबार १७:३:२१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – चीनको सान्यामा डिसेम्बर ८ अर्थात् मंसिर २२ गते शनिबार हुने ‘मिस वर्ल्ड’ प्रतियोगिताका लागि मिस नेपाल वर्ल्ड मकवानपुरे चेली श्रृंखला खतिवडा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकी छिन् ।

खतिवडा कार्तिक २३ गते शुक्रबार भाइटीकाका दिन सान्यातर्फ जाने भएकी हुन् । खतिवडाले संसारभरका विभिन्न देशबाट आएका एक सय २० सुन्दरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । ‘ब्यूटी पेजेन्ट’ अन्तर्गत् विभिन्न इभेन्टमा उनीहरुको ट्यालेन्टका आधारमा मिस वर्ल्ड छनौट हुनेछ ।

सांसद बाबु विराेध खतिवडा र अामासँग श्रृंखलामिस नेपाल खतिवडाका अनुसार प्रतियोगिताका लागि फरक इभेन्टमा प्रतिस्पर्धा हुने गर्छ । त्यसमध्ये एक हो : ब्यूटी विथ अ पर्पस् अर्थात् उद्धेश्यसहित सौन्दर्य । यसका लागि विभिन्न देशका सुन्दरीले आआफ्नो उद्धेश्यसहित वृत्तचित्र प्रस्तुत गर्नुपर्ने हुन्छ । सन् २०१३ मा नेपालका लागि पहिलो पटक इशानी श्रेष्ठले उक्त उपाधि जितेकी थिइन् ।

मिस नेपाल वर्ल्ड हुनुअघि नै उनले महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएकी र त्यसपश्चात् पनि यस्ता कार्यमा निरन्तर लागिरहेकी छिन् । खतिवडा भन्छिन्, ‘प्रतिस्पर्धामा कामको डकुमेन्ट्रीसमेत प्रस्तुत गर्नुपर्ने हुन्छ । मैले त्यसका लागि केही अघिमात्र गृह जिल्ला मकवानपुरको कैलाश गाउँपालिका–७, भार्तामा रहेको चेपाङ बस्तीमा गएको रिपोर्ट प्रस्तुत गर्नेछु । त्यहाँका वृद्धवृद्धा, बालबालिकासँग भएका कुराकानी तथा समस्याको रिपोर्ट र समस्याका हल गर्ने विषयमा गरिएका मेरा प्रयासलाई देखाउनेछु’, उनले भनिन् ।

उनको सहयोगमा त्यहाँ स्वास्थ्यचौकी भवन बनेको छ । डिजाइनअनुसार स्वास्थ्य चौकी अपांग, अशक्त तथा बालबालिकामैत्री, वातावरणमैत्री, तापरहित एवम् हलुका छ । उनको अपेक्षा छ कि चौकी निर्माणसँगै गाउँमा सुरक्षित डेलिभरी, स्वास्थ्य जनचेतना कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजनका कार्यक्रमले तीव्रता पाउने छन् । स्वास्थ्यलाई सुविधा हैन, आवश्यकताका रुपमा हेरिएको उनले बताइन् ।    मिस वर्ल्डमा श्रृंखलाले नेपाली संस्कृति झल्किने प्रस्तुति पनि दिने बताइन् । उनको इन्ट्री भिडियो सुटका लागि नेपाली दक्ष भिडियोग्राफी टोलीसँगै आफू केही दिनअघि रसुवाको गोसाइकुण्ड गएको उनले जानकारी दिइन् । 

ट्यालेन्ट शोका लागि उनले जोन लेननको गीत ‘इम्याजिन’ गाउने तयारी गरिरहेकी जानकारी दिइन् । नेपाली कला, संस्कृति एवम् चिनारी झल्किने गरी थप केकस्ता प्रोजेक्ट गर्न सकिन्छ भन्नेबारे आफू अझ तयारीमा रहेको उनले बताइन् । ‘प्रधानमन्त्री केपी शर्माओलीले जितको आशीर्वाद दिनुभएको छ’, उनले थपिन्, ‘मलाई मिस वर्ल्ड बन्न भोटको आवश्यकता पर्दछ, नेपालीबाट आफूले भोटको आशा राखेको छु ।’ खतिवडा पूर्ण तयारी र पूर्ण विश्वस्त छिन् ।

उनी लेखनमा पनि उत्तिकै रुची राख्छिन् । विशेष गरी अंग्रेजी भाषामा उनको लेखन दक्षता सुन्दर छ । उनलाई मिस नेपालको इतिहासमा एक बलियो प्रतिस्पर्धीका रुपमा हेर्ने गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया