रोल्पाको त्रिवेणी गाउँपालिकाले सञ्चालनमा ल्यायो माबाइल एप

 कात्तिक २१, २०७५ बुधबार १४:४६:३० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको दुर्गम भेगमा रहेको त्रिवेणी गाउँपालिका प्रविधिमैत्री बन्दै गएको छ ।

स्थानीय तहको चुनावपश्चात मात्र बल्ल विद्युत विस्तार भएको त्रिवेणीमा दुई महिनाअघि मात्र इन्टरनेटको सुविधा पुगेको थियो । गएको हप्ता मात्र सूचना प्रविधि (आईटी) अधिकृत नियुक्त गरेको गाउँपालिकाले मंगलबार मोबाइल एपको शुभारम्भ गरेको छ । एपको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले अब गाउँपालिको सम्पूर्ण सूचना तथा कार्यक्रम तत्कालै सबैको हात हातमा पुग्ने बताउनुभयो । स्वदेशमा बस्नेहरुले मात्र नभएर विदेशमा रहनुभएकाहरुले पनि अब गाउँपालिकाको बारेमा सहजै जानकारी लिन सक्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाको प्रोफाइलसहित गतिविधि, सूचना, कार्यक्रम र जनप्रतिनिधिहरुको विवरण एपमा समावेश गरिएको छ । अबदेखि त्रिवेणी गाउँपालिकाका जो–कसैले पनि गाउँपालिकाको सूचना र कार्यक्रमका लागि गाउँपालिका वा वडा कार्यालय धाउन नपर्ने सूचना प्रविधि अधिकृत भरत डिसीले बताउनुभयो । ‘अब घरमै बसीबसी गाउँपालिकाको सम्पूर्ण जानकारी लिन सकिन्छ’, डिसीले भन्नुभयो । दुर्गममा भएर पनि गाउँपालिकाले प्रविधिको उच्चतम प्रयोग गर्नु चुनौती रहेको भए तापनि गरे सम्भव छ भन्ने उदाहरण त्रिवेणी गाउँपालिकाले प्रस्तुत गरेको अध्यक्ष वलीको भनाई छ ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत डिसीले यसअघि पनि जिल्लामा ‘ब्लड फर रोल्पा’ नामक मोबाइल एप सञ्चालन गरी ब्लड बैंकको समस्या टार्न अभियानको थालनी गर्नुभएको थियो । त्यो एपले अहिले जिल्लामा रगत अभाव हुने बिरामीहरु लाभान्वित हुदैं आएका छन् ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया